+
+

बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १८:०४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२९ भदौ, काठमाडौं । चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने सांगठनिक संरचना तयार गरेको बताइन् । ‘अहिले क्याबिनेबाट पास भइसकेको छ, अब लागु हुन्छ,’ उनले भनिन् ।

यसअघि बागमती प्रदेशको मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख थियो । पौडेलका अनुसार मन्त्रालयको अन्य कुनै पनि संचरनामा परिवर्तन गरिएको छैन । स्वास्थ्य सचिवमा ११ औं तहको स्वास्थ्य सेवाको अधिकारी रहने व्यवस्था गरिएको छ ।

यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको वरिष्ठ जनस्वास्थ्य निरीक्षक (हेई) ९/१० औं तह १ जना, वरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्याय सेवाको कानून अधिकृत १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना प्रस्ताव गरिएको छ ।

यस्तै कम्युनिटी नर्सिङ अधिकृत ७/८ तहको १ जना, फार्मेसी अधिकृत ७/८ तहको १ जना, सहायक/अधिकृत प्रशासनतर्फको ५/६ औं तहको २ जना, सहायक कम्प्युटर ४/५ औं तहका २ जना, सहलेखापाल प्रशासन लेखाको ४/५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यालय सहयोगी तहविहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तयार पारिएको छ।

प्रदेशमा कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दै प्रदेशको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

सरकारी चिकित्सक संघ गोदानले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य क्षेत्रको ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवार भन्दै विरोध गरेको थियो । त्यसैगरी नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनुपर्ने र सोही बमोजिमको मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गर्न महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी तुरुन्त सच्याउन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?