+
+

नेपालमा भारतीय लगानी बढाउनुपर्नेमा विज्ञहरुको जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १८:२३

२९ भदौ, काठमाडौं । पछिल्लो दुई दशकमा नेपालमा भारतीय निजी कम्पनीहरुको लगानी बढ्नुको साटो घट्दै गएकोमा कूटनीतिज्ञ र विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कूटनीतिक क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेको थिंङक ट्याङ्क एआईडीआईए र भारतको बिवेकानन्द इन्टरनेसनल फाउन्डेसनले संयुक्त रुपमा गरेको कार्यक्रममा बोल्दै कूटनीतिक र विज्ञहरुले भारतिय लगानी आकर्षण गर्नका लागि दुवै मुलुकले पहल गर्नुपर्ने समेत जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले २०४६ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि धेरै बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी गरेको तर त्यसपछि उत्साहजनक रुपमा अगाडि बढ्न नसकेको बताए ।

‘त्यतिबेला भारतिय कम्पनीहरुले नेपालमा एकदमै राम्रो प्रगति पनि गरे । उनीहरुले राम्रो नाफा पनि कमाए । तर, भारतबाट नयाँ लगानी नेपालमा किन गईरहेको छैन् ? यतिवेला भारतिय कम्पनीहरुले अमेरिका, चीन लगायतका विश्वका धेरै ठाउँमा लगानी गरेका छन्,’उनले भने, ‘तर भारतीय कम्पनीले नेपालमा किन लगानी गरिरहेका छैनन् ? नेपालमा भारतिय लगानी निरन्तर घटिरहेको छ र वास्तवमा चीन पहिलो नम्बरमा रहेको छ ।’

यस सम्बन्धमा गम्भीर समीक्षाको आवश्यकता भएको रेले बताए । उनले भारतिय लगानीकर्ताहरुले नेपालमा वौद्धिक सम्पत्तिको संरक्षण नभएको, नेपालको श्रमकानुनमा समस्या गुनासो गर्ने गरेको बताए । उनले भने, ‘हालै मणिपाल अस्पताल बेचेर भारतिय लगानीकर्ताहरु बाहिरिएका छन् वास्तवमा यो राम्रो संकेत होइन् । यसले लगानीको वातावरणमा निकै असर गर्छ ।’

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेती नेपालको विकासमा भारतमा निरन्तर सहयोग गरेको उल्लेख गर्दै पछिल्लो समय भूकम्पपछिको पुर्ननिर्माणमा भारतको सहयोग महत्वपूर्ण बताए ।

उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भएको उल्लेख गदै नेपालले भारतबाट निकै निर्यात गरिरहेको बताए । नेपाले नेपालको आर्यात बढाउन गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले नेपालमा नवीकरणीय उर्जा र हाइड्रोपावरको ठूलो सम्भावना रहेको र ती क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गरिएको बताए । उनले भने,’भारतिय लगानीकर्ताहरुका लागि हाइड्रोपावर एक महत्वपूर्ण क्षेत्र हो । लगानीको अर्काे महत्वपूर्ण क्षेत्र चाहि पर्यटन हो ।’

कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत इश्वरराज पौडेलले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको जानकारी दिए । पौडेलले नेपाल र भारतको बिचमा कनेक्टीभिटीमा विभिन्न परियोजनाहरु सञ्चालनमा रहेको बताउँदै यसले सप्लाई चेनलाई अझ सुदृढ बनाउने उल्लेख गरे ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दुई देशको बीचमा पारवहन र व्यापार सहजीकरणका लागि रेलवे कनेक्टीभिटी बढाउनुपर्नेमा जोड दिदै त्यसका लागि काम भइरहेको जानकारी दिए । गजुरेलले विभिन्न ठाउँमा एकीकृत जाँच केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको र यसले दुई पक्षिय व्यापारलाई सहजीकरण गर्ने बताए ।

एआईडीआईका प्रमुख कार्यकारी सुनिल केसीले पछिल्लो समयमा नेपाल र भारतको विचमा बिभिन्न क्षेत्रमा साझेदारी बढीरहेको उल्लेख गदै नेपालमा भारतिय लगानी बढाउन विशेष पहल गर्नुपर्ने बताए । केसीले मल आपूर्तिका सम्बन्धमा पछिल्लो समय महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै त्यसले नेपालको मल अभावको समस्या चिर्न सफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?