+
+

निपा भाइरसबाट बच्न सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १९:४९

२९ भदौ, काठमाडौं । सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्नका लागि सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएकाले कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । निपा भाइरसको कुनै खोप बनिनसकेकाले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट)बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्‍याउने र बेहोस बनाउने गरेको बताउँदै उनले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवस पनि नखान आग्रह गरे ।

‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ, तर यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपंक्षीबाट मानवमा आउने हुनाले पशुपंक्षीले जुठो पारेका खोपेर छोडेका फलफूलहरु असावधानीवस पनि हामी नखाऔं,’ उनले भने, ‘जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरु बिरामी हुनसक्छन्, गाईवस्तुहरु, मासुको काम गर्ने साथीहरुले पञ्जा लगाऔं, मास्क लगाऔं, आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरु लगाएर मात्र ह्याण्डिल गरौं, मासु राम्ररी पकाएर मात्र खाऔं, भीडभाडमा नजाऔं ।’

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकाले पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सजग हुन र यससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर चिकित्सकलाई देखाउन आग्रह गरेको छ ।

प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।

निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?