+
+

पोखरामा रात्रिकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १९:३५
पोखराको लेकसाइडको एक तस्वीर ।

३० भदौ, पोखरा । कोभिड-१९ को महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका छन् ।

निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बुधबार जारी गरेको आदेशमा भनिएको छ, ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराई राति १ः३० बजेसम्म सञ्चालन गर्न सकिने ।’

प्रशासनको यो आदेशसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रात्रीकालीन व्यवसाय खुला हुने भएको छ । बुधबार जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको थियो, सोही अनुसार प्रमुख जिल्ला अधिकारीले रात्रीकालीन व्यवसाय खुला हुने गरी आदेश जारी गरेका हुन् ।

कास्कीमा होटल तथा रेस्टुरेन्टसमेत राति साढे ११ बजेसम्म खुल्न पाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले जिल्लाभरका सम्पूर्ण निजी तथा सार्वजनिक शिक्षण संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा सञ्चालन गराउन सक्ने जनाएको छ ।

कास्कीमा वैशाख तेस्रो सातादेखि दोस्रो चरणको निषेधाज्ञामा कडाइ गरिएको थियो । प्रशासनले असार ७ गतेदेखि कास्कीमा सार्वजनिक बसमा जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म कास्कीमा ५ सय १७ जना कोरोनाका सक्रिय संक्रमित छन् । कोरोनाबाट कास्कीका ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?