+
+

कटानको जोखिममा तनहुँको भिमाद बजार

केही दिन अगाडि परेको वर्षाका कारण कुमारचोकको करिब एक दर्जन घर पछाडि पहिरा खसेको छ । ती घरको पछाडि एक इञ्च जमिन बाँकी छैन । अरु तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तै पनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् ।

रासस रासस
२०७८ असोज ३ गते १६:३४

३ असोज, दमौली । तनहुँको भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् ।

भिमाद नगरपालिका–६ कुमारचोकका प्रकाश कलकलले नदी कटानले बस्ती जोखिममा परेपछि घर छाडेर डेरामा बस्नुपरेको गुनासो गरे । वर्षौंदेखि बस्दै आएका घरमा होटल चलाउँदै आएका उनले पुर्ख्यौली घर छाडेर डेरामा बस्दा मन भारी भएको बताए । ‘नदी कटानले जोखिममा परेपछि लामो समयदेखि बस्दै आएको घर छाडेर डेरा सरे’, उनले भने, ‘वस्ती जोगाउनेतर्फ सम्बन्धित निकायले चासो दिएनन् ।’

घर छाडेर हिँड्न मन नभए पनि परिस्थितिले यस्तो अवस्था आइपरेको उनको भनाइ छ । ‘निष्ठुरी प्रकृतिले विपत्ति निम्त्यायो, नदीको कटानले घरको पछाडिपट्टिको भाग पहिरा खस्यो’, उनले भने, ‘शौचालय पनि भत्कियो ।’ केही दिन अगाडि गएको पहिराले शौचालय भत्किएपछि त्यसको भोलिपल्टै उनी डेरा सरेका थिए । ‘जोखिम मोलेर घरमा बस्न मिल्ने अवस्था भएन, डेरामा बसेर पनि ज्यान त बचाउनैपर्‍यो’ उनले भने ।

बर्सेनि नदीको कटानले जोखिममा परेको ठाउँमा तटबन्धन भइदिएको भए आजको अवस्था नआउने उनको भनाइ छ । ‘पहिला तलबाट उठाएर तटबन्धन हुन्छ भने जस्तो गरिदिएको भए यो अवस्था आउँथेन, समयमै काम भएन’, उनले भने ।

केही दिन अगाडि परेको वर्षाका कारण कुमारचोकको करिब एक दर्जन घर पछाडि पहिरा खसेको छ । ती घरको पछाडि एक इञ्च जमिन बाँकी छैन । अरु तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तै पनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् । दिनभर व्यापार व्यवसाय गर्ने र राति बास बस्न भने अन्यत्रै जाने गरेको स्थानीय व्यवसायी माया हिराचनले बताए ।

‘पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत थियो । अहिले पहिरा खस्दाखस्दा शौचालय पनि छैन’, उनले भने, ‘दिउँसो चाँही यही व्यवसाय गरिरहेका छौं, राति सुत्न सक्ने अवस्था छैन ।’ दिउँसो पनि कुन बेला पहिरो खस्ने हो केही भर नभएको बताउँदै उनले बाध्यताका कारण जोखिम मोलेरै व्यवसाय गर्नुपरेको गुनासो गरे । ‘लामो समयदेखि यही व्यापार गरेर बस्यौं, अन्यत्र कहाँ जानु ?’ उनले भने, ‘राति भने छिमेकीको घरमा बास बस्छौँ ।’

विसं २०५२ देखि यस ठाउँमा पहिराको जोखिम छ । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले अहिले ४१ घर जोखिममा रहेको जानकारी दिए । उनका अनुसार विगतमा घरबाट सेतीको डिलसम्म १५ मिटरको दूरी थियो, तर अहिले एक इञ्च पनि दूरी छैन । ‘यसरी नै पहिरो खसिरहने हो भने नदीतर्फको मात्रै नभएर कुमार चोकको पूरै बस्ती जोखिममा पर्छ’, उनले भने ।

नदी कटान र पहिरो रोक्नलाई बर्सेनि वडा र नगरले बजेट विनियोजन गरिरहेको उनले दावी गरे । ‘सानो बजेट भएकाले उल्लेखनीय काम भने भएको छैन, नगरको बजेटले नपुग्ने, सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट नदिँदा प्रगति हुन सकेको छैन’, वडाध्यक्ष जोशीले भने ।

बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार गरिएको थियो तर काम भने सुरु हुन सकेको छैन । गत वर्ष प्रदेश सरकारले रु एक करोड र सङ्घीय सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले प्रदेश सरकारले ४० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ ।

नदी तटबन्धनको काम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँअन्तर्गत रहेको छ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धनका लागि १७ करोड रुपैयाँमा डीपीआर तयार भएको छ ।

डीपीआर स्वीकृतका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय पठाइएको कार्यालयकी प्रमुख दीपा गौतमले जानकारी दिइन् । ‘कार्यालयको समग्र बजेट १५/१६ करोड रुपैयाँभन्दा हुँदैन, ठूलो रकमको योजना भएकाले मन्त्रालयमा विचाराधीन छ”, उनले भनिन् ।

सङ्घीय रकारले बजेट विनियोजन गरेको खण्डमा तत्काल काम सुरु हुने उनले बताइन् । सेती नदी तटबन्धनका लागि सङ्घीय सरकारले ३० लाख रुपैयाँ र प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?