+
+

२ फिट ३ इञ्च उचाइका सप्तरीका बौन दासलाई जीवनयापनमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:३२

५ असोज, सप्तरी । शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई ।

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई सानैदेखि यो कष्ट भोग्नुपरिरहेको छ । उनलाई कसैले एक्कासी हेर्दा बच्चा नै हो कि भन्ठान्छन् । तर, दास अहिले ३६ वर्षका भएका छन् । उनको उचाइ २ फिट ३ इन्च छ ।

उनी जन्मजात नै पूर्ण रुपमा शारीरिक अपांगता छन् । खुट्टासँगै हातको बल नदिई उनी घस्रिन समेत सक्दैनन् । उनी घस्रिएरै एक ठाउँबाट अर्को ठाउँ जान्छन् । सबैभन्दा पीडा उनलाई दिसा गर्ने बेलामा हुन्छ । घरमा शौचालय छैन । बिहान घस्रिएरै खेतबारी जानुपरेको पीडा बौन सुनाउँछन् ।

तीन दाजुभाइमध्ये माइला हुन् उनी । दाजु र भाइले कुनै मतलब नै नराखेको उनको भनाइ छ । आमाबुवाको निधनपछि बौन कान्छा भाइ–बुहारीसँग एउटा फुसको घरमा बस्दै आएका छन् ।

आफ्नो घरमा कष्टप्रद जीवन बिताइरहेका उनलाई खाना पकाएर कान्छा भाइकी श्रीमतीले दिने गर्छिन् । उनको रेखदेखमा त्यति ध्यान दिएको पाइँदैन । घरमा कल (ट्युबवेल) त छ तर पानी भरेर पिउन सक्दैनन् उनी । कल चलाउन उठ्नुपर्छ । तर उनी उठ्नै सक्दैनन् । ‘घरमा कोही भएपछि पानी पिउँछु, नभए हल्ला दिएर छिमेकीलाई नै बोलाउनुपर्छ,’ उनी भन्छन् ।

पूर्ण अपांगता भए पनि गाउँपालिकाले उनलाई हरियो कार्ड दिएर सुविधा दिँदै आएको थियो । अहिले केही युवाहरुको मद्दतमा उनलाई रातो कार्ड दिइएको छ । ‘चालु आर्थिक वर्षदेखि उनलाई रातो कार्ड दिइएको छ,’ स्थानीय युवा कौशल यादवले भने । सरकारबाट आउने अपांगता भत्ताबापतको रकम भाइलाई दिएपछि त्यसबापत उनले खाना खाँदै आएका छन् ।

युवाको पहल : सहयोग संकलन गरेर घर निर्माण

बौनको कष्टपूर्ण जीवनयापनलाई देखेपछि स्थानीय युवाले उनको घर बनाइदिने काम अगाडि बढाएका छन् । ‘उनको व्यथाबारे जानकारी पाएलगत्तै हामीले उनका लागि अपांगमैत्री घर बनाउन अग्रसरता देखाएका छौं,’ स्थानीय युवा कौशल यादव भन्छन्, ‘यसका लागि सामाजिक सञ्जालमार्फत सहयोग संकलन शुरु गरेका छौं ।’

कतिले हजार त कतिले २ या ३ हजार सहयोग गरेको यादवले बताए । एक महिनाअघि निर्माण शुरु गरिएको घर बनाउन रकम अपुग हुने भएपछि युवाहरुले रु १ लाख ५० हजार ऋण नै लिएका छन् । गाउँका तीन जनासँग डेढ लाख ऋण लिएका उनीहरुले घर जति चाँडो पूरा गर्ने तयारीमा छन् । ‘सहयोग आएमा ती ऋण चुक्ता गर्छौं,’ यादवले भने, ‘दशैंसम्म दासलाई अपांगमैत्री वातावरणमा जीवन बिताउन दिने चाहना पूरा छ ।’

‘घरमा दासले प्रयोग गर्न सक्ने शौचालय, खानेपानीको व्यवस्था गरिनेछ’ यादवले भने, ‘यसका केहि मनकारी व्यक्तिले सहयोग गर्नुभएको छ । अन्यसँग पनि सहयोगको अपेक्षा गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?