+
+

सिंहदरबारमा कांग्रेस पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:२४

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेतासहित पदाधिकारी बैठक सिंहदरबारमा जारी छ । सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा पार्टीको महाधिवेशन र सरकार सञ्चालनका बारेमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु गोपालमान श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, गगनकुमार थापालगायत छन् ।

पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्रीले एकपक्षीय रुपमा मन्त्री नियुक्त गरेको गुनासो पौडेल समूहले गरिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बसेको हो । पदाधिकारी बैठक अघि बुधबार दिउँसो महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल समूहको बैठक बसेको थियो ।

पौडेल समूहले मन्त्रिमण्डलमा आफ्नो समूहले पाउने भागका बारेमा पदाधिकारी बैठकमा कुरा उठाउने निर्णय गरेको थियो । ‘कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? अनि त्यसमध्ये हाम्रो भागमा कति मन्त्री पर्ने हो ?’ पौडेल समूहका नेता बलबहादुर केसीले अनलाइनखबरसँग भने, ‘यसबारेमा पदाधिकारी बैठकमा हाम्रो समूहबाट सामुहीक रुपमा कुरा उठाउने निर्णय भएको हो ।’

कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चार मन्त्री नियुक्त भइसकेका छन् । २९ असारमा प्रधानमन्त्री देउवासँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँण नियुक्त भएका थिए भने त्यसको एक सातापछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका थिए । २५ सदस्यीय मन्त्रिमण्डलमा अझै १६ मन्त्रालय प्रधानमन्त्री मातहत छन् । प्रधानमन्त्री नियुक्त भएको ७० दिन पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?