+
+

प्रविन, जो कुकुरको भावनालाई गीतमा पोख्छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:२२

मान्छेले अक्सर मान्छेकै गीत गाउँछ । मान्छेको सुखदुःखको, मान्छेको खुसी–उमंगको, मान्छेको ख्यालठट्टाको । मान्छेले आफ्ना भावना र अनुभूतिहरु समेट्ने गर्छन् । यस क्रममा उनले कहिले प्रेमको गीत गाउँछन् त कहिले विछोडको । कहिले साथी–सम्बन्धको गीत गाउँछ त कहिले एक्लोपनको । मान्छेको गीत मान्छेकै वरीपरी चक्कर लगाइरहेको हुन्छ ।

तर, प्रविन श्रेष्ठको हकमा यो सीमा र सर्त लागु हुँदैन ।

उनी कुकुरका लागि गीत गाउँछन् । ती तमाम कुकुर, जसलाई उनी औधी स्नेह गर्छन् । वास्तवमा प्रविन कुकुर–प्रेमी हुन् ।

कुकुरसँग उनी भावनात्मक रुपमै नजिक छन् । कुकुरको भावनालाई बुझेका छन् । उनीहरु के चाहन्छन्, कसरी बाच्न खोज्छन्, कस्तो जीवन रुचाउँछन्, के गर्दा खुसी हुन्छन्, के गर्दा दुःखी हुन्छन् ? यावत् कुरालाई प्रविनले महसुष गरेका छन् । तर, आम समाजको बुझाई फरक छ ।

धेरैजसोले कुकुरलाई घृणा गर्छन् । कुकुरलाई तिरस्कार गर्छन् । कुकुरलाई हेप्छन् । कुकुरलाई लखेट्छन् । यसकारण कि, कुकुरदेखि मान्छे घिनाउँछ । कुकुरदेखि मान्छे डराउँछ । त्यसैले त सडक किनारमा आफ्नै सुरमा सुतिरहेको कुकुरलाई मान्छेले लात्ती बजार्छन् । आफ्नै धुनमा हिँडिरहेको कुकुरलाई ढुंगाले हिर्काउँछन् । घरको आसपास बसिरहेका कुकुरमाथि तातो पानी वा एसिड खन्याउँछन् ।

कतिले कुकुरलाई बाँधेर ढलभित्र हालिदिन्छन् । कतिले कुकुरलाई खोँचमा हुत्याइदिन्छन् ।

‘एउटा निरिह प्राणीमाथि कति निर्दयी छ समाज ?’ प्रविन प्रश्न गर्छन्, ‘आखिर उसले मान्छेको के बिगारेको थियो ?’

मान्छेहरु आफुभन्दा ठूला वा शक्तिशालीको अगाडि झुक्ने गर्छन् । उनीहरुको स्तुती गाउँछन् । तर, आफुभन्दा निरिह, कमजोरमाथि हावी हुने दाउ गर्छन् । हेप्ने गर्छन् । कुकुरमाथि गरिने व्यवहारले पनि मान्छेको यही प्रवृत्ति उदांगो बनाउने प्रविन बताउँछन् ।

प्रविनले त्यस्ता थुप्रै सडक कुकुरको उद्वार गरेका छन्, जसलाई मान्छेले मर्नु न बाँच्नुको अवस्थामा छाडेको थियो । ‘कसैलाई तातो पानी खन्याइदिएको, कसैको ढाँड भाँचिदिएको, कसैको आँखा फुटाइदिएको’ प्रविन सम्झन्छन्, ‘कुकुरमाथि मान्छेले राक्षसी व्यवहार गरेको देखियो । यस्तो देख्दा साह्रै चित्त दुख्थ्यो ।’ कुकुरलाई मान्छेले गर्ने यस्तै निर्दयी व्यवहार देखेपछि प्रविनले गीत गाए, कुकुरको संवेदना पोख्दै । ‘म जस्तो निरिह प्राणीमाथि तिमी यति धेरै निर्दयी नबन’ भनेर कुकुरकै भावमा उनले मान्छेसँग अनुनय गरेका छन्, गीतमार्फत ।

उनी गीतमार्फत यही कुरा पुष्टि गर्न चाहन्छन् कि-कुकुर कुनै तुच्छ प्राणी होइन, कुकुर कुनै आक्रमक प्राणी होइन, कुकुर कुनै घिनलाग्दो प्राणी होइन । उसमा पनि हामीमा जस्तै भावना छ । हामीलाई जस्तै भोक लाग्छ, हामीलाई जस्तै जाडो हुन्छ, हामीलाई जस्तै दुख्छ ।

‘तपाईंको बालबच्चालाई कसैले कुट्छ, लखेट्छ, तातो पानी खन्याइदिन्छ भने तपाईंलाई कस्तो लाग्छ’ प्रविन भन्छन्, ‘कुनै कुकुरमाथि दूर्व्यवहार गर्नुअघि आफैसँग यो प्रश्न गरौं ।’

उनी के पनि भन्छन् भने, सके कुकुरलाई माया गरौं । नसके उसलाई दूर्व्यवहार नगरौं ।

कसरी उनी कुकुरसँग निकट भए ?

प्रविन सुनाउँछन्, ‘बाल्यकालदेखि नै मलाई कुकुरप्रति रुची थियो । घरमा कुकुर ल्याएर पाल्ने गर्थें ।’ आमाबुवाले कतै हिँडाउनु परे उनलाई कुकुरकै लोभ देखाउँथे । यसो भन्दै, ‘त्यहाँ जाँदा कुकुर पनि भेटिन्छ, हिँड त्यहाँ जाउँ ।’

उनको मामाघर ज्ञानेश्वरमा । ‘त्यसबेला टेम्पु चढ्ने खर्चको पनि अभाव हुन्थ्यो सायद’ प्रविन भन्छन्, ‘त्यसैले मामाघरसम्म हिँडाउनु परेमा मलाई बाटोमा कुकुर भेटिन्छ भनी लोभ देखाइन्थ्यो ।’

एक आफन्तले प्रविनलाई कुकुर ल्याइदिएका थिए, घरमा । उनी त्यही कुकुरसँग हुर्किए । घरभित्र होस् वा घर बाहिर हिँडडुल गर्दा, कुकुर देख्नसाथ उनी फुरुंग हुन्थे । रमाउँथे । अर्थात उनको जीवनको सर्वोत्तम उपहार थियो, कुकुर । कुकुरसँग खेल्न पाउँदा उनी उमंगित हुन्थे । खुसी हुन्थे ।

पछि अर्को दाईले कुकुर उपहार दिए उनलाई । त्यो जर्मन सेफर्डको मिश्रित जातको बच्चा थियो । पछि त्यो हुर्कियो र घरमै बच्चा जन्मायो । सबै बच्चा घरमा पाल्न संभव थिएन । किनभने त्यसबेला उनीसँग आम्दानीको अतिरिक्त स्रोत थिएन । उनी विद्यालय पढ्ने एक किशोर उमेरका थिए ।

प्रविनले उक्त कुकुरका बच्चा बिक्री गरे । ‘त्यसै दिएमा राम्ररी पाल्दैनन्’ प्रविन भन्छन्, ‘त्यही भएर बिक्री गरें ।’

जब कुकुरको बच्चा बिक्रीबाट पैसा जम्मा भयो, उनलाई त्यो पैसा अन्यत्र खर्च गन मन लागेन । अनि त्यही पैसाले कुकुरको बच्चा नै खरिद गरे । घरभरी कुकुरै कुकुर भयो ।

यसैगरी विद्यालयमा जाँदा–आउदा पनि उनी बाटोको कुकुरको रेखदेख गर्थे । विद्यालयबाट भागेर समेत सडक कुकुरलाई ख्वाउन, स्यहार गर्न पुग्थे । यसरी थाहै नपाई उनी कुकुरसँग भावनात्मक रुपले नजिक भए ।

अर्कोतिर उनको रहर गायकीमा थियो । संगीत सिक्थे, गाउने अभ्यास गर्थे । आखिर उनले कुकुरको भावनालाई गीतामा उतारे । कुकुरकै मनोभाव झल्कनेगरी गीत गाए ।

कुकुर मात्र होइन, अरु पशुपंक्षीमाथि गर्ने अमानविय व्यववहारलाई पनि उनले गीतमार्फत विरोध जनाएका छन् । मान्छेले आफ्नो भाकल पुरा गर्न पशुको बली दिने परम्परालाई उनले विरोध गरेका छन् । निरिह पशुमाथि मान्छे कति निर्दयी छ भनेर व्यक्त गरेका छन् ।

कुकुर वफदार र सुभानी

कुकुरले टोक्छ भनेर मान्छे डराउँछ । तर, त्यही कुकुरले मात्र टोक्ने भय हुन्छ जो मानसिक रुपले विचलित छन् । उनलाई कुनै न कुनै रुपमा मानसिक क्षति पुगेको छ । यसैगरी मान्छेले तर्साएका, कुटेका, बाँधेर वा थुनेर राखेका कुकुर आक्रमक हुनसक्छ । किनभने उनीहरु आफुमाथि हुने दूर्व्यवहारबाट सधै डराइरहेका हुन्छन् । आफुलाई रक्षात्मक बनाउनका लागि कुकुरले टोक्ने, भुक्ने, झम्टने गर्छन् । प्रविन यसै भन्छन् । उनी के पनि भन्छन् भने, जुन कुकुरले माया पाएको छ, स्पर्श पाएको छ उसले टोक्दैन । झम्टदैन ।

‘मान्छे पृथ्वीकै सबैभन्दा वफरदार प्राणी हो’ प्रविन भन्छन्, ‘मान्छे जस्तो धोकेबाज र स्वार्थी हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?