+
+

पुनर्निर्माणको काम सन्तोषजनक : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:५२

११ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरेको छ । बैठकले विकास साझेदारहरुबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरुलाई ग्रहण समेत गरेको छ ।

कार्यक्रममा विश्व बैंक, एडीबी, यूएनडीपी, जाइका, एफसीडीओ, यूएसएआईडी, युनिसेफ, यूएन ओपीएस लगायत विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिले नेपालको पुनर्निर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिहरुको बारेमा धारणा राखेका थिए ।

एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले भूकम्प पछिको सफल पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरणलाई बधाइ दिए । काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढंगले हुने विश्वास व्यक्त गरे ।

विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताए ।

जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्न तयार रहेको जानकारी दिइन् ।

समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्रहरु एवं विकास साझेदारबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरे । अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाहरुको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गरे । पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभवहरु अन्तर्राष्ट्रिय समुदाय सामु बाँड्ने उद्देश्यले आगामी मंसिर २१–२३ माअन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?