+
+

बिहान चाँडो उठ्न सक्दिनँ, चिया–कफी पिउँदिनँ

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज १३ गते १५:२१

चिनाइराख्नु पर्दैन खुमन अधिकारीलाई । लोकदोहोरीमा खुमनको गर्बिलो र दर्बिलो छाप छ । ८ हजारभन्दा बढी लोकदोहोरी गीतमा स्वर दिएको दाबी गर्ने खुमनले हिट गीतको चाड नै लगाएका छन् । ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’ होस् वा ‘सिलाइ दिउँला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, यी खुमनका चलेका गीतहरु हुन् । उनै गायक खुमनको जीवनशैली कस्तो छ ? कसरी बित्दैछ दैनिकी ? भन्ने बारेमा अनलाइनखबरले कुराकानी गरेको छ ।

तपाईं बिहान कतिबजे उठनुहुन्छ ?

मेरो अलि ढिलो उठ्ने बानी छ । उठ्दा ८ देखि ९ बज्छ । त्योभन्दा अगाडि कसैको फोन आयो भने प्रायः रिसिभ पनि गर्दिन ।

उठिसकेपछि दैनिकी कसरी सुरु हुन्छ ?

एक लिटरजति मनतातो पानी पिउँछु । त्यसपछि फ्रेस हुनका लागि वाथरुम जान्छु । म धार्मिक मान्छे पनि हुँ, धर्मकर्ममा रुचि राख्छु । नुहाएपछि एकछिन घरमै पूजा गर्छु ।

बिहानमा रियाज गर्नुहुन्छ ?

फ्रेस भइसकेपछि हार्मोनियम खोलेर केही समय रियाज गर्छु । रियाज मेरो प्रायः नै हुन्छ । मेरा पुराना गीतदेखि मलाई मनपरेका अरूका गीतहरू पनि गाउँछु । रियाज गरेर स्वरलाई ब्यालेन्समा राख्छु ।

खाना कतिबेला खानुहुन्छ ?

म बिहानमा ढिलो उठ्ने भएकाले खाजा खाँदिन् । खाना ११ देखि १२ बजेभित्रमा खान्छु ।

प्रायः कस्तो खाना खानुहुन्छ ?

साधारण दात, भात, तरकारी नै हो । त्यसमा अचार अनिवार्य चाहिन्छ ।

खाना बनाउन जाँगर कत्तिको चल्छ ?

जाँगर नै नचल्ने होइन । तर प्रायः श्रीमतीले बनाउँछिन् । मासु ल्याउँदा म अलिक अगाडि सर्छु ।

माछा मासुमा सौखिन हुनुहुन्छ त्यसो भए ?

एकदमै । मलाई चिकेन एकदमै मनपर्छ । मैले चिकेन मीठो पनि बनाउँछु । मंगलबार र शुक्रबार घरमा माछामासु पकाउँदैनौं । त्योबाहक अरू दिन खान मन लागेको समयमा मासु पाकिरहेको हुन्छ ।

घरभित्रको के काम गर्न एकदमै अल्छि लाग्छ ?

मलाई कपडा धुन एकदमै अल्छि लाग्छ । कहिलेकाहीँ म एक्लै छु र कपडा धुनुपर्ने छ भने चिनेको साथी बोलाएर मिलेर धोऔं भन्ने समेत गरेको छु ।

घरबाट निस्किने समय कतिबेला हो ?

प्रायः १२ देखि १ बजे भित्र निस्किन्छु ।

बाहिर निस्किनुअघि तयार हुुन कति समय लाग्छ ? लुगाफाटो कस्तो सहज लाग्छ ?

धेरै समय लाग्दैन । मलाई क्याजुअल खालका कपडाहरु सहज लाग्छ । त्यस्तै कपडाहरु लगाइरहेको हुन्छु । बाहिर निस्किनुअगाडि कपडा लगाइसकेपछि एकपटक ऐनमा चाहिँ उभिने बानी छ ।

कपडा कस्तो रंगको लगाउन बढी मनपर्छ ?

मलाई पाइन्टमा ‘ब्ल्याक’बाहेक अरु मन नै पर्दैन । ‘ब्ल्याक’ मेरो लक्की रंग पनि हो । सर्ट, टिसर्ट चाहिँ अन्य रंगको पनि लगाउँछु ।

कपडामा सौखिन चाहिँ कत्तिको हुनुहुन्छ ?

म कपडामा एकदमै सौखिन छु । मलाई फेसनेबल कपडाहरु चाहिन्छ । अरुले राम्रो कपडा लगाएको देखेँ भने आँखा गइहाल्छ । पसल वा सपिङ मलतिर कतै जाँदा राम्रो कपडा देखेँभने कति पर्दोरहेछ भनेर बुझिहाल्छु । आफूसँग पैसा छ भने किनिपनि हाल्छु ।

गरगहनामा कति आशक्ति छ ?

मलाई गहनामा त्यति आशक्ति छैन । मेरो हातमा ज्योतिषले दिएको राशीअनुसारको दुईवटा औंठी छ । एउटा सानो चेन बनाएर घाँटीमा लगाएको छु । गरगहना लगाउनैपर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

म आफूले गाडी नकिनेको हुनाले प्रायः साथीहरुको बाइक, कहिले ट्याक्सी प्रयोग गर्छु । कार किन्ने इच्छा चाहिँ छ । त्यसका लागि ड्राइभिङ पनि सिकिसकेको छु ।

दिनभरको समय कसरी बिताउनुहुन्छ ?

रेकर्डिङ, छायांकन भए त्यसमै व्यस्त हुन्छु । कतै अन्तर्वार्ता छ भने त्यहाँ जान्छु । साथीभाइसँग भेटघाट पनि गरिरहेको हुन्छु । रेकर्डिङ, साथीभाइ भेटघाट लगायतका काम छैन, एकदमै फ्रि छु भने घरमा हार्मोनियम लिएर गीत कम्पोज गरेर बस्छु ।

दिनमा कतिवटासम्म गीत गाउनुहुन्छ ?

अडियोको समयमा त दिनमा १२ वटासम्म गाएँ । अहिले एकदमै छनोट गरेर गाउने गरेको छु । ठ्याक्कै यतिवटै भन्ने छैन ।

सांगीतिक क्षेत्रमा नजिकका साथीहरु कति हुनुहुन्छ ?

धेरै नै हुनुहुन्छ । सबैसँग नजिक नै छु ।

तपाईंले गीत गाउनुभएकामध्ये रुचाइने गायिका को हुनुहुन्छ ?

धेरै नै हुनुहुन्छ । प्रायः सबैसँग गाएका गीतहरु रुचाउनुभएको छ । त्यसमा पनि मेरो स्वरसँग बढी म्याच खाने गायिका विष्णु माझी जस्तो लाग्छ मलाई । धेरै शुभचिन्तकहरुले पनि गीतमा विष्णु माझी र तपाईको स्वर म्याच गर्छ भन्नुहुन्छ । पछिले उहाँसँग थुप्रै गीत गाएँ, थुप्रै गीतहरु चलेका पनि छन् । पछिल्लो समय भने उहाँसँग गीत गाएको छैन ।

बाहिर जाँदा मनपर्ने खानेकुरा कुन हो ?

ठ्याक्कै यो स्पेसल भन्ने छैन । साधारण खानेकुरा मनपर्छ । तर म चिया–कफी पिउँदिन । त्यसमा मलाई सानैदेखि नै रुचि भएन ।

दिनमा कति रुपैयाँ खर्च हुन्छ ?

१ हजारदेखि २ हजारसम्म । कहिलेकाँही बढी भइहाल्ने भयो ।

तपाईंलाई मनपर्ने आफ्नो स्वभाव ?

मनमा पाप नराख्ने । कसैको कुरा नकाट्ने । मनमा जे छ त्यही बोल्ने । हाँसीमजाक गर्ने चञ्चले स्वभाव छ, त्यो स्वभाव मनपर्छ ।

आफ्नो मन नपर्ने स्वभाव के जस्तो लाग्छ ?

मलाई सानो कुराले पनि एकदमै मन दुख्छ । कतिपय सानो कुराले म रातभरि निदाउँदिनँ । त्यस्तै ढिलो सुत्ने, ढिलो उठ्ने बानी पनि मन पर्दैन । तर, त्यो बानी हटाउन सकेको छैन ।

साँझ कतिबजे घर फर्किनुहुन्छ ?

८ बजेदेखि ढिलोमा ११ बजेभित्र ।

खाना कतिबजे खानुहुन्छ ?

साँझमा जतिबेला घरमा पुग्छु त्यसपछि खाने हो । ८ बजे घर पुगेको छु भने फे्रेस भएर खाना खाँदा ९ बज्छ । ११ बजे घर पुगेको छु भने खाना खाँदा १२ बज्छ ।

मदिरापान गर्ने बानी कत्तिको छ ?

कहिलेकाँही साथीभाइसँग पिउने कुरा छुट्टै भयो, नत्र पिउनु नै पर्छ भन्ने छैन ।

फेसबुक, टिकटक, युट्युबतिर कति समय बिताउनुहुन्छ ?

म सबैभन्दा धेरै समय बिताउने मोबाइलमा हो । खाना खाँदा पनि म मोबाइल हेरिरहेको हुन्छु । फेसबुक, टिकटक र इन्ट्राग्राम बढी हेरिरहेको हुन्छु । त्यस्तै युट्युब, ट्विटर पनि हेरिरहेको हुन्छु । यो समय सामाजिक सञ्जालमा बढी बिताउँछु भन्ने छैन । घरमा हुँदा होस् वा बाहिर हुँदा होस् फुर्सदको समयमा म सामाजिक सञ्जाल नचलाई बस्न सक्दिनँ ।

यतिबेला सबैभन्दा धेरै के कुरा मिस गर्नुभएको छ ?

स्टेज कार्यक्रम । यतिबेला त म स्टेज कार्यक्रमको सिलसिलामा बिदेशमा हुन्थे । तर, कोरोनाका कारण त्यो माहोल छैन । दशैंका लागि देशभित्रै केही कार्यक्रमहरु भने तय भएका छन् ।

राति सुत्दा कति बज्छ ?

१२ देखि १ बज्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?