+
+

जहाजको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १६:३९

१३ असोज, काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् ।

यो समितिले (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ । त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई तीन महिनाको समय दिइएको छ ।

सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए जहाज ग्राउण्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी जहाजहरु ग्राउण्डेड गरिने मन्त्रालयको भनाइ छ ।

नेपालमा सञ्चालित वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा समस्या देखिएका बेला सरकारले वायुयानहरुको अध्ययन गर्न समिति बनाएको हो । सोमबार बुद्ध एयरको जहाजको ल्याडिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थल पुगेर पनि काठमाडौं फर्काइएको थियो ।

यसले हवाइ क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?