+
+

घरको डिजाइन गर्दा वास्तुविज्ञानसँग तालमेल मिलाउनुपर्छ : लैला श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १३:५३

भनिन्छ, जहाँ मन बस्छ त्यही घर । अर्थात् घर भनेको घाम–पानी छल्ने ओतमात्र होइन । त्यो हाम्रो जीवनशैलीकै एक अभिन्न अंश हो । त्यसैले त घरसँग हाम्रो भावनात्मक सम्बन्ध हुन्छ ।

हामीकहाँ घर निर्माण गर्नु त्यति सजिलो कुरा होइन । जीवनभरको आर्जनले हामी घर निर्माण गरिरहेका हुन्छौं । आफ्नो बलबुतोले भ्याएसम्म राम्रो, आकर्षक, सहज, बलियो घर बनाउने यत्न गरिरहेका हुन्छौं । यद्यपि घर निर्माण गरिसक्दा कतिपय कुरामा खल्लो लाग्छ । किनभने घर निर्माणबारे हामीसँग अतिरिक्त अनुभव नै हुँदैन । अक्सर धेरैले पहिलोपटक घर निर्माण गरिरहेका हुन्छन् र त्यसमा धेरै गल्ती पनि गरिरहेका हुन्छन् ।

यसै सन्दर्भमा घर निर्माण गर्नुअघि केके कुरामा ध्यान दिने, कसरी डिजाइन तयार गर्ने लगायतका विषयमा आर्टभ्यु–इन्जिनियरिङ कन्सल्टेन्सीकी आर्किटेक लैला श्रेष्ठले अनलाइनखबरसँग कुराकानी गरेकी छिन् ।

घर निर्माण वा डिजाइन गर्दा आर्किटेकको हिसाबले केके कुरामा ध्यान दिनुपर्छ ?

सर्वप्रथम त कुनैपनि संरचना निर्माण गर्दा कुन प्रयोगको लागि निर्माण गर्न लागिएको हो, त्यो स्पष्ट हुन जरुरी छ । त्यसैगरी घर भनेको मात्र बास बस्नको लागि नभई त्यहाँ बस्दा मान्छेको मन र मस्तिष्कमा सकारात्मक भाव हुने किसिमले डिजाइन गर्नुपर्छ ।

साथै घर निर्माण वा डिजाइनको योजना बनाउँदा सम्बन्धित घरमुलीको आवश्यकता, बजेटलाई ध्यानमा राखेर सोही अनुरूपको डिजाइन गर्नुपर्छ । घर कहाँ बनाउने, कसरी बनाउने, कति मूल्यको बनाउने, केकस्ता सामाग्रीले बनाउने भन्ने कुरा मोटामोटी रूपमा तय भइसकेपछि सोहीअनुसार उपयुक्त डिजाइन बनाउनुपर्छ ।

अहिले कस्तो डिजाइनको घर बढी चल्तीमा छ ?

हुन त घरको डिजाइन यही खालको भन्दा पनि घरमुलीको रूची अनुसार फरक–फरक हुनसक्छ । मान्छेको स्वभाव र रूची मिल्दैन । यो विविधता घरको डिजाइनमा पनि झल्कन्छ । मान्छे कस्तो खालको हो, उसले रूचाउने घर पनि त्यही अनुरूपको हुने गर्छ । मास्टर टाइपको डिजाइन बढी चल्तीमा देखिन्छ । साथै परम्परागत र आधुनिकताको मिश्रित डिजाइन पनि रूचाएको पाइन्छ । जसमा सुर्खी प्रयोग गरेर बनाइएको हुन्छ ।

घरमुलीको पेशा-व्यवसाय अनुसार पनि घरको डिजाइन फरक हुनसक्छ ?

हो घरमुलीको पेशा व्यवसायअनुसार घरको डिजाइन फरक हुन सक्छ । किनभने साधरणतया बैठक कक्ष, शयनकक्ष, भान्सा, वाथरूम, शौचालयजस्ता आधारभूत कुराहरू उस्तै भएपनि त्यसको आकार–प्रकार, साजसज्जा आदि उनीहरूको पेशा–व्यवसाय अनुसार डिजाइन गर्नुपर्ने हुन्छ । जस्तै यदि घरमूली फोटोग्राफर भए उसको घरमा फोटो ग्यालरी, स्टुडियो हुन सक्ला । त्यस्तै प्राध्यापक भए पुस्तकालय वा पढ्ने ठाउँ हुनसक्ला । मान्छेले आफ्नो प्रवृत्ति र रूचीअनुसार पेशा–व्यवसाय रोजेका हुन्छन् । उनीहरूको यो मनोविज्ञान घरको डिजाइनमा पनि लागु हुन्छ ।

जस्तो कुनै व्यापारीलाई एकदमै सुविधायुक्त घर जरुरी हुन्छ । किनभने उनीहरू हतारमा हुन सक्लान् । त्यस्तै कुनै साहित्यकार वा कविका लागि शान्त र फराकिलो घर जरुरी होला ।

आवासको लागि कस्तो डिजाइनको घर बढी उपयोगी हुनसक्छ ?

झ्यालको लागि यस्तै डिजाइन बढी उपयोगी भन्नुभन्दा पनि त्यो बन्ने लोकेसन हेरेर निर्धारण हुन्छ । घर कुन शैलीको निर्माण गर्ने हो, कस्तो ठाउँमा गर्ने हो, इत्यादि कुरा निर्धारण भएपछि सोहीअनुसार सुहाउँदो झ्याल–ढोका निर्माण गर्न सकिन्छ ।

घरको झ्याल–ढोका, बार्दली, भर्याङ आदिको डिजाइन गर्दा मूलतः के कुरामा ध्यान दिने ?

घरको झ्याल–ढोका डिजाइन गर्दा त्यहाँको भौगोलिक अवस्थिति, घरको शैलीलाई ध्यानमा राखेर तयार गर्नुपर्छ । झ्याल–ढोका यस्तो हुनुपर्छ, जहाँबाट पर्याप्त प्रकाश, ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

झ्याल, ढोका, भ¥याङ, बार्दली कहाँ र कसरी राख्नु उपयुक्त हुन्छ ?

घरको कुन ठाउँमा झ्याल–ढोका राख्ने भन्ने कुरा निकै महत्त्वपूर्ण पाटो हो । यो हेर्दा आकर्षकमात्र होइन, सुरक्षित पनि हुनुपर्छ । साथै मूलढोका खोल्नसाथ भित्र के देखिन्छ त्यसलाई पनि ख्याल गर्नुपर्छ । जस्तो बेडरूमको ढोका खोल्नसाथ सोझै बेड देखिनु भएन ।

आपतकालीन अवस्था अर्थात दुर्घटनामा पनि झ्याल–ढोका प्रयोग गर्न सकिने ढंगले डिजाइन गर्नुपर्छ । जस्तो आगलागी, भूकम्प जस्तो स्थितिलाई मध्यनजर गरेर बनाउनुपर्छ । बार्दली बनाउँदा पनि समग्र  घरकै डिजाइनलाई आधार बनाएर कस्तो बनाउने भन्ने टुंगो गर्न सकिन्छ । घर, ठाउँ आदि अनुसार यसको डिजाइन फरक हुनसक्छ । बार्दलीबाट देखिने दृश्यहरू, घाम पर्ने वा नपर्ने कुराहरू ख्याल गर्न सकिन्छ । गर्मी ठाउँमा बार्दली बनाउँदा सितल हुने ठाउँमा उपयुक्त हुन्छ भने जाडो ठाउँको घरमा बार्दली बनाउँदा घाम ताप्न मिल्ने गरी बनाउनुपर्छ ।

भर्याङचाहिँ यस्तो स्थानमा राख्नुपर्छ, जहाँबाट सबै कोठामा पुग्न सहज होस् । साथै क्लकवाइज अर्थात् जसरी घडी घुम्छ, त्यसरी नै डिजाइन गर्नुपर्छ ।

‘आर्किटेक’ डिजाइन गर्दा वास्तु विज्ञानसँग कति तालमेल मिलाइन्छ ?

‘आर्किटेक’ भनेकै वास्तुविद् भन्ने बुझिन्छ । त्यसैले आर्किटेक डिजाइन गर्दा सकेसम्म वास्तु–विज्ञानसँग तालमेल मिलाएर गर्ने गरिन्छ । अझ पहिलेको तुलनामा हिजोआज ग्राहकहरू वास्तुमा विश्वास राख्ने गरेको पाइन्छ । त्यसै अनुरुप मैले ग्राहकले नभने पनि वास्तुसँग तालमेल मिलाएर डिजाइन गराउने गरेकी छु ।

थोरै जग्गामा घर बनाउँदा के कुरामा ध्यान दिने ?

पहिलेको तुलनामा अहिले जग्गाको भाउ आकासिएको छ । त्यसैले प्रायजसो मानिसले ३ वा ५ आनासम्मको जग्गामा घर बनाउने गरेको पाइन्छ । त्यसैले थोरै जग्गामा घर निर्माण गर्दा निकै विचार पुर्याउनुपर्छ । उपलब्ध जग्गालाई खेरो जान नदिई घरको डिजाइन गर्नुपर्छ ।

कसरी कम खर्चमा राम्रो घर बनाउने ?

त्यसको लागि सुरुको प्लानिङ फेजमा नै यो कुरालाई ध्यानमा राखेर घरको डिजाइन गर्नुपर्ने हुन्छ । ग्राहक एवं घरमुलीको आवश्यक्ताअनुसार ठाउँ अर्थात स्पेस खेर नजाने गरी ठिक्कको कोठाहरू डिजाइन गर्नुपर्छ । लागत प्रभावी योजना गर्नुपर्छ । त्यसैगरी निर्माण प्रविधि पनि कम खर्चिलो हुनपर्छ । कुन निर्माण सामाग्री प्रयोग गर्ने हो ? बजारमा उपलब्धमध्ये कुन सस्तो र राम्रो हो, सो छनौट गर्न सक्नुपर्छ । सुपरभिजन वा रेखदेख गर्ने, निर्माण सामाग्रीलाई खेर जान नदिने जस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।

घर–संरचना पुनःनिर्माण गर्दा के कुरामा ख्याल गर्ने ?

पुनःनिर्माण अर्थात ‘रिनोभेसन’ गर्दा मूख्यतः त्यो कस्तो किसिमको घर वा संरचना हो, कस्तो लोकेसनमा छ भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै पुनःनिर्माण गर्दा त्यो संरचनालाई कुनै बाधा नहुने गर्नुपर्छ । जस्तो कुनै आवासीय घरको पुन निर्माण गर्नु पर्नेछ भने ग्राहककोरुची, बजेटअनुसार नयाँ शैलीमा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?