+
+

‘अकस’को तनावले स्थगित भयो अष्ट्रेलिया-ईयू व्यापार सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १३:५९

१५ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि उत्पन्न तनावले अष्ट्रेलिया र युरोपेली संघ (ईयू)बीचको व्यापार वार्ता स्थगित भएको छ । अकस सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलर बराबरको पनडुब्बी खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

त्यसको सट्टामा उसले अमेरिकासँग मिलेर न्युक्लियर ऊर्जाबाट चल्ने आठ पनडुब्बी बनाउने निर्णय गरेको थियो । अष्ट्रेलियाको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले ‘पीठमा छुरा हान्ने काम’ भएको बताएको थियो । उसले अष्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत पनि फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अमेरिकाका लागि फ्रान्सेली राजदूत पुनः काममा फर्किने भएका छन् तर अष्ट्रेलियाका लागि फ्रान्सेली राजदूत भने कहिले फर्किने हो निश्चित छैन ।

फ्रान्सप्रति ऐक्यबद्धता जनाउँदै युरोपेली आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयनले अष्ट्रेलियासँग ईयूले व्यापार सम्झौता गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न राखेकी छन् ।

अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहनले अकस सम्झौताकै कारण व्यापार वार्ता स्थगित भएको हो भन्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले १२ अक्टोबरदेखि शुरु हुने व्यापार वार्ता एक महिनाको लागि रोकिएको भने स्पष्ट पारेका छन् । उनले ईयूका व्यापारमन्त्रीसँग अक्टोबरको सट्टामा नोभेम्बरमा १२ औं चरणको वार्ताको लागि भेट्ने बताएका छन् ।

गत जुनमा युरोपेली कमिसनले भविष्यमा सम्झौताको लागि धेरैजसो विषयमा सहमति जुटेको बताएको थियो । आगामी वार्तामा व्यापार, लगानी र बौद्धिक सम्पत्तिबारे वार्ता हुने तय भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?