+
+
कांग्रेस जिल्ला अधिवेशन :

रामेछाप र ताप्लेजुङ पौडेल पक्षले गुमायो, देउवाले दोलखा

९ जिल्लामध्ये ५ मा पौडेल समूह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते २०:४२

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेका छन् ।

सोमबार साँझसम्म ९ जिल्लामा नयाँ नेतृत्व चयन हुँदा ५ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने ४ जिल्ला संस्थापन पक्ष विजयी भएको छ । जिल्ला अधिवेशनको नतिजा सार्वजनिक हुँदै गर्दा जिल्लामा यसअघिको समीकरण फेरिएको छ ।

१३ औं महाधिवेशनमा रामेछाप र ताप्लेजुङ जिल्ला सभापति जितेको पौडेल समूहले यसपटक ती जिल्लामा नेतृत्व गुमाएको छ । ताप्लेजुङमा संस्थापन पक्षका उम्मेदवार गजेन्द्र तुम्याहाङले पौडेल पक्षका छविलाल गुरुङलाई पराजित गरे । ताप्लेजुङमा यसअघि पौडेल पक्षकी लीला बोखिम सभापति थिइन् ।

रामेछाप जिल्ला सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । यसअघि रामेछापमा पौडेल समूहका लबश्री न्यौपाने सभापति थिए ।
उता यसअघि संस्थापन पक्षले जितेको दोलखामा यस पटक पौडेल पक्षका उम्मेदवार बर्मा लामा विजयी भएका छन् ।

यसअघि दोलखामा संस्थापन समूहका रुद्र खड्का सभापति थिए । पहिलो चरणको मतदानमा उनी तेस्रो स्थानमा रहेपछि पहिलो र दोस्रो भएका उम्मेदवार लामा र सिटौला समूहका तारा खड्काबीच प्रतिस्पर्धा भएको थियो ।

गण्डकी प्रदेशका गोरखा र मुस्ताङ जिल्ला सभापतिमा पौडेल पक्षका र मनाङमा संस्थापन पक्षका उम्मेदवार चयन भएका छन् । गोरखामा सर्वसम्मत निर्वाचित भएका नन्दप्रसाद न्यौपाने नेता गगनकुमार थापा निकट हुन् । थापा पछिल्लो समय पौडेल समूहसँग नजिक छन् । गोरखामा यसअघि पनि पौडेल समूहकै हरिबहादुर घले सभापति थिए ।

मुस्ताङको सभापतिमा निर्वाचित रोमी गौचन थकाली पौडेल समूहका नेता हुन् । मुस्ताङका निवर्तमान सभापति याङजिङ विष्ट पनि पौडेल समूहकै नेता हुन् ।

मनाङको पार्टी सभापतिमा संस्थापन पक्षका शंकर गुरुङ सर्वसम्मत चयन भएका हुन् । मनाङमा यसअघि पनि संस्थापन समूहकै टेकबहादुर गुरुङ जिल्ला सभापति थिए । दुई कार्यकाल जिल्ला सभापति बनेका गुरुङ विधानको व्यवस्थाका कारण नेतृत्वबाट बाहिरिएका हुन् ।

हुम्ला जिल्लामा पार्टी सभापति निर्वाचित मोहनविक्रम सिंह संस्थापन निकट नेता हुन् । उनी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । हुम्लामा यसअघि पनि संस्थापन समूहकै जयपति रोकाया पार्टी सभापति थिए ।

कालीकोटमा अम्मबहादुर शाही सर्वसम्मत सभापति निर्वाचित भएका छन् । उनी पौडेल समूह निकट हुन् । यसअघिका पार्टी सभापति हर्षबहादुर बम पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहनिकट थिए ।

लुम्बिनी प्रदेशमा अहिलेसम्म रुकुम पूर्वमा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ । रुकुम पूर्वमा केशरमान रोका सभापति निर्वाचित भएका हुन् । सर्वसम्मत सभापति चयन भएका रोका यसअघि पनि जिल्ला संयोजक थिए ।

संखुवासभामा पौडेल पक्षका दीपक खड्का सभापतिमा निर्वाचित भएका छन् । सभापति पदमा खड्कालाई जिल्लामा संस्थापन समूहको पनि समर्थन थियो ।

सुदूरपश्चिम प्रदेशको बझाङमा आइतबार जिल्ला अधिवेशनको मिति तोकिएपनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि अधिवेशन प्रभावित भएको छ । त्यस्तै प्रदेश दुईका कुनै पनि जिल्लामा वडा अधिवेशन नै सुरु हुन सकेको छैन ।

कांग्रेसले दशैं अघि हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी पहाडी र तराईका जिल्लामा दशैंपछि अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । अहिलेसम्म देशभरका ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

कुन जिल्लामा कुन पक्ष विजयी

हुम्ला : मोहनविक्रम सिंह (संस्थापन समूह)
गोरखा : नन्दप्रसाद न्यौपाने (संस्थापनइतर समूह)
मनाङ : शंकर गुरुङ (संस्थापन पक्ष)
मुस्ताङ : रोमी गौचन थकाली (संस्थापनइतर समूह)
कालीकोट : अम्मबहादुर शाही (संस्थापनइतर समूह)
रुकुम पूर्व : केशरमान रोका (संस्थापनइतर समूह)
रामेछाप : पूर्णबहादुर तामाङ (कान्छाराम) (संस्थापन समूह)
संखुवासभा : दीपक खड्का (संस्थापन इतर समूह)
ताप्लेजुङ : गजेन्द्र तुम्याहाङ (संस्थापन समूह)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?