+
+

यसरी ऐतिहासिक बन्न सक्छ कांग्रेसको १४औं महाधिवेशन

मोहन गजुरेल मोहन गजुरेल
२०७८ असोज १९ गते १३:४२

जननायक बीपी कोइरालाले भने जस्तै कांग्रेसलाई सुकिलामुकिलाको मात्र होइन, आम मानिसको बनाउन पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्न आवश्यक छ । अनि मात्र पार्टी बलियो बन्छ । त्यही संघर्ष गर्ने उपयुक्त थलो पार्टीको महाधिवेशन हो ।

संविधानको धारा २६९ अनुसार राजनैतिक दलहरूले प्रत्येक पाँच वर्षमा सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्दछ । १३औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष चार महीनापछि १४औं महाधिवेशनको प्रक्रिया शुरू भएको छ । यतिबेला वडा र नगर र कतिपय स्थानमा जिल्ला अधिवेशन भइरहेका छन् ।

विगतको तुलनामा यसपटक निश्चित कारणले कांग्रेसको महाधिवेशन ऐतिहासिक बन्दैछ । पहिलो, केन्द्रदेखि गाउँसम्म लोकतन्त्रको उच्चतम अभ्यास भएको छ, जुन लोकतन्त्रप्रति धर्मराउँदो अडान लिने कम्युनिष्ट पार्टीहरूका लागि शिक्षा हो । दोस्रो, महाधिवेशनमा युवाको उपस्थिति र चयनले गुणात्मक फड्को मारेको छ । तेस्रो, राज्यको समावेशी नीतिलाई कांग्रेसले केन्द्रदेखि गाउँसम्म वास्तविक रूपमा कार्यान्वयन गरेको छ ।

यतिवेला अधिवेशनले टोल, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ जाँगर सिर्जना गरेको प्रष्ट देख्न पाइन्छ । पार्टी पंक्तिमा उग्राएर बसेका र मठाधीश शैलीमा पार्टी सञ्‍चालन गर्दै आएको बासी नेतृत्वलाई झक्झकाउने काम पार्टीको तल्लो निकायबाट छानिएर आएको नयाँ पुस्ताले गर्न थालिसकेको छ । यसपटक तल्लो तहमा देखिएको युवाको आगमनले उत्साह भरेको छ, पार्टीलाई गतिशील र जीवन्त बनाउँदैछ । केन्द्रीयस्तरमा देखिएको निराशालाई आशा र उत्साहतर्फ लैजाँदैछ ।

जब वडा तहदेखि नै पार्टी गतिविधि बढ्छ अनि युवापुस्ता चुनिएर आउँछन्, यसले पार्टीलाई मात्र होइन यसमा आस्था राख्ने आम कार्यकर्तादेखि मतदाता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई पनि पार्टीप्रतिको आस्थामा निरन्तरता दिन मद्दत गर्छ ।

कांग्रेसले वडा तहदेखि केन्द्रसम्मलाई हुने गरी पार्टी सञ्चालनदेखि सरकारमा भए के गर्ने विपक्षमा भए कस्तो भूमिका निर्वाह गर्नेसम्मको मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्छ । कांग्रेसले बोकेको लोकतान्त्रिक समाजवादको समयसापेक्ष परिभाषा के हो यसको अभ्यास कसरी गर्ने भन्ने एक किसिमको गाइड बुक पनि पार्टीको तल्लो पंक्तिदेखि केन्द्रसम्म पुर्‍याउन सक्नुपर्छ ।

यसले पार्टीभित्र बहस तथा छलफल गर्न र यसबाट विचार निर्माण गर्न नेतृत्वलाई सहज बनाउँछ । कांग्रेसको जरा भुइँ तहका मानिससँग जोडिएको छ र कांग्रेस भनेको साथी जस्तो हो भनेर बुझाउन तल्लो निकायदेखि नै पार्टीलाई सक्रिय तुल्याउनुपर्छ ।

कांग्रेस कुनै वर्ग विशेषको होइन दलित, जनजाति, मधेशी तथा सीमान्तीकृत वर्ग र समुदाय आदि सबैको पक्षमा छ भन्ने बुझाउन नीतिगत रूपमा केन्द्रदेखि र व्यावहारिक रूपमा तल्लो तहबाट रणनीतिक योजना अघि बढाउनुपर्छ ।

भनसुन र पहुँचविहीन आम नागरिकको हकमा सार्वजनिक सेवा र स्रोतमा पहुँच छैन । समस्या र अन्यायमा परेका निमुखा वर्गका लागि भरपर्दो कुनै निकाय छैन । यस्तो स्थितिमा कांग्रेसले पार्टीको तल्लो पंक्तिदेखि नै यस्तो सरसहयोग र सल्लाह सुझाव वा सही बाटो देखाउने गरी संयन्त्र निर्माण गर्नुपर्छ । यसले आममानिसलाई पार्टी पंक्तिसँग जोड्न मद्दत मिल्छ ।

त्यस्ता व्यक्तिहरूले पार्टीबाट अप्ठ्यारो स्थितिमा सहयोग पाएको खण्डमा उनीहरू सधैंका कांग्रेस हुन्छन् । अरू पार्टीबाट चोरेर ल्याएका वा लोभलालच देखाएर ल्याइएका कार्यकर्ताबाट कांग्रेसको पुनर्निर्माण हुँदैन ।

कांग्रेसको संशोधित विधान अनुसार टोल समितिदेखि केन्द्रीय समितिसम्म आठ तहको कार्यकारी समितिको व्यवस्था गरेको छ । धेरै कार्यकर्तालाई पद र जिम्मेवारी दिन यो संरचना निकै उपयोगी पनि छ । तर, उनीहरूलाई जिम्मेवारी सहित प्रभावकारी भूमिका दिन उत्तिकै आवश्यक छ ।

कांग्रेसलाई बुढापाकाले कब्जा गरेको पार्टी भनेर आरोपित पनि गरिन्छ । महाधिवेशनको यो पूर्वसन्ध्यामा देशभरिबाट कांग्रेस नेतृत्वमा युवाको प्रवेशलाई प्राथमिकता दिन आवश्यक छ । जेठो पुस्तालाई सम्मान र नयाँ पुस्तालाई जिम्मेवारी दिन सकियो भने पार्टीमा नयाँ रक्तसञ्चार हुने निश्चित छ । एउटैलाई आजीवन अवसरभन्दा पनि युवालाई मौका दिंदा नै कांग्रेस जीवन्त हुने हो ।

यही मेसोमा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अधिकांश स्थानीय तहको वडा अधिवेशन सम्पन्न भएका छन् । केही वडाको अधिवेशन हुने क्रममै छ । यो अधिवेशनमा धेरै युवा निर्वाचित भएर आएका छन् । गाउँदेखि केन्द्रसम्मको राजनीतिमा बुढापुस्ता हावी भइरहेको आरोप लागिरहेका बेला युवा वर्गले पनि राजनीतिप्रति संलग्नता बढाउँदै गएको पछिल्लो उदाहरण कांग्रेसको अधिवेशन बनेको छ ।

मुलुकमा सीमित संख्यामा भए पनि युवा वर्ग राजनीतिमा संलग्न भएको लामो समय भइसकेको छ । तर पार्टीको नीति निर्णयमा हस्तक्षेप गर्न सक्ने क्षमता राख्ने युवा नेता न्यून छन् ।

अधिवेशन मार्फत दलित, जनजाति लगायतको प्रतिनिधित्व पनि उल्लेख्य रूपमा भएको छ । कांग्रेसको महाधिवेशन अन्तर्गत जारी वडा अधिवेशनको परिणामले नेपालकै ठूलो प्रजातान्त्रिक दलले व्यवहारमा पनि साँच्चिकै प्रजातान्त्रिक व्यवस्था अँगालेको प्रष्ट भएको छ ।

हुन त १३औं महाधिवेशनदेखि कांग्रेस केही उदार बन्दै गएको देखिन्छ । १३औं महाधिवेशनमा सदस्यता वितरणमा अपनाइएको उदारता र प्रतिनिधि प्रणालीमा अपनाइएको समावेशी व्यवस्थाले कांग्रेसलाई क्रमशः उदार बनाउँदै लगेको छ । १४औं महाधिवेशनसम्म आइपुग्दा कांगे्रस थप फराकिलो बन्दै गएको देखिन्छ ।

कांग्रेसले विधान मार्फत नै वडा तहमै महिला, दलित, आदिवासी, खस–आर्य, थारु, मुस्लिम लगायत पिछडिएको क्षेत्रबाट कम्तीमा ६ जना, वडाको जनसंख्याको बनोट अनुसार तोकिए बमोजिममा समानुपातिक आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

यो महाधिवेशनमा देशभरका ६ हजार ७४३ वडाहरू समानुपातिक प्रणालीबाट निर्वाचित हुने ४८ हजार ६६९ कार्यसमिति सदस्य मध्ये ७ हजार ३८५ सदस्य र ४५ हजार ८१० क्षेत्रीय प्रतिनिधिमध्ये ६ हजार ८३३ क्षेत्रीय प्रतिनिधि दलित समुदायबाट हुनेछन् । यो दुवै संख्याले सम्पूर्ण समानुपातिक प्रतिनिधित्वमा दलित समुदायको उपस्थिति १५ प्रतिशत सुनिश्चित गरेको छ ।

कांग्रेसको विधानमा गरिएको व्यवस्था अनुसार १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४ हजार १२५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीबाट चयन हुनेछन् । समानुपातिक प्रतिनिधिमध्ये आदिवासी जनजातिबाट ३० प्रतिशत, मधेशीबाट १४, दलित, १४, थारु ८, मुस्लिम ४ र खस आर्य ३२ प्रतिशत रहनेछन् । कुल प्रतिनिधिमध्ये १ हजार ३०४ महिला प्रतिनिधि हुने व्यवस्था विधानले गरेको छ ।

कांग्रेस महाधिवेशन प्रक्रियामा प्रवेश गर्नु अघिदेखि नै पुस्तान्तरणको बहस भइरहेको छ । त्यो बहसलाई वडा अधिवेशन मार्फत व्यवहारमा उतारेको भान गराएको छ । उमेर पाकेका मात्रै महाधिवेशन प्रतिनिधि बन्ने गरेको नेपाली कांग्रेसको विगत रहेकोमा यो महाधिवेशन मार्फत धेरै युवा प्रतिनिधि बनेर आउने संकेत वडा अधिवेशनले दिएको छ ।

यद्यपि केन्द्रमा भने अझै पनि युवाले नेतृत्वका लागि दाबी गर्ने आँट गरिसकेका छैनन् । लामो समय पार्टीको नेतृत्व गरिसकेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उनीहरूकै उमेर हाराहारीकाले मात्र दाबी गरेका छन् । पार्टी र समग्र मुलुकले नै आशाका साथ हेरेका र आम जनमानसमा लोकप्रिय गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले पनि नेतृत्वको लागि दाबी छैन । यद्यपि उनीहरूले पदाधिकारीमा भने दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता प्रदान गर्ने कार्यविधिमै समावेशितामा निकै जोड दिइएको छ । हुन त कांग्रेसले समावेशिताको सिद्धान्त संस्थापक बीपी कोइरालाकै पालादेखि अवलम्बन गरेको हो ।

कम्युनिष्ट पार्टीले भर्खरै मात्र समावेशीको सिद्धान्त अपनाएका हुन् तर बीपी कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो मन्त्रिमण्डल नै समावेशी थियो । यो तथ्यलाई कसैले नकार्न सक्दैन ।

तर, कालान्तरमा सीमित व्यक्तिको सेरोफेरोमा घुमिरहेको कांग्रेसमा पुनः नयाँ प्रतिनिधिहरू आउनु सकारात्मक मान्न सकिन्छ । कांग्रेसभित्र परम्परागत संरचना र सोच रहेको भ्रम चिर्न यो अधिवेशनले निकै महत्वपूर्ण भूमिका खेलेको छ । शीर्ष तहमा बारम्बार एउटै व्यक्ति दोहोरिने, निजी स्वार्थका लागि राजनीतिलाई प्रयोग गर्ने, सत्ता र शक्तिको खेलमै राजनीति घुमिरहने, भ्रष्टाचार अनियमिततामा रमाउने लगायत कारणले राजनीति र नेताहरूमाथि प्रश्न उठ्ने गरेको छ ।

दल तथा नेताहरूप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको छ । त्यसैले देश र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउन पनि युवा सहितको समावेशी प्रतिनिधित्व आवश्यक छ ।

मुलुकमा सीमित संख्यामा भए पनि युवा वर्ग राजनीतिमा संलग्न भएको लामो समय भइसकेको छ । तर पार्टीको नीति निर्णयमा हस्तक्षेप गर्नसक्ने क्षमता राख्ने युवा नेता न्यून छन् । सैद्धान्तिक रूपमा हस्तक्षेप गर्नसक्ने योग्य युवा, महिला, दलित, जनजाति लगायतको संलग्नता राजनीतिमा बढ्दै गए धुमिल हुँदै गएको राजनीतिको शुद्धीकरणमा पनि मद्दत पुग्छ ।

कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा जति जति प्रतिस्पर्धा हुन्छ त्यसले पार्टीलाई नै गतिशील बनाउँछ । यसले योग्यता र क्षमताको परख गर्ने कला पनि सिकाउँछ । हाम्रोभन्दा राम्रोलाई प्राथमिकता दिने संस्कार यसरी नै विकसित हुने हो । कांग्रेसका आठवटै तहलाई क्रियाशील बनाउन कांग्रेससँग स्पष्ट नीति र कार्यक्रम छैन ।

संरचना बनाएर मात्र पुग्दैन, त्यही अनुरूप जिम्मेवारी दिनु पनि उत्तिकै आवश्यक छ । उनीहरूलाई आम नागरिकले उद्यम गर्न सक्ने वातावरण तयार गरिदिने र पार्टीको संगठनात्मक भूमिकामा पनि उनीहरूलाई सक्रिय तुल्याउने गर्नुपर्छ । सुधार गर्नुपर्ने विषय थुप्रै छन् तर यसपटकको नेपाली कांग्रेसको महाधिवेशन भने ऐतिहासिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?