+
+

तक्मे बुढाको जीवनशैली : सुँगुरको मासु बेस्सरी मनपर्छ, मदिरा पिउनै सक्दिनँ

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ असोज २० गते १३:४४

विल्सनविक्रम राई मौलिक शैलीबाट दर्शकमाझ कमेडी पस्किने हास्य कलाकार हुन् । हास्य टेलिश्रृंखला ‘मेरीबास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा अभिनय गरेका राई अहिले कलाकारितासँगै  निर्देशनमा समेत सक्रिय छन् । मौलिक शैलीको अभिनय कलाका कारण धेरैको रोजाइमा पर्ने उनको दैनिकी, खानपान र जीवनशैली कस्तो छ त ? अनलाइनखबरले उनीसँग यही विषयमा कुराकानी गरेको थियो ।

बिहान कतिबजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

उठ्ने सवालमा मेरो २ प्रकारको नियम हुन्छ । म सुटिङ हुँदा ५ बजे उठिसक्छु । सुटिङ नहुँदा भने मस्तसँग ८ बजेसम्म सुत्ने हो । म सकेसम्म आलर्म लगाउँदिन, कहिलेकाहीँ ढिला सुतियो भने आलर्म त लगाउँछु तर त्यो बज्नभन्दा पहिले उठेर बन्द गरिसकेको हुन्छु ।

उठ्नसाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ कि चलाउनुहुन्न ?

उठ्ने बित्तिकै एक लिटर जति चिसो पानी खान्छु । त्यसपछि शौचालय गएर पेट खाली गराउँछु । त्यसपछि खाली पेट त भर्नै प¥यो । अनि २ गिलास जति मनतातो पानी पिउँछु । म उठ्नासाथ मोबाइल चलाउन्न । हामीले मोबाइल किनेको हो मोबाइलले हामीलाई किनेको होइन भन्ने मान्यता राख्ने भएकोले म नित्यकर्म सकेपछि मात्रै मोबाइल हेर्छु । मोबाइलमा पनि पहिले समाचार हेर्छु, पत्रिका पढ्न छाडिहालियो ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान गर्नुहुन्छ, एक्सरसाइज गर्नुहुन्छ ?

म पूर्ण आस्तिक मान्छे हुँ । तर नियमित पूजापाठ त गर्दिन । तर बिहान उठेर केहीबेर नेपाली वा हिन्दी भजन सुन्छु । भगवानप्रति एकदमै आस्था लाग्छ । योग गर्ने मेरो बानी छैन, तर शारीरिक स्फूर्तिको लागि एक्सरसाइज गर्छु । म धेरै साइक्लिङ पनि गर्छु ।

बिहान नास्ता खानुहुन्छ वा हुन्न ?

म शहरमा बसे पनि मेरो गाउँले खानपिनप्रतिको मोह घटेको छैन । बिहान पानी खाएपछि एक घण्टापछि कागती हालेर चनाको सातु खान्छु । एक गिलास मनतातो पानीमा सातु हालेर खान्छु । त्यसपछि केही फलफूल खान्छु । त्यसको केही घण्टापछि अरू खाजा खान्छु । अरु खाजा आवश्यकता अनुसार हुन्छ । म अत्याधुनिक पाउरोटी जस्ता खानेकुरा खासै मनपराउँदिन । यही सातुमा नै मलाई  आत्मसन्तुष्टि मिल्छ । मुख शरीरको त्यस्तो अंग हो, जसले खाने र फ्याल्ने दुवै गर्छ । खाने खाना र फ्याल्ने वचनलाई आफ्नो वशमा राख्न सकियो भने मान्छे सधैं सफल हुन्छ भन्ने लाग्छ ।

बिहानको खाना कतिबजे खानुहुन्छ ?

मेरो बिहानको खानाको यकिन समय हुँदैन । कुनै दिन त साँझ ६ बजे बिहानको खाना खाएको रेकर्ड छ । सुटिङ छैन वा अरु काम छैन भने १२ बजेभित्र खाना खाइभ्याउँछु । सुटिङमा त पानी परेपछि खाना खान जाम् भन्छन् । बिहानको खाना मेरो यकिन समयमा हुँदैन । त्यति नभए पनि मलाई बिहानको सातुले दिनभरि समस्या हुन दिँदैन ।

कस्तो खाना रुचाउँनुहुन्छ ?

मलाई दालभात तरकारी बेस्सरी मनपर्छ । रायोको साग र सुँगुरको मासु सानैदेखि बेस्सरी मनपर्ने हो मलाई । साग र सुगुरको मासु पाइयो भने त भात पनि टन्नै रुच्छ । तर त्यति हुँदाहुँदै पनि खानाको एक्सिलेटर धेरै नदबाई खाना खाने गर्छु ।

खाना कसले पकाउँछ ? भान्सामा कत्तिको समय बिताउन मन पर्छ ?

म खाना आफैँ पकाउँछु । भाइले पनि मैले पकाको मनपर्छ भन्दिन्छ, त्यति भनेपछि पकाउनै प¥यो । अरूमान्छे अरुले पकाएको मन पराउँछन्, मलाई भने आफैँले पकाएको खाना मन पर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने कुरा के हो ?

सागपात चाँहि कहिलै छुटाउँदिन । सलाद एकदमै धेरै खान्छु । पहिलेपहिले भात बेस्सरी खाइयो । अहिले तरकारी धेरै खानुपर्छ भन्ने ज्ञान भयो र तरकारी धेरै खान थालेँ । अहिले पनि खानामा २ पिसमात्रै भए पनि मासु भए हुन्थ्यो जस्तो लाग्छ । तर मासु पाकेकै छ भने पनि म कहिलेकाहीँ मनलाई नियन्त्रण गरेर खाँदिन । म मंगलबार कहिलै मासु खाँदिन । बुधबार हाट लाग्थ्यो गाउँमा त्यो बेलाको लागि पेट खाली राख्नुपर्छ भनेर पनि हुन सक्छ पहिले नखाएको । अहिले पनि मंगलबार मासु खान्न ।

मदिरापान गर्नुहुन्छ वा हुन्न ?

म मदिरा खानै सक्दिन, यो मेरो खराबै होला बानी । यतिसम्म कि ग्लास नपखालेको प¥यो भने पनि यसले एलर्जी गराउँछ । बच्चामा थाहा नहुँदा त खाइयो होला त्यसपछि त खाएको छैन ।

बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?

मलाई रेस्टुरेन्टको खाना त्यत्ति मीठो लाग्दैन । बरु अरुकै घरमा भए पनि घरमा पकाएको खाना ठीक लाग्छ । मलाई सिलौटामा पिँधेको अचार, हातैले काटेको तरकारी खान मन पर्छ । त्यसमा आत्मीयता हुन्छ भन्ने लाग्छ मलाई । म हातले भात खान रुचाउँछु । कोरियामा खाना खान लाग्दा सिन्का छाडेर हातले खाना खाएको थिएँ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकुलता नमिलेको कुनै क्षण छ ?

यस्तो घटना त हप्ताको दुई दिनजसो भइरहन्छ । सुटिङमा गएपछि भोक लाग्छ, खाना खान पाइँदैन । अनि गोजीमा काजु, बदाम राख्यो कुटुकुटु रोक्यो बस्यो ।

घरको काम कुचो लगाउने, सरसफाई गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैँ गर्नुहुन्छ ?

मलाई भाँडा माज्न धेरै मन पर्छ । लुगा चाहिँ जाँगर चल्दा धुने हो । बेलाबेलामा कपडा धोइरहन्छु । एकैपटक कपडा धुँदा धेरै हुन्छ भनेर धुन पर्ने केही देखेँ भने धोइहाल्छु । तर आफ्नो कपडा चाहिँ आफैँ धुने गर्छु ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?

म त फ्याट्टै रेडी हुने मान्छे हो । कसैले बाहिर निस्की भन्यो भने १० मिनेटमा रेडी भइहाल्छु ।

बाहिर हिँडडुल गर्दा कस्तो लुगाफाटो सहज लाग्छ ?

म धेरै हिँड्न मनपराउने भएकोले ट्राउजर र टिसर्ट लगाउन सजिलो लाग्छ । जुत्तामा स्पोर्ट्स सुज लगाउँछु ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

मसँग एउटा कार र एउटा मोटरसाइकल छ । तर म बढी मोटरसाइकल चढ्छु । म धेरै समय साइक्लिङमा रमाउँछु । तर अलिक लामो यात्राको लागि साइकल सम्भव नहुने हुँदा मोटरसाइकल या कार प्रयोग गर्छु । जतिबेला फुर्सद हुन्छ साइकल लियो कुदिहाल्यो हो । अर्काे कुरा भनेको म हिँड्न साह्रै मनपराउँछु । म एउटा निश्चित ठाउँमा लगेर गाडी राख्छु अनि दिनभर हिँड्ने नै हो । बेलुका फर्किने बेलामा गाडी लिन जाने । म दैनिक १५–२० हजार पाइला हिँडेकै हुन्छु । हिँडेको बेलामा ममा धेरै सिर्जनशीलता बढेको महसुस हुन्छ । शारीरिक र मानसिक रुपमा पनि हिँड्दा आफूलाई प्रिपियर गर्न सकेको महसुस हुन्छ । त्यसैले म हिँड्छु । म धेरै हिँड्छु भनेर साथीहरु मसँग हिँड्नै मन पराउँदैनन् । कति त धेरै हिँड्छ भनेर रिसाइसक्नु भएको छ । तर म हिँड्न छाडेको छैन ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

साँझ जति बजे सुटिङ सकिन्छ त्यतिबेला हो । यसको यकिन समय छैन । सुटिङ त बरु साँझ परेपछि सकिन्थ्यो होला । तर म डिरेक्सन पनि गर्ने भएकोले सुटिङपछि डिरेक्सन सक्काइहालुम् जस्तो लाग्छ र इडिटिङतिर लागिहाल्छु । मैले लिएको जिम्मेवारी बाँकी राख्न मेरो मनले दिँदैन । त्यसैले पूरा काम सक्काउँदा त कहिले त बिहानको ४ पनि बजिसकेको हुन्छ ।

रातिको खाना कतिबजे खानुहुन्छ ?

खाना कति बेला हुन्छ भन्ने यकिन नहुने भएकोले घरबाट जाने बेलामा झोलामा फलफूल वा अन्य खानेकुराहरु बोकेर हिँडिन्छ । सुटिङ भएन भने साढे ८ देखि ९ बजेको बीचमा हुन्छ खाना ।

रातको खानामा के के हुन्छ रु कस्तो खाना रुचाउनुहुन्छ ?

बेलुकाको खानामा म भात खान्न । रोटी पनि बनायो भने खाने बेलाको ठेगान नहुने भएकोले रोटी ढुंगा जस्तै हुन्छ । त्यसैले म रोटी खान्न । सब्जी, फलफूल र दालहरू मात्रै खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

म अरु समयमा त १०¬११ बजेभित्र सुतिहाल्छु । सुत्नुभन्दा आधा घण्टा पहिले मोबाइललाई सुताउँछु । अनि आफू सुत्छु ।

 

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?