+
+

भैरहवा क्वालिफायरमा, काठमाडौं किंग्स ११ बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:३९

२० असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १६ रनले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

भैरहवाले अब फाइनल प्रवेशका लागि बिहीबार पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ र यस खेलको विजेताले शनिबार चितवन टाइगर्ससँग फाइनल खेल्नेछ ।

अशन प्रिएनजनको अर्धशतकका बाबजुद पनि भैरहवा ग्लाडिएटर्सले दिएको १८९ रनको उच्च लक्ष्य पछ्याएको काठमाडौंले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । यस हारपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं बाहिरिएको छ ।

काठमाडौंका लागि ओपनिङ गरेका अशन प्रिएनजनले सर्वाधिक ६८ रन बनाए । ४८ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका उनी १७ औं ओभरको चौथो बलमा धम्मिका प्रसादबाट बोल्ड भए ।

जनक प्रकाशले १४ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा २८ रन बनाए । अमित श्रेष्ठले १९, दिनेश अधिकारीले १५ र राजु रिजालले १० रन जोडे । अमर राउटेला र कप्तान सन्दीप लामिछाने समान ५ रन बनाएर आउट भए भने राएन बर्लले खाता खोल्न सकेनन् । शेर मल्ल र गुल्शन झा १–१ रनमा अविजित रहे ।

बलिङमा भैरहवाका  धम्मिका प्रसाद,  कुशल मल्ल र आरिफ शेखले २–२ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।

त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले २० बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । छिटो अर्धशतक नजिक पुगेका शरद लामो सट खेल्ने चक्करमा अन्तिम ओभरमा सन्दीपको बलमा अमर राउटेलबाट क्याचआउट भए । शरदले पाँचौं विकेटका लागि कुशल मल्लसँग ६१ रनको साझेदारी गरे ।

यस्तै प्रदीप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । आरिफ शेखले १५ रन जोडे । सन्दीप लामिछानेले बलिङ गरेको अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ३ रन जोडेको थियो ।

काठमाडौंका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र अशन प्रिएनजनले २ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?