+
+

पौडेल समूहको सकस : देउवाले दिए दुई मन्त्री, शीर्ष नेताले लिए चार नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते २२:५७

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा मन्त्री छान्न सकस परेको छ । आकांक्षीहरुको व्यवस्थापन कठिन भएपछि यो समूहले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर तीन मन्त्री मागेको छ ।

चार दलको भागवण्डामा कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाएको छ, जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । बाँकी ५ मन्त्रीमध्ये दुई वटा पौडेल समूह र एउटा कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा नियुक्त गर्न सभापति देउवाको प्रस्ताव छ । सकेसम्म भोलि बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका उनले दुबै समूहलाई नाम मागेका छन् ।

तर पौडेल समूहमा सहमति जुटेको छैन । बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा महामन्त्री शशांक कोइरालाले दिलेन्द्र बडू र डा. मिनेन्द्र रिजालको नाम प्रस्ताव गरेका छन् । वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र पूर्व महामन्त्री प्रकाशमान सिंहले राजन केसीको नाम लिएका छन् ।

कसलाई सरकारमा पठाउने भन्ने सहमति नभएपछि पौडेल समूहले नाम दिएन । बरु अपराह्न पार्टी सभापति देउवालाई भेटेर तीन मन्त्री आफ्नो समूहले पाउने पर्ने माग राखेको छ ।

पार्टी क्रियाशील सदस्यता र मन्त्री भागवण्डाबारे छलफल गर्न पौडेल समूहका नेताहरु बालुवाटार पुगेका थिए । भेटमा पौडेल समूहका नेताहरुले पार्टीले पाएको ८ मध्ये तीन मन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए ।

तर देउवाले दुई जना भन्दा बढीलाई मन्त्री बनाउन नसकिने बताएका छन् । दुई मन्त्री मात्र दिने बताएपछि पौडेल समूहले नाम नै दिएन । ‘हामीले तीन मन्त्री चाहिन्छ भन्यौं, उहाँले दुईभन्दा दिन सक्दिनँ भन्नुभयो । हामी उठ्यौं,’ एक नेताले भने ।

हाल कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ देउवा समूहका हुन् ।

नेताहरुका अनुसार देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्री दिने बताएका छन् । यो समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरु बताउँछन् । देउवा समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने सम्भावना छ । प्रधानमन्त्री देउवाले एक मन्त्रालय भने आफैंसँग राख्ने देखिएको कांग्रेस नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?