+
+

कांग्रेसको ‘दोषी चश्मा’

मनिकर कार्की मनिकर कार्की
२०७८ असोज २१ गते ९:३८

दलको ‘वैधानिकता’ माथि नै प्रश्न उठ्ने अवस्था आएपछि देशको दोस्रो ठूलो अनि वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पार्टीको १४आंै महाधिवेशनको मिति तय गरेको छ । अहिले पार्टीको तहगत अधिवेशनहरू जारी राखेको छ । यो पङ्क्ति तयार पार्दैगर्दा नेपाली कांग्रेसको देशव्यापी जिल्ला अधिवेशनहरू चलिरहेका छन् । एकाधबाहेक अधिकांश जिल्लामा वडा तथा स्थानीय तह अधिवेशन सम्पन्न भइसकेका छन् । वडा हुँदै, स्थानीय तह तथा निर्वाचन क्षेत्रस्तरीय अधिवेशनहरू सम्पन्न भएका छन् ।

कांग्रेसले आगामी कात्तिक १०-१२ मा प्रदेश अधिवेशन तथा मंसीर ९-१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी महाधिवेशनको चटारोले गत निर्वाचनयता मूर्झाएको कांग्रेस तात्न थालेको छ । तर, अधिवेशनकै कारण आन्तरिक पार्टी जीवनमा देखापरेको सीमित क्रियाशीलताले विगतको निर्वाचनमा गुमेको राजनीतिक विरासत फिर्ता होला ? यो भने भविष्यकै गर्तमा छ ।

इतिहासको ब्याज

नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्य के हो ? सम्भवतः सबैले स्वीकार गर्ने तथ्य भन्छ- ‘नेपाली कांग्रेस इतिहासको ब्याजले धानिएको पार्टी हो ।’ २०७४ को निर्वाचनबाट खुम्चिएको कांग्रेसले दुई वर्षअघि गाउँ-शहरमा आफ्नो विरासत फर्काउने र तत्कालीन नेकपाको दुईतिहाइ बहुमतवाला सरकारलाई चक्मा खुवाइदिने भन्दै एकमहीने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्‍यो ।

हिमाल, पहाड, तराई, मधेशमा संगठन क्रियाशील बनाउने उद्देश्य राखिएको उक्त जागरण अभियानले सुषुप्त अवस्थामा रहेको कांग्रेस त जाग्यो, तर त्यो जागरणले भने भुईं तहसम्म केन्द्रीय विवाद र असन्तुष्टिको बीजारोपण गरिदियो ।

गएको तीन वर्ष कांग्रेस न त सदनमा देखियो, न त सडकमै, न त कांग्रेस जनताको घरघरमा पुग्यो । बस, कांग्रेस आफ्नै छायाँले छेलियो । आफ्नै किचलो र कलहमा अल्मलियो । घरझगडामै अल्झि‍यो । अहिले सरकारको नेतृत्व गरिरहँदा समेत नेपाली कांग्रेस जनताले देखिने गरी गाउँघरमा पुग्न सकेको छैन । जसरी दुई वर्षअघिको जागरण अभियानमा केन्द्रीय नेताहरू आ-आफ्ना स्वार्थ समूह, गुट उपगुटलाई बलियो बनाउँदै कार्यकर्तामाझ व्यक्तिगत आक्षेपको हदसम्म उत्रिएका थिए, भर्खरै सम्पन्न कांग्रेसको स्थानीय पार्टी गतिविधिमा पनि त्यही चरित्र देखा पर्‍यो ।

सडकमा शून्य उपस्थिति भएको नेपाली कांग्रेस सदनमा केवल औपचारिक प्रतिपक्षीको बेञ्चमै सीमित थियो । अहिले सरकारमा हुँदा समेत कहींकतै दृष्टिगोचर भएको छैन । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिकी बालुवाटार-सिंहदरबारको फेरो लगाउनमै सीमित छ । यसो आक्कलझुक्कल सानेपा अनि शीतलनिवास पुगे पनि उनको एकलव्य दृष्टि भने पार्टीको महाधिवेशनबाट कसरी नेतृत्व हत्याउने ? भन्नेमै छ ।

कांग्रेसजनमा यदि आँट, साहस, हिम्मत अनि दूरदर्शिता हुँदो हो त, आजको दिनमा पनि कांग्रेसी समाजवाद, त्यही ‘एक हल गोरु, एकमेलो जमीन, एउटा दुहुनो गाई अनि करेसाबारी’कै मानकमा खुम्चिने थिएन

कांग्रेसले प्रतिपक्षमा रहँदा केवल सरकारमा नहुनुको कुण्ठा मात्रै अभिव्यक्त गर्दथ्यो भने सरकारमा हुँदा चैं कानमा तेल हालेर बसेको अनुभूति हुँदैछ । केही तन्नेरी कांग्रेसजनलाई छाड्ने हो भने समग्र पार्टीमा नयाँ सोच, विचार, दृष्टिकोण र केही गर्ने हुटहुटी सकिएको छ । त्यसैले कांग्रेस औपचारिक रूपमा पुरानो ब्राण्डमा खुम्चिंदैछ ।
पार्टी इतिहासको ब्याजले धानिएको छ भने बीपीको ‘निर्वाहमुखी’ समाजवादको मानक नै विचारको प्राण धान्ने त्यान्द्रो बनेको छ । कांग्रेसजनमा यदि आँट, साहस, हिम्मत अनि दूरदर्शिता हुँदो हो त, आजको दिनमा पनि कांग्रेसी समाजवाद, त्यही ‘एक हल गोरु, एकमेलो जमीन, एउटा दुहुनो गाई अनि करेसाबारी’कै मानकमा खुम्चिने थिएन ।

कांग्रेसले समग्रमा इतिहासको ब्याज खाने बाहेक कुनै पनि हिसाबले विकल्प प्रस्तुत गरेन, गर्न सकेन । झन् नेतृत्वको रुग्णता बढ्दो छ । बूढो रुख मक्किए झैं कांग्रेसको संगठनात्मक अवस्था पनि मक्किंदै गएको छ । कांग्रेस आफैं गतिशील हुन नसक्दा समस्यामा परेको छ । यद्यपि हिजोको बलशाली इतिहास र एउटा पुस्ताले आस्थाकै आधारमा ‘कांग्रेस’ को झण्डा समातेकाले जनमत भने पाइनैरहेको छ ।

नेतृत्वको ‘दोषी चश्मा’

पार्टी संगठनलाई क्रियाशील बनाउने विचारले हो । समाजको अन्तरविरोध के हो ? विश्वको अर्थ-राजनीतिमा आएको कम्पनले समाजलाई कस्तो प्रभाव पार्छ ? हाम्रा आजका आवश्यकता र चुनौती के हुन् ? ती चुनौती सामना गर्दै अपेक्षित दिशातर्फको परिवर्तन कसरी हुन्छ ? आगामी १० या २० वर्षमा मुलुकलाई कहाँ पुर्‍याउने ? हाम्रो हैसियत कस्तो बनाउने ? अवस्था कसरी फेर्ने ?

यी र यस्तै कल्पनाशील तर अनिवार्य सवालहरूमा नेपाली कांग्रेसको नेतृत्व अनभिज्ञ मात्र हैन, निकै अल्छी छ । त्यसैले आजको समाजको वस्तुनिष्ठ व्याख्या र आगामी मार्ग पहिचानको सवालमा कांग्रेसी नेतृत्वको ‘दोषी चश्मा’ ले केही ठम्याउन सकेको देखिंदैन ।

कांग्रेसमा विगत थियो, त्यो विगतले वर्तमान धानिएको छ तर, नयाँ पुस्तासहित सचेतन युवाहरूका लागि भने ‘भविष्य’ देखा पर्दैन । दललाई क्रियाशील बनाउने उसको विचार, नीति र कार्यक्रमले नै हो । तर, नेपाली कांग्रेसले वैचारिक रूपमा आफूलाई नवीकरण गर्न सकेको छैन ।

केही सीमित नेताहरूको प्रयत्नलाई छाड्ने हो भने नेपाली कांग्रेसको नेतृत्वले युगसुहाउँदो राजनीतिक विचार प्रतिपादन गर्नै सकेन । त्यसैले नेतृत्वमा देखिएको वैचारिक संकट नै कांग्रेसको मुख्य समस्या भयो । नत्र लोकतन्त्र प्राप्तिको आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको सबैभन्दा पुरानो र स्थापित पार्टीले सिर्जना गर्ने राजनीतिक माहोल यति निम्छरो अनि व्यक्ति र गुटकेन्दि्रत हुने थिएन ।

विचारको खडेरी

नेपाली कांग्रेसको वैचारिक पक्ष बुझ्न पछिल्लो महासमिति बैठकको दस्तावेज नियाले काफी हुन्छ । २००७ साल यताको राजनीतिक पाठ्यक्रम जस्तो लाग्ने दस्तावेजले कुनै आकर्षण त पैदा गर्दैन नै, यसले भोलिको राजनीतिक भविष्य र परिवर्तित गन्तव्यको बारेमा पनि कुनै दिशाबोध गर्न सकेको छैन । खासमा इतिहासको व्याख्यामै रुमल्लिएको छ, कांग्रेसको दस्तावेज ।

नेताहरूको अभिव्यक्ति सुन्दा, विचार पढ्दा अनि कथनहरू नियाल्दा, लाग्छ कांग्रेसलाई विचार निर्माण गर्नु नै छैन । बस, आफूलाई दूबोकै स्वरूप ठान्ने कांग्रेसले यो बुझ्नुपर्छ कि- दूबोले फल र शीतलता केही पनि दिंदैन । जब पार्टीको वैचारिक पक्ष रुमल्लिन्छ भने त्यसले सही र सान्दर्भिक नीति कार्यक्रम निर्माण गर्ने प्रश्नै आउँदैन । शायद कांग्रेस अकर्मण्यताको कारण पनि यही हो ।

नेपाली कांग्रेसको महासमिति बैठकले पारित गरेको दस्तावेजमा उल्लेख छ -‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नेपाली कांग्रेसकै नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, मिश्रति निर्वाचन प्रणाली, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धिहरूलाई संस्थागत र सुदृढीकरण गर्नु नेपाली कांग्रेसको आजको मूल जिम्मेवारी हो ।’

यो पछिल्लो राजनीतिक परिवर्तनको सार हो । यसको सैद्धान्तिक पक्षलाई कसैले नकार्न सक्दैन । तर, मुख्य कुरा यसको व्यावहारिक पक्ष र आम नागरिकले यी राजनीतिक उपलब्धिलाई व्यवहारमा कसरी अनुभूति गर्ने भन्ने नै हो । अब खाँचो यिनै उपलब्धिको कार्यक्रमिक रूपान्तरण हो । एकातिर कांग्रेस वैचारिक अलमलमै रुमल्लियो भने अर्कोतिर नेताहरू संगठन निर्माणमा भन्दा समूह, गुट र उपगुटको व्यवस्थापनमै अल्मल्लिए । पछिल्ला स्थानीय अधिवेशनहरूमा पनि त्यसैको झल्को देखिन्छ ।

अलमलमा नयाँ पुस्ता

नेपाली कांग्रेसको जारी स्थानीय अधिवेशनहरूको नतिजा हेर्दा १७ वर्षीय युवादेखि ८४ वर्षीय वृद्धसम्मले पार्टीको आन्तरिक चुनाव जितेका छन् । स्थानीय तहहरूमा सम्पन्न पार्टी प्रतिनिधि निर्वाचनमा युवा पुस्ताको पनि उल्लेख्य सहभागिता देखियो, जुन निकै सकारात्मक छ । तर, नेपाली कांग्रेसको विरासत अनि पार्टी राजनीतिको फम्र्याटले नयाँ पुस्तालाई अगाडि बढ्न उतिसारो प्रेरित गरेको देखिंदैन । विचारको शून्यता र नेतृत्वको अकर्मण्यताबीच नयाँ पुस्तालाई समाज बदल्ने अभिभारा बोकेर कांग्रेसमा राजनीति गर्न सहज पक्कै पनि हुनेछैन ।

भर्खरै मात्र स्थानीय प्रतिनिधि निर्वाचित एक कांग्रेसी युवाले आफ्नो अनुभव सुनाउँदै थिए- ‘यो विरासतको राजनीतिले कहीं पनि पुर्‍याउँदैन । कांग्रेसमा नयाँ पुस्तालाई आकर्षित गर्ने विचार र दृष्टिकोण छैन । पुरानो पुस्ताले राजनीतिलाई बैंकमा राखेको मुद्दती निक्षेप जस्तो बनाइदिए ।’

त्यसो त नेपाली कांग्रेसको राजनीतिक गतिविधि केवल चुनाव केन्द्रित मात्रै हुने गरेका छन् । जब चुनावको घोषणा हुन्छ, चुनावी दुई महीना कांग्रेस तात्छ । अनि चुनावी परिणाम आएपछि तातेको कांग्रेस सेलाउँछ र चार वर्ष हराउँछ । नागरिकको कथन छ- ‘कांग्रेस देख्न चुनाव आउनुपर्छ ।’

चुनावी परिणामबाट थला परेको कांग्रेसले यसपटक त सशक्त प्रतिपक्षी भूमिका पनि निर्वाह गर्न सकेन । इतिहासमा प्रमुख प्रतिपक्षी दलबाट सबैभन्दा बढी सुविधा पाउने सरकारमा केपी शर्मा ओली नेतृत्वको सरकार नै बन्न पुग्यो ।

प्रतिपक्षमा बस्दा त आफैं सुतेको कांग्रेसले सरकारमा गएपछि झन् केही लछारपाटो लगाउने छाँट देखिएको छैन । युवा पुस्तालाई राजनीति सिकाउने कांग्रेसको आंगिक एवम् भ्रातृ संगठनहरूको अवस्था पनि दुरह नै छ । नेविसंघ विघटनको अवस्थामा छ ।

कांग्रेसको ऊर्जाशील संगठनको रूपमा चिनिएको तरुण दल केही व्यक्तिको कम्पनी बनेको छ । त्यस्तै अन्य भ्रातृ संगठनमा पनि अधिवेशन नभएको वर्षौंदेखि भएको छ । त्यसैले नेतृत्व तहमा पुगेका पाँच दशक आसपासका युवाहरू पनि अलमल र दिशाविहीन अवस्थामै देखिन्छन् ।

पार्टी महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले गत असोज पहिलो साता एक दैनिकमा अन्तर्वार्ता दिंदै भनेका थिए- ‘सुन्दरीजलको जेलमा बीपीलाई राखिएको माटो ढोगेर बीपीले रोपेको कपुरको रूखमा पानी हालें । त्यसपछि रुद्राक्षको बिरुवा रोपें र पूजा गरेर उम्मेदवारी घोषणा गरें ।’

ठीकै छ, भावनात्मक रूपमा त उनको भनाइ सही नै होला तर, समाजको विद्यमान अन्तरविरोध र त्यसको समाधानलाई उकेरा लाउनुपर्ने सम्भावित नेतृत्वको यो शास्त्रीय सोच र शैलीले भने सम्भावनाको उजागर गर्दैन । तथापि उनले आफूले ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुईपटक तथा मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने विषयलाई प्राथमिकता दिएको’ बताएका छन् । यी र यस्तै व्यवहारबाट पुष्टि हुन्छ कि सम्भावना बोकेका भनिएका कांग्रेसी युवाहरू विचार, एजेन्डा र समाजको समस्या पहिचान गर्ने सवालमा अलमलमै छन् ।

पार्टी अधिवेशनको सन्देश

वैचारिक अस्पष्टता, नेतृत्वको अलोकतान्त्रिक व्यवहार, असहिष्णु आचरण, कार्यक्रमिक विरोधाभास र विगतमा लोकतान्त्रिक संस्थाहरूलाई सबल बनाउन नसक्नुको प्रतिफलका कारण कांग्रेस थप कमजोर हुँदै गएको छ । कांग्रेसको पार्टी जीवनबाट ‘इतिहास’ हटाइदिने हो भने आज कांग्रेसले आफ्नो विशिष्ट पहिचान नै स्थापित गर्न सक्दैन । यही आन्तरिक कमजोरीलाई सच्याउँदै पार्टीको लोकतन्त्रीकरण अनि वैधानिकीकरणका लागि नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ ।

देशभरका स्थानीय तहहरूमा जारी कांग्रेसको पार्टी अधिवेशनको स्पष्ट सन्देश छ- ‘पार्टीको धरातल बलियै छ, बस् त्यो धरातलमा नयाँ विचार, दृष्टिकोण, कार्यक्रम र समाज बदल्ने नयाँ मार्गचित्रको बीजारोपण हुनुपर्छ । नेतृत्व तहमा देखिएको गुटगत मानसिकता र विचारविहीनताको अन्त्य हुनुपर्छ । नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । नयाँ पुस्ता सिर्जनशील भएर सक्रिय राजनीतिमा अग्रसर हुनुपर्छ ।’

तर, यी अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले नयाँ युगको नयाँ लोकतन्त्रको मार्गप्रशस्त गर्ला र आजको २१औं शताब्दीको ज्ञान, विज्ञान र चेतनाको युगमा समावेशी, समानुपातिक र प्रत्यक्ष लोकतन्त्रको वकालत गर्दै आफ्ना पुराना र असान्दर्भिक मान्यताहरूलाई परिवर्तन गर्नेमा भने उतिसारो आशा गर्ने ठाउँ छैन । कांग्रेसलाई यदि कसैले रोक्छ भने त्यो उसको आफ्नै विरासत हो । नेतृत्वमा कहिल्यै नफेरिने काँचुली हो ।

प्रजातन्त्र, लोकतन्त्र प्राप्तिको आन्दोलनमा इतिहास रचेको मौजुदा अवस्थाको देशकै पुरानो पार्टी विचार, नेतृत्व र कार्यक्रमका हिसाबले रुग्ण बन्दै गएको छ । महाधिवेशनमा होमिएको पार्टीले त्यो विचार, सिद्धान्त अनि नेतृत्वमा देखापरेको रुग्णतालाई चिर्दै काँचुली फेर्न सक्ला ?

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?