+
+

भाजपाको निमन्त्रणामा कांग्रेसको टोली भारत प्रस्थान

रासस रासस
२०७८ असोज २१ गते ११:५२

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको एक टोली भारतीय जनाता पार्टी (भाजपा)को निमन्त्रणामा भारत प्रस्थान गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो ।

टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदय शम्शेर राणा रहेका छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

उनले भने, “केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुर्‍याउने छ ।”

यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उनले बताए ।

नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पुर्‍याउन पनि मद्दत पुग्ने उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?