+
+

ड्रोनबाट गाउँगाउँमा खोप पुर्‍याउँदैछ भारत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:४१

२१ असोज, काठमाडौं । भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन सुरु गरेको छ ।

भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् ।

भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । यद्यपि विशेषज्ञहरुले भने भारतले आफ्नो लक्ष्य पूरा गर्न आफ्नो खोप अभियानलाई थप तीव्रता दिनुपर्ने बताएका छन् ।

अहिलेसम्म भारतले ९२ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाइसकेको छ । भारतले मुलुकमा तीन कोरोना खोपलाई अनुमति दिएको छ । आधिकारिक तथ्यांकअनुसार भारतमा करिब ७० प्रतिशत योग्य जनसंख्याले कम्तीमा एक डोज कोरोना खोप लगाइसकेका छन् ।

भारतमा अहिलेसम्म तीन करोड ३० लाख कोरोना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या चार लाख ४० हजारभन्दा धेरै छ । सोमबार भारतले मणिपुरमा पहिलोपटक ड्रोनबाट खोप पुर्‍याउने कामको परीक्षण गरेको हो ।

परीक्षणको क्रममा विष्णुपुरबाट लोक्टाकको काराङ्गमा १० डोज कोरोना खोप पठाइएको हो । ड्रोनले केवल १२ मिनेटमा खोप उक्त स्थानमा पुर्‍याएको थियो । जबकी डुङ्गा र सडकबाट जाँदा यहाँ पुग्न चार घण्टाभन्दा धेरै समय लाग्थ्यो । यहाँ ३५ सय मानिसको बसोबास छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का प्रमुख वैज्ञानिक पाण्डाका अनुसार परीक्षण सफल भएको छ र उक्त टापुका १० मानिसले कोरोना खोप लगाएका छन् ।

भारतको मणिपुर र नागाल्याण्डजस्ता राज्यका विकट गाउँमा ड्रोनको प्रयोग खोप पुर्‍याउनका लागि निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ । यहाँका गाउँहरुमा पनि खोप पुर्‍याउन १२ घण्टासम्म समय लाग्ने गरेको छ ।

त्यस्तै अन्डामास र निकोबारको पूर्वीक्षेत्रमा कोरोना खोप पुर्‍याउनका लागि पनि ड्रोनको प्रयोग महत्वपूर्ण हुन सक्छ । यो क्षेत्रमा डुङ्गाबाट खोप पुर्‍याउनुपर्ने बाध्यता छ ।

अहिले भारतको सरकारले ४.५ किलो भार बोक्न सक्ने ड्रोनको प्रयोग गरिरहेको छ । जसको ९०० डोज कोरोना खोप बोक्न सक्छ र कम्तीमा ७० किलोमिटरटाढासम्म उड्न सक्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?