+
+

अमेरिकाको टेक्सासमा न्यायाधीशले रोकिदिए गर्भपतनविरुद्धको कानुन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:५४

२१ असोज, काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा एक न्यायाधीशले गर्भपतनविरुद्धको कानुन कार्यान्वयनमा आंशिक रोक लगाएका छन् ।

टेक्सासमा गर्भपतनविरुद्धको कानुनको व्यापक विरोध भएसँगै न्यायाधीश रोबर्ट पिटमनले यो कानुन कार्यान्वयनमा तत्कालको लागि रोक लगाउन बाइडन प्रशासनले गरेको आग्रहलाई अनुमति दिएको हो ।

अहिले टेक्सासमा यो कानुन रिपब्लिकन सांसदहरुले पारित गरिसकेका छन् । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आंशिकरुपमा यसमा रोक लगाउने निर्णयको प्रशंसा गरेको छ । महिलाको संवैधानिक अधिकारको रक्षाको लागि यो कदम आवश्यक रहेको ह्वाइट हाउसले बताएको छ ।

न्यायाधीशले यस विषयमा ११३ पृष्ठको राय दिएका छन् । उनले सेप्टेम्बर १ देखि लागू भएको यो कानुनले महिलालाई आफ्नो निर्णय आफैं गर्नबाट रोकेको र यो उनीहरुको संवैधानिक अधिकार भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अन्य अदालतले यसलाई बेवास्ता गर्न सक्छन् तर अब यो अदालतले एक दिन पनि महिलालाई उनीहरुको अधिकारबाट बञ्चित गर्न सक्दैन ।’

नयाँ कानुनअनुसार महिलाले गर्भ रहेको ६ सातापछि गर्भपतन गराउन पाउँदैनन् । मेडिकल अधिकारीहरुका अनुसार यो अवधिमा महिला आफैंलाई पनि धेरै महिलालाई आफू गर्भवती भए÷नभएको थाहा नहुने बताउँछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यो कानुनलाई महिलाको अधिकारमाथि ‘अहिलेसम्मकै ठूलो आक्रमण’ भएको बताएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले भने यो कानुनको समर्थन गर्दै ‘सबैभन्दा ठूलो स्वतन्त्रता जिन्दगी हुने’ बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?