+
+

झाडापखाला फैलिएको कपिलवस्तुमा स्वास्थ्य मन्त्रालयले पठायो तीन जनाको टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १७:२५

२१ असोज, काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ ।

महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित चिकित्सकको टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा परिचालित भएको डा. पौडेलको भनाइ छ ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । ‘कृष्णनगरको वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा गरी ३७० जना मानिस बिरामी परेको रिपोर्ट हामीले पाएका छौं । जसमध्ये २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचाररत मध्ये ३२ जनालाई तौलीहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ’ उनले भने ।

प्रकोप फैलिएको ठाउँमा थप सजगता अपनाउन र पानी उमालेर मात्रै पिउन माइकिङ गरेर अनुरोध गरेको प्रवक्ता डा. पौडेलले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालयको आपसी समन्वयमा औषधि तथा जनशक्ति परिचालन गरी झाडापखला नियन्त्रणका लागि प्रयास भइरहेको उनले बताए ।

मन्त्रालयले पठायो ५० हजार ट्याब्लेट क्लोरिन

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार पानी शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन पठाइएको छ ।

प्रभावित क्षेत्रमा उमालेर मात्र पानी पिउन सर्वसाधरणलाई अनुरोध गर्ने, पानीजन्य प्रकोपबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउने लगायतका प्रयास भइरहेको उनले बताए ।

नगरपालिकामार्फत वडा–वडामा पानी उमालेर मात्रै पिउनका लागि चेतनामूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिएको उनले बताए ।

कसरी फैलियो प्रकोप ?

पिउने पानी सप्लाइका लागि बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।

प्रवक्ता डा. पौडेलले भने, ‘पानीको पाइप फुटेको ठाउँबाट प्रदूषित पानी सर्वसाधरणको घरघरमा पुग्दा संक्रमण फैलिएको हो कि भन्ने आशंका छ । त्यसैले सो ठाउँको पानी र बिरामीको दिसाको नमुना प्रयोगशालामा परीक्षण भइरहेको छ ।’

पानी र दिसाको नमुना जाँचको रिपोर्ट आएपछि मात्रै रोगको प्रकोपबारे पुष्टि हुने उनले बताए । त्यहाँ फैलिएको प्रकोप हैजा हो कि हैन भनेर पुष्टि नमुना जाँचको रिपोर्ट आएपछि मात्रै हुने उनको भनाइ छ ।

मन्त्रालय के गर्दैछ ?

मन्त्रालयका प्रवक्ता डा. पौडेलले बिरामी भइसकेका व्यक्तिहरुको उपचारलाई पहिलो प्राथमिकतामा राखेर प्रकोप नियन्त्रणको प्रयास भइरहेको बताए ।

बिरामीको उपचारका साथ–साथै प्रकोपबारे अध्ययन गर्ने कार्यलाई पनि तीव्रता दिइने उनले बताए । प्रारम्भिक रिपोर्ट अनुसार प्रदूषित पानीकै कारण संक्रमण फैलिएको देखिएको छ ।

पानी कसरी प्रदूषित हुन पुग्यो ? कुन किटाणुले संक्रमण फैलाएको हो ? शुरुमा कुन ठाउँमा कसलाई भएको हो ? अरु व्यक्तिहरुमा कसरी पुग्यो ? भन्नेबारे मन्त्रालयले अध्ययन गरिरहेको छ,’ डा. पौडेलले भने, ‘यसका लागि ५ जना बिरामीको दिसाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?