+
+

शिभम र लकी चम्केपछि कोलकाताको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ७:४५

२२ असोज, काठमाडौं । शिभम मावी र लकी फर्गुसनले उत्कृष्ट बलिङ गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा राजस्थान रोयल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

शारजहाँमा कोलकाताले दिएको १७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । कोलकाताको जितमा मावीले ४ तथा फर्गुसनले ३ विकेट लिए ।

शानदार जितपछि कोलकाताले शीर्ष चारमा रहेर प्लेअफ खेल्ने लगभग पक्कापक्की भएको छ । १४ खेल खेलिसकेको कोलकाता १४ अंकसहित चौथो स्थानमा छ । कोलकाता नेट रनरेटमा समेत राम्रो रहेकोले शुक्रबार हुने खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदरावाद विरुद्धको खेलमा अप्रत्यासित नतिजा निकालेमा मात्र कोलकातालाई रोक्न सक्नेछ । कोलकाताको रनरेट ०.५८७ छ । मुम्बइको नेटरनरेट माइनस रहेकाले पनि त्यो सम्भावना कम छ । मुम्बइको रनरेट माइनस ०.०४८ छ ।

पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेको राजस्थानले कुनै पनि समय सम्हालिन सकेन । सुरुको चार ओभरमै ४ विकेट गुमाएपछि राजस्थानको इनिङ्स धरासायी भएको थियो । राहुल तेवाटियाले एक छेउबाट इनिङ्स सम्हाले पनि उनको प्रयास काम लागेन। तेवाटियाले ३६ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए ।

यस्तै शिबम दुवेले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् भने तीन खेलाडी खाता नखोली आउट भए ।

राजस्थानलाई अलआउट गर्न कोलकाताका मावीले ३.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । फर्गुसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । शकिब अल हशन र वरुण चक्रवर्तीले समान १ विकेट लिए । शकिबले खेलको पहिलो ओभर मात्रै बलिङ गर्दा जम्मा १ रन खर्चेका थिए । यस्तै चक्रवर्तीले ४ ओभरमा १४ रन मात्र खर्चिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । कोलकाताका शुबमन गिलले ४४ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै बेनकाटेश अयरले ३५ बलमा ३८, राहुल त्रिपाटीले १४ बलमा २१ र नितिश रानाले ५ बलमा १२ रन जोडे । विकेटकिपर दिनेश कार्तिक १४ र कप्तान आयन मोर्गन १३ रनमा अविजित रहे ।

राजस्थानका क्रिस मोरिस, चेतन साकारिया, राहुल तेवाटिया र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

कोलकाताको जितपछि राजस्थानसँगै पञ्जाब किंग्स भने बाहिरिएको छ । बिहीबार पहिलो खेलमा चेन्नाईलाई ६ विकेटले पराजित गरेको पञ्जाब १४ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा छ । राजस्थान १४ खेलबाट १२ अंकसहित सातौं स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?