+
+

होटेल व्यवसायीको सुझाव : राजमार्ग क्षेत्रको असुरक्षित खाना नखानुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते ११:२४

२४ असोज, काठमाडौं । यात्रुले राजमार्गमा यात्राका क्रममा खाना खाएपछि अस्वस्थ हुने र शुल्क भने महंगो तिर्नुपर्ने समाचार हरेक वर्ष दोहोरिन्छ । यस्तो समाचार हरेक वर्ष दोहोरिन थालेपछि आतिथ्य सेवामा देशव्यापी चेन बिस्तार गरिरहेको सिद्धार्थ समूहले चितवनको चुम्लिङटारमा पनि आउटलेट खोल्यो । ‘सेवा शुल्क र भ्याटबाहेक हाम्रो र राजमार्गका अन्य सामान्य होटेलको मूल्यमा ठूलो फरक छैन,’ सिद्धार्थ समूहका प्रवन्ध निर्देशक कृष्ण न्यौपानेले भन्छन्, ‘कम्तिमा हामीले गुणस्तरमा सम्झौता त गर्न मिल्दैन ।’

न्यौपानेका अनुसार सार्वजनिक यातायातले सिधै लगेर रोक्ने होटेलमा संचालक र सवारी चालकबीच अग्रिम सम्झौता भएको हुन्छ । होटेल व्यवसायीले चालकलाई कमिसन पनि बुझाउनु पर्छ । जसले गर्दा गुणस्तरहीन खाना भएपनि मूल्य चर्को लिने गर्छन् । राजमार्गका होटेलमा देखिने यो विकृति अझै रहेको बताउँछन्, होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठ । ‘पहिला भन्दा सुधार पक्कै भएको छ’, उनी भन्छन्, ‘तर, जसरी सोचिएको छ, त्यस्तो छैन ।’

निजी सवारीमा जाँदा सहज, सार्वजनिक सवारीमा उस्तै सास्ती

यात्राका क्रममा सम्भव भएसम्म एक छाकका लागि साथमै खानेकुरा बोक्दा सुरक्षित हुन्छ

राजमार्गमा निजी सवारीमार्फत जाने यात्रुलाई अहिले राजमार्गमा पर्याप्त स्तरीय होटेल तथा रेष्टुरेन्ट खुलिसकेका छन् । हानका सदस्य श्रेष्ठका अनुसार राजमार्गमा रहेको ठूलो विजनेशकै कारण पछिल्लो समय चेन रेष्टुरेन्टहरुले राजमार्गमा आफ्ना आउटलेट बिस्तार गरिरहेका छन् । सोहीकारण आफ्नो सवारी साधन लगेर यात्रामा निस्कनेले आफ्नो रोजाइको रेष्टुरेन्टमा बसेर खाना खान सक्छन् ।

तर, सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले भने अहिले पनि उस्तै सास्ती भोग्नु पर्छ । ‘खासगरी नाइट बस चालकले होटेलको अप्सन नहुने स्थानमा बस रोक्ने प्रवृत्ति त अहिले पनि छ’, सिद्धार्थ ग्रुपका प्रवन्ध निर्देशक न्यौपाने भन्छन्, ‘तर, यात्रु नै यसमा सचेत हुनुपर्छ ।’ कुनै पनि प्रकारको शंका लागेमा त्यहाँको खाना नखान उनी सुझाव दिन्छन् ।

एक छाक खाना बोक्न सकिन्छ नि

कोरोना महामारीपछि सार्वजनिक स्थानको खाना खानु झनै जोखिमपूर्ण हुने भएकाले यात्राका क्रममा सम्भव भएसम्म एक छाकका लागि साथमै खानेकुरा बोक्दा सुरक्षित हुन्छ । होटेल व्यवसायीहरुले जोखिम लिएर असुरक्षित खानेकुरा खानु भन्दा सार्वजनिक यातायातका यात्रुले ड्राइफुडहरु बोकेर हिंड्न सुझाव दिन्छन् । ‘राम्रो र विश्वासिलो ठाउँ छ भने निर्धक्क खाना खानुहोस,’ न्यौपाने भन्छन्, ‘नभए जोखिम नलिनुस् ।’ केही फलफुल, पानी, राम्रो बिस्कुट मात्र साथमा बोक्ने हो भने पनि नराम्रो खाना हुने स्थानमा गाडीले रोक्दा पनि नखान सकिने उनको सुझाव छ ।

अफ्ठ्यारो अवस्थामा ठगी हुने सम्भावना पनि उत्तिकै हुन्छ । काठमाडौंमा २० रुपैयाँ पर्ने पानीको बोतललाई राजमार्गमा ३०/३५ रुपैयाँसम्म लिइनुलाई सामान्य मानिन्छ । यात्रुले मूल्यमा असहमति जनाएमा झै–झगडा समेत हुने गर्छ ।

कहाँ पुग्यो हरियो स्टिकर ?

कोरोनाकाल भन्दा अगाडि स्थानीय प्रशासन, होटेल संघ नेपाल र व्यवसायीको संयुक्त पहलमा राजमार्गका राम्रा होटेलमा हरियो स्टीकर टास्ने अभियान शुरु गरिएको थियो । तर, कोरोना महामारीपछि भने यो काम रोकिएको छ ।

हानका सदस्य श्रेष्ठका अनुसार कोरोनापछि व्यवसाय नै ठप्प प्राय रह्यो, सोहीकारण कडिकडाउ गर्न छाडियो । तर, पछिल्लो समय स्थानीय तहले चेकजाँच भने कडा गरेको न्यौपानेले जानकारी दिए । ‘चुम्लिङटारमा हरेक महिनाजसो स्थानीय तहबाट चेकजाँच हुन्छ,’ उनले भने, ‘यो चेकजाँच सबै स्तरका होटेलमा हुने हो भने गुणस्तरमा निकै सुधार हुने छ ।’

कसरी चिन्ने राम्रो होटेल ?

होटेल सरकारी निकायमा दर्ता भएको छ कि छैन, त्यो हेर्नुपर्छ । दर्ता भएर सन्चालनमा रहेका होटेलले लामो भविश्य सोचेर व्यवसायमा हात हालेका हुन्छन् । उनीहरुले सकेसम्म गुणस्तरमा सम्झौता गर्दैनन् । प्रशासनले गुणस्तरीय भनी दिएको हरियो स्टिकर टासेका रेष्टुरेन्टमा पनि सुरक्षित मानिन्छ ।

नियमित यात्रा गर्नेहरुले आफ्नो विश्वासिलो स्थानमा खाना खाने गर्छन् । निजी सवारीमा यात्रा गर्नेले चेन रेष्टुरेन्टका आउटलेटमा खाना खान सक्छन् । जहाँको मूल्य जुनसुकै शहरमा पुगे पनि उस्तै हुन्छ । अर्थात् थकाली रेष्टुरेन्टको चेनमा खानाको मूल्य पूर्वपश्चिम राजमार्गमा खानु र काठमाडौं–पोखरामा खानुमा ठूलो फरक पर्दैन ।

सार्वजनिक यातायातले रोक्ने होटेलमा किचेन, ट्वाइलेट, कर्मचारीको सरसफाइ, भाँडा माझ्ने स्थान हेरेर मात्र खाना अर्डर गर्न व्यवसायी सुझाव दिन्छन् । खाना र त्यहाँको वातावरण ठीक लागेन भने महँगो रकम तिरेर खाना अर्डर गरे फाल्नु भन्दा विकल्प खोज्न सकिन्छ । ठूलो होटेल नजिकै फास्टफुड बनाउने किचेन समेत सञ्चालनमा राखिएका हुन्छन् । विकल्पमा ती किचेनमा जान सकिन्छ ।

यात्राका क्रममा खाना र होटेलबारे केही टिप्स

  • सकेसम्म घरमै पकाएको खाना, फलफुल तथा सुक्खा खानेकुरा बोकेर यात्रा गरौं । राजमार्ग अवरुद्ध हुँदा, भनेजस्तो खानेकुरा नपाउँदा भोकै बस्नु पर्ने वा महंगो तिरेर गुणस्तरहीन खाना खानु पर्दैन
  • यात्राका क्रममा हेभी खाना नलिनु राम्रो हुन्छ । सवारीका दौरान स्वास्थ्य प्रतिकूल बनेमा त्यसले आफ्नो मात्र नभइ अरु यात्रुको पनि यात्रा तनावपूर्ण हुन्छ
  • सार्वजनिक सवारीका दौरान मदिरापान, धुमपान गर्न बर्जित छ, त्यसबाट सचेत रहनु पर्छ
  • धेरै यात्रुले एकै पटक खाना खाने गरी खोलिएका होटेलमा चिल्लो, पिरो, नुनजस्ता कुरामा त्यति ख्याल नगरी पकाइएको हुनसक्छ । बिरामी यात्रुले सकेसम्म यस्तो होटेलमा खाना नखानु राम्रो हुन्छ
  • माछा, मासु छिटो बिग्रने वस्तु हुन्छ । राजमार्गमा यात्राका दौरान यस्तो खानेकुरा खाँदा निकै सचेत हुनुपर्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?