+
+

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १०:५०

२४ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । उनले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।

उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’

५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?