+
+

गजेन्द्रबहादुर हमाल : तीन दिनका मन्त्री, एउटा मात्र निर्णयमा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १२:०९

२४ असोज, काठमाडौं । चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।

शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे ।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुगेका थिए । मन्त्रालयका दुई जना सचिव, महाशाखा  प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उनको स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिए । पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो ।

शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?