+
+

८५ हजार ग्राहकको घरमा स्मार्ट मिटर, मोबाइलमै बिजुलीको बिल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १९:४०

असोज, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रमा ८५ हजार स्मार्ट इनर्जी मिटर जडान सकेको छ । त्यसमध्ये करीब ८० हजार मिटर ‘एक्टिभ’ भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

करिब ९८ हजार मिटर जडान गर्ने गरी प्राधिकरणले २५ साउन २०७७ बाट स्मार्ट मिटर जडान शुरु गरेको थियो । प्राधिकरणले एसियाली विकास बैकसँग सहुलितपूर्ण ऋण लिएर करिब एक अर्ब लगानीमा वितरणलाइनलाई ‘स्मार्ट’ बनाउने गरी जडान थालेको थियो।

नेपाल विद्युत प्राधिकरणका उपप्रवन्धक रवीन्द्र श्रेष्ठका अनुसार अबको ३ महिनाभित्र पहिलो चरणमा स्मार्ट मिटर जोड्ने काम सकाउने योजना छ ।

‘८० हजार मिटरबाट हामीले प्रत्येक घण्टामा विद्युत खपतको डाटा कन्ट्रोल रुमामा प्राप्त गरिरहेका छौं,’ उनले भने, ‘ग्राहकको मिटर रिड हुने गरी तोकिएको दिनमा मोबाइलमा उठेको बिलबारे सन्देश पठाउने गरेका छौं।’

कोभिड महामारीको दोस्रो लहरका बेला प्राधिकरणले तीव्र रुपमा मिटर जडानको काम गरेको थियो । अहिले मिटर जडान भएका घरमा मिटर रिडर पठाउन छाडिएको छ ।

‘यसले ग्राहकलाई मिटर रिडर आउने दिन कुर्नुपरेन, महीना पुरा भएपछि डाटा सेन्टरबाट आफैं मिटर रिडिङ भएर विल हिसाव गरेपछि सोझै ग्राहकको मोबाइलमा मेसेज जान्छ,’ श्रेष्ठले भने ।

आफ्नो घरमा भइरहेको विद्युत खपत र बिलको ‘विस्तृत विवरण’ हेर्न मिल्ने गरी मोबाइल एप समेत तयार गर्न लागिएको श्रेष्ठले बताए ।

उनका अनुसार ग्राहकले अनाधिकृत रुपमा मिटरको कभर निकल्न खोजे कन्ट्रोल रुपममा ‘आल्राम’ बज्ने गरी प्रणाली जडान भएको छ । विद्युत चोरी, मिटर टेम्परिङ, स्वीकृतभन्दा बढी लोड खपत भएका डाटा सेन्टरमा सोझै सूचना प्राप्त हुन थालेको छ ।

समयमै बिल भुक्तानी नभए वितरण केन्द्रले कम्प्युटरबाट लाइन काट्न सक्छ । पछिल्लो सयममा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रले लाइन काट्ने काम आफ्नो डिजिटल प्रणालीबाटै गरिरहेको छ ।

‘भुक्तानी भएपछि तुरुन्त लाइन जोड्न समेत फिल्डमा कुनै कर्मचारी पठाउनु पर्दैन,’ श्रेष्ठले भने ।

स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने प्राधिकरणको प्रक्षेपण छ ।

विद्युत प्राधिकरणले ग्राहकको घरमा जोडिएको स्मार्ट मिटरको डाटा कन्ट्रोल रुममा ल्याउन जीपीआरएस/रेडियो फ्रिक्वेन्सीलाई माध्यम बनाएको छ ।

प्राधिकरणको सर्भर मिटरसँग लगातार सम्पर्कमा रहिरहन्छ र डाटा संकलन गरी फाइल गरेर राख्छ ।

प्राविधिक रुपमा स्मार्ट इनर्जी मिटरहरु पुराना इलेकट्रोमेकानिकल मिटरभन्दा चुस्त हुन्छन् । यसले विद्युत खपतको प्राधिकरणको महसुल संकलनमा समेत सकारात्मक असर पारेको उपप्रवन्धक श्रेष्ठ बताउँछन् ।

विद्युत प्राधिकरणले अर्को चरणमा काठमाडौंका अन्य वितरण केन्द्रमा करिब ४ लाख स्मार्ट मिटर जडानको लक्ष्य राखेको छ । उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित बनाउन तार भूमिगत पनि गरिँदैछ ।

भूमिगत गरिएका तारमा जडान भएका कन्ट्रोल उपकरणहरुलाई स्वचालित रुपमा निरीक्षण, अनुगमन, तथा नियन्त्रण गर्न वितरण प्रणाली नियन्त्रण केन्द्र र सूचना प्रविधिसँग सम्वन्धित उपकरण तथा डाटाहरुलाई सुरक्षित राख्न स्युचाटारमा तथ्यांक केन्द्र समेत निर्माण गरिँदैछ । यसले उपत्यकाको वितरण प्रणाली स्वचालित भएर प्राधिकरणको सूचना तथ्याङ्क प्रणाली समेत चुस्त हुने उपप्रवन्धक श्रेष्ठले बताए ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने अपेक्षा छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ ।

स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र सामान्य समयमा ग्राहकको फरक-फरक महसुल तोक्न सकिने छ । बढी विद्युत उत्पादन हुँदा वर्षायाममा खपत बढाउन सस्तो महसुल कायम गर्न सकिने प्राधिकरणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?