+
+

कथा : सपनाको सरहद

भानु बोखिम भानु बोखिम
२०७८ असोज २९ गते १५:२२

सञ्जीव दास टाढा जान चाहन्थ्यो तर आफ्नै गाउँको सरहद पार गर्न सकेन । पछिल्लो समय ऊ बदलिएको थियो । ऊ पूरै हात ढाक्ने टिसर्ट र कमिज लगाउन थालेको थियो । एकाधपटक साथीहरूले सोधेका पनि थिए, उसले लामो बाउला भएको टिसर्ट र कमिज लगाउनुको रहस्य । वास्तविक कारण नभनी ऊ टार्ने गर्थ्यो ।

सञ्जीव दासका केवल दुई सौख थिए । एक फिल्म हेर्नु अनि अर्को निबन्ध लेख्नु । उसको गाउँ सितापुरमा ऊ निबन्ध लेखककै रूपमा चर्चित थियो । भर्खरै १२ कक्षाको परीक्षा सकिएकोले ऊ फुर्सदमा छ । उसलाई विद्यालयले मानसम्मान दिएको थियो । तर विद्यालयको यो कुनै कोरा निगाह थिएन । उसले पनि विभिन्न लेखन प्रतियोगितामा विद्यालयलाई तक्मा दिलाएको थियो ।

उसका दिनहरू सितापुरमै बितिरहेका थिए । १९ वर्ष पुग्दासम्म सितापुरभन्दा बाहिर बिरलै गएको थियो । तीन दिदीहरूको विवाह भइसकेको थियो । एक दाजु विदेश गएका थिए । घरमा भाउजू र पाँच वर्षकी भतिजी थिइन् । बुबा, आमा आफ्नो पाँच कट्ठा जग्गामा धान र गहुँ रोप्थे । अरूको खेतमा बटैया पनि लगाउँथे । उसको काम पढ्नु र बुबाआमालाई खेतीपातीमा सघाउनु हुन्थ्यो ।

सितापुरको मैदानमा खेतीको लागि पानीको कमी थिएन । उत्तरतिर हेर्दा पहाडहरू देखिन्थे । तर गाउँदेखि नजिकै भने जंगल थियो । त्यो जंगलभन्दा माथि पूर्व-पश्चिम चल्ने फराकिलो सडक थियो । ६ महिनाअघि त्यही सडक भएर सञ्जीव काठमाडौं गएको थियो । विदेशबाट छुट्टीमा आएर काममा फर्किएका दाइलाई काठमाडौंसम्म छोड्नको लागि । फर्केर आउँदा काठमाडौंको भीड र फोहोरप्रति वितृष्णा बोकेर फर्किएको थियो ।

सञ्जीव पिपलको बोटमुनि पल्टिएको थियो । पिपलको वरिपरि गोलो घेरा हालेर सिमेन्टले प्लास्टर गरिएको थियो । आफ्नै हत्केलाको सिरानी लगाएर आकाश नियालिरहेको थियो । दायाँ गोडामाथि खापिएका बायाँ खुट्टा आफ्नै तालमा हल्लिरहेका थिए । पिपलका कति हाँगाहरू तलतिर नुहेर जमिन छुन खोज्दै थिए । ऊ चुपचाप पिपलको सरसराहट सुनिरहेको थियो ।

‘रे सञ्जीव, तँ यहाँ छस् रे ?’ मुलबाटो आवाज आयो ‘मैले तलाई कहाँ-कहाँ खोजिनँ ।’ सञ्जीवले मान्छे नदेखेपनि आवाज सतिस दासको हो भनेर ठम्याइसकेको थियो । उसले टाउको घुमाएर आवाज आएतिर नियाल्यो । सतिस आफू झरेर साइकलको स्ट्यान्ड लगाउँदै थियो । सञ्जीव उठ्यो र चौतारीमा भुइँतिर खुट्टा लतारेर बस्यो ।

‘म तँलाई भेट्न घर गएको थिएँ ।’ सामुन्ने आइपुग्दै सतिसले भन्यो । सञ्जीवले एकछिन् सतिसलाई नियाल्यो मात्रै । कालो रंगको हाफपेन्ट र पहेँलो रंगको टिसर्ट लगाएको सतिसले हातमा एउटा चेन बाँधेको थियो । पछिल्लो समय सतिस सलमान खानको फ्यान भएको थियो । त्यही कारण सलमानले जस्तै हातमा चेन बाँधेको थियो । आफ्नो शिरबाट कालोरंगको विदेशी टोपी हटायो । दायाँ हातको माइली औला बांगो पारेर निधारमा घिसार्यो । निधारका पसिना पेलिएर भुइँमा तप्किए । अनि सञ्जीवकै शैलीमा चौतारीमा बस्यो – दुवै खुट्टा लतारेर ।

‘के काम पर्‍यो ?’ सञ्जीवले सोध्यो ।

‘बहुत निमन बात छ ।’ उसले गोजीमा हात लगाउँदै भन्यो ।

‘के निमन ?’

‘शिवगञ्जमा नयाँ एफएम खोलिएको छ नि’ उसले भन्यो, ‘त्यसले निबन्ध प्रतियोगिता गर्ने भएको छ । युवाहरूको भूमिकामा । तँ पनि लेखेर पठाइ दे । मैले एड्रेस टिपेर ल्याएकोको छु ।’

सतिसले हाफपेन्टको खल्तीमा हात घुसारेर कागजको टुक्रा निकाल्यो अनि सञ्जीवलाई थमायो । सञ्जीवले कागजको टुक्रा मजाले नियाल्यो ।
‘यो त साँच्चै खुशीको कुरा हो ।’ चौतारीबाट उठ्दै सञ्जीवले भन्यो ‘चल रे घर । लेख्न सुरू गरिहाल्नुपर्छ ।’

तीन दिनमा सञ्जीवले निबन्ध तयार गर्‍यो । बिहान नौ बजेको थियो । उसले कपालमा तेल लगाएर सिधै पछाडितिर लतार्‍यो । नीलो जिन्स र सेतो टिसर्ट लगायो । जिन्सको पछाडिको खल्तीमा खामबन्दी गरेको निबन्ध राख्यो । घरमा बुबाको उपस्थिति देखेन । ऊ खटियामा पल्टिरहेको आमा छेउ पुग्यो ।

‘माई, म शिवगञ्ज पुगेर आउँछु ।’

‘हाँ ।’ आमाले सञ्जीवतिर नहेरी भनिन् ।

सतिस साइकल लिएर घरसामु आइपुग्यो । सञ्जीव र सतिस एउटै साइकलमा उत्तरतिर हानिए । कच्ची सडकमा गइरहँदा उताबाट साइकलमा शिल्पादेवी आइरहेकी थिइन् । शिल्पादेवीसँग कक्षा १० सम्म सतिस र सञ्जीवले सँगै पढेका थिए । सतिसले हात हल्लायो । शिल्पादेवीले पनि हल्लाइन् । सञ्जीवले भने नदेखे झैं गर्‍यो ।

शिल्पादेवीको बुबा एक समय वडाध्यक्ष थिए । गाउँमा उसकै दबदबा थियो । म नेताको छोरी हुँ भन्ने भावना शिल्पादेवीमा पनि थियो । सञ्जीव पनि आफूलाई कम आक्दैन थियो । कक्षाको प्रथम विद्यार्थी अनि निबन्ध प्रतियोगिताबाट विद्यालयको नाम अन्यतिर पनि फिजाएको मान्छे । यही अहम र आकर्षणको कारण नौ कक्षा पढ्दाखेरि सञ्जीवले शिल्पादेवीलाई चिठी लेख्यो ।

शिल्पादेवीले चिठी त पढिन् तर त्यसपछि सिधै हेडसरलाई बुझाइदिइन् । हेडसरले बोलाएर सञ्जीवलाई एक चड्कन लगाए । त्यो बेला सञ्जीवको गालाको छालाभन्दा बढी मन दुख्यो । त्यसबेलादेखि शिल्पासँग बन्द भएको संवाद अझैपनि बन्द नै छ ।

सतिस र सञ्जीवले शिवगञ्जमा खोज्दैखोज्दै एफएम स्टेसनको कार्यालय पुगे । तीनतले घरमा एफएम स्टेसन थियो । भुइँतलामै रिसेप्सन थियो । सेतो कुर्ता सुरूवाल लाएकी केटी फोनमा बोल्दै थिइन् । केटीको पछिल्तिर भित्तामा ‘झंकार एफएम’ लेखिएको बोर्ड टाँसिएको थियो ।

उनीहरू रिसेप्सनमा निबन्ध राखेको काम छोडेर बाहिरिए । साइकलमा शिवगञ्ज बजार घुम्दै आइसक्रिम खाए । महेन्द्र राजमार्गबाट दक्षिण लागेपछि सञ्जीवले साइकल चलाउँदै सोध्यो ‘विजेता हो हुन्छ ?’

‘चिन्ता न लि दोस्त’ सतिसले पछाडिबाट भन्यो ‘तेरो बराबरी कोही नि आउँदैन ।’

०००
करीब महिना दिन प्रतीक्षामा बित्यो । ऊ निबन्ध छोडेर आएपछि नियमित रूपमा झंकार एफएम सुन्थ्यो । केही दिनमै उसले आफू निबन्ध प्रतियोगितामा दोस्रो भएको खबर सुन्यो ।

‘साला, पहिलो हुन सकिन रे’ सञ्जीवले सतिससँग भन्यो ।

‘किन चिन्ता गर्छस् ?’ सञ्जीवले भन्यो ‘दोश्रो त भएछस् त । कतिले ट्राई मारेको थियो होला ? भन् त ।’

केही दिनमा रेडियोले कार्यक्रम गरेर पुरस्कार वितरण गर्‍यो । पहिलो र तेस्रो हुने युवाहरू पहाडी समुदायका थिए । कार्यक्रममा पुरस्कार र पुरस्कारको रकम थाप्यो । त्यही रकमको केही अंशले सतिससँग शिवगञ्ज बजारमा मस्त चाट र समोसा खायो । अनि घरमा मिठाई बोकेर फर्कियो ।

पन्ध्र दिनपछि त्यही रेडियो स्टेसनबाट काम गर्ने अफर आयो । खाली समयमा काम सम्झेर सञ्जीव पुलकित आयो । तुरून्तै ऊ साइकल पेलेर शिवगञ्जतिर लाग्यो । त्यसपछि ऊ निरन्तर साइकलमा शिवगञ्ज जान थाल्यो ।

बिहान खाना खाएर हिँडेको ऊ साँझतिर घर आउँथ्यो । ऊ दिनभरि रेडियोमा बसेर अरूले गरेको काम नियाल्थ्यो । उसलाई हिन्दी भाषामै हिन्दी गीतहरूको कार्यक्रम चलाउन भनिएको थियो ।

जेठ महिनाको अन्तिम दिन थियो । सितापुरमा गर्मी बहुलाएको थियो । साँझको ६ बजेतिर पहेलो टिसर्ट र नीलो जिन्स पाइन्ट लगाएर तयार भयो । ऐनाअगाडि उभिएर काइँयोले कपाल पछाडि लतार्‍यो । प्रसन्न मुद्रामा कोठाबाहिर निस्कियो । आँगनमा ठगिएको साइकल डोहोर्‍याउँदै बाटोमा आयो र अनि साइकल चलाएर उत्तरतिर बढ्यो ।

नौ बज्न लागेको थियो । उभित्र एक किसिमको दोमन थियो । पहिलो दिन कस्तो होला ? राम्रो होला कि बिग्रिएर भोलि अनेकन कुरा सुन्नुपर्ला ? सञ्जीवमा डरसँगै उत्साहपनि थियो । उसले स्टुडियोबाटै सतिसको फोन डायल गर्‍यो ।

‘अब स्टुडियोमा जाँदैछु ।’ सञ्जीवले सतिसलाई भन्यो ‘ठ्याक्क नौ बजे कार्यक्रम सुरू हुन्छ ।’

‘सुन्नलाई कानमा एयरफोन ठुसेर बसेको छु ।’ सतिसले भन्यो ‘बस्, तँ राम्रोसँग कार्यक्रम चला ।’

‘ल, राम्रोसँग सुन ।’ कानबाट फोनको रिसिभर हटाउँदै बोल्यो ।

रिसिभर फोन सेटमाथि खप्ट्यायो । सञ्जीवको डायरीमा पहिले नै तयार पारेको पुराना हिन्दी गीतहरूको सूची थियो । उसले ती गीतहरू कन्ट्रोल रूममा बसेको प्राविधिकलाई जानकारी गराइसकेको थियो । डायरी बोकेर ऊ स्टुडियोतिर लाग्यो । अनि स्टुडियो भित्रको घडी नियाल्दै बस्यो ।

सञ्जीवको कार्यक्रमको धुन बज्न थाल्यो । बिस्तारै आवाज मधुरो बनाउँदै बाहिरबाट प्राविधिकले इसारा गर्‍यो । सञ्जीव माइक्रोनको अगाडि बोल्न थाल्यो ‘नमस्कार, मैँ सञ्जीव दास । कार्यक्रम रूबरू मे आपको स्वागत करता हुँ । और सबसे पेहले एक गाना से, ये सफरको आगे बढाता…।

रातको १० बजे शिवगञ्ज बजार सुनसान भएको थियो । सञ्जीव स्टुडियोबाट बाहिर आउँदा आत्मविश्वासी भएको थियो । उसले कन्ट्रोल रूममा छोडेको मोबाइल फोन बजिरहेको थियो । स्क्रिनमा सतिसको नाम नाचिरहेको थियो ।

‘कार्यक्रम बहुत राम्रो चलाइस्’ सतिसले भन्यो, ‘शिल्पाले पनि मलाई फोन गरेर भन्यो ।’

‘त्यसले कसरी थाहा पाई ?’ सञ्जीवले सोध्यो ।

‘मैले भनेको थिएँ ।’

‘किन भनिस् रे त्यसलाई ।’

‘पुरानो कुरामा मिट्टी डाल न ।’ सतिसले भन्यो ‘उसले पनि सुनी त ।’

‘कोही बात छैन ।’ सतिसले भन्यो ‘बिहान, मेरो घरमा चिया खान आइज ।’

०००
सञ्जीव त्यो दिन रेडियो मै निदायो । ऊ घर जाने बाटो एकान्त र जंगल पर्ने हुनाले जान सहज थिएन । भोलि उठेर घर लाग्यो । ऊ घर पुग्दा नपुग्दै सतिस आइपुग्यो ।

सञ्जीवको गाउँ सितापुरमा पहाडबाट बसाइँ सरेर आएकाहरू धेरै थिए । त्यहाँका दासहरू पनि अन्तबाट आएका थिए । उनीहरू सबै नेपाली भाषा नै बोल्थे । घरमा मैथिल बोल्ने सतिसको आमामात्र थिइन् । आमाको कारण भाउजू र बुबा पनि मैथिल बोल्थे तर आमासँग बोल्दा मात्र ।

रेडियोमा चाहिँ उसलाई हिन्दीमा कार्यक्रम चलाउन लगाइयो । निबन्ध प्रतियोगितामा पहिलो भएको पहाडी युवाको हिन्दीमा कमजोर भएकोले यो अवसर पाएको थियो । अब ऊ कार्यक्रम चलाउन मात्र गए हुन्थ्यो ।

सञ्जीवले बिस्तारै थप कार्यक्रम चलाउन थाल्यो । सितापुरको वरपर सञ्जीवको चर्चा हुन थाल्यो । उसले खर्चको लागि बुबाआमाको भर पर्ने दिनपनि गए । थोरै नै सही रेडियोले पारिश्रमिक दिन्थ्यो ।

६ महिना नबित्दै सञ्जीवको दिनचर्या बदलियो । उसले शिवगञ्जकै कलेजमा स्नातक पढ्नको लागि भर्ना गर्‍यो । शिवगञ्जमा हुने विभिन्न कार्यक्रम सञ्चालनको लागि उसलाई बोलाइन्थ्यो । त्यसबाट उसले छुट्टै पारिश्रमिक पाउँथ्यो ।

‘अब यो साइकलमा हिँड्न ढिलो भयो ।’ सञ्जीवले सतिससँग भन्यो ‘एउटा बाइक किन्छु ।’

‘तँसँग यत्रो पैसा छ ?’ सतिसले आँखाको सीमा तन्काउँदै भन्यो ।

‘थोरै बचाएको छु ।’ सञ्जीवले भन्यो ‘केही दादासँग मागेको छु । बाँकी बैंकले ऋण दिन्छ रे ।’

महिना दिन नबित्दै सञ्जीवको हातमा बाइक आयो । सतिसलाई पूरै शिवगञ्ज बाइकमा राखेर घुमायो । यो बीचमा शिल्पादेवी धेरैचोटि सञ्जीवसँग बोल्न खोजिन् । तर सञ्जीवले वास्तै गरेन । आफूले हेडसरको हातबाट खाएको चड्कनको इख भुल्न सकेन ।

होली सकिएको दुईदिन भएको थियो । सञ्जीव खाटमा पल्टिएर किताब पढिरहेको थियो । छेउमै रहेको मोबाइल बज्यो । नचिनेको नम्बर उठाएर उसले कानमा टास्यो ।

‘म शिल्पादेवी बोल्दैछु ।’ उताबाट आवाज आयो ।

‘के काम’थ्यो ?’ अलि रूखो पारामा सोध्यो ।

‘मैले तिमीलाई शिवगञ्ज बजारमा देखेकी थिएँ ।’ शिल्पाले भनिन् ‘बाइकमा लड्कीसँग डुलिरहेको थियौ ।’

‘ऊ मेरो साथी हो ।’

‘साथी हो मलाई थाहा छ ।’ शिल्पादेवीले भनिन् ‘तर साथीमात्र पनि हैन ।’

‘नभए के भयो त । कुछ प्रोबलम छ ?’

‘मलाई समस्या छैन सञ्जीव’ शिल्पादेवीले सम्झाउँदै भनिन् ‘मान्छे आफ्नो औकातमा रहनुपर्छ । तिमी पपुलर भएका छौ । यसको अर्थ यो हैनौ कि तिमी दासबाट यादव भइसक्यौ ।’

‘तिमीले सम्झाउन जरूरी छैन’ सञ्जीवले रूखो स्वरमा भन्यो ‘अबदेखि भुलेर पनि मेरो नम्बर डायल नगर्ने ।’

भोलिपल्ट बिहानै सतिस सञ्जीवको घर आइपुग्यो । अक्सर फोन गरेर मात्र आउने सतिस आज बिना सूचना आइपुगेको थियो । भाउजूले सतिस र सञ्जीव दुवैको लागि चिया ल्याइन् ।

‘तँसँग एकान्तमा कुरा गर्नु छ ।’ सतिसले चिया पिउँदै भन्यो ।

‘के कुरा ?’

‘पहिले चिया त खा ।’

चियाका रित्ता गिलास आँगनमै छोडिए । दुवै जनाको पाइला बाटोतिर सोझियो । उनीहरू घरदेखि परको चौर गएर बसे । अनि कुराकानी गर्न थाले ।

‘कुरा साँचो हो भने शिल्पाको सुझाव ठीकै हो’ सतिसले भन्यो ।

‘त्यस्तो केही पनि हैन’ सञ्जीवले आँखा अरूतिर घुमाउँदै भन्यो ‘प्रियंका मेरो कलेजको साथीमात्र हो ।’

‘हेर दोस्त, प्रेम गर्नेले त भन्छन् कि सब मान्छे बराबर हो ।’ सतिसले भन्यो ‘तर समाजमा सबै बराबर हुँदैन रे । उँच-निच भइहाल्छ । हामी दासहरू यादवको बराबरीको हुन सक्दैनौं ।’

‘तँ धेरै चिन्ता न ली ‘ सञ्जीवले भन्यो ‘ऊ दोस्त मात्र हो ।’

सञ्जीवले प्रियंका यादव आफ्नो प्रेमिका भएको स्वीकारेन । शिल्पादेवीले सतिससँग प्रियंका र सञ्जीव प्रेममा भएको जिकीर गरिरहिन् । शिल्पाका केही साथी सञ्जीव र प्रियंका पढ्ने कलेजमा नै पढ्थे । अझ कलेज छोडेर उनीहरू बाइकमा घुम्न जाने गरेको कुरा पनि चर्चाको विषय थियो ।

पछिल्लो समय गाउँमा भएको बेला सञ्जीव हातको पूरै नाडी ढाक्ने कपडाहरू लगाउथ्यो । पहिले यस्तो कपडा मन पराउँदैन थियो । ऊ कुहिना सम्मपनि नपुग्ने टिसर्ट र कमिजमात्र लगाएर हिँड्थ्यो । शिवगञ्जतिर हुँदा हातको नाडी ढाक्दैन थियो रे ।

मध्यदिनको समयमा सञ्जीव कन्ट्रोल रूममा प्राविधिकसँग गफिँदै थियो । भर्खरै कार्यक्रम चलाएर स्टुडियोबाट बाहिरिएको थियो । रेडियोमा स्थानीय विज्ञापन प्रसारण गरिरहेको थियो । उनीहरूले कन्ट्रोल रूमबाटै कोही आइरहेको छ भन्ने थाहा पाए । बाहिरका मान्छेहरू आइपुग्दा सञ्जीवको मुहारको रंग बदलियो ।

‘को हो तपाईंहरू ?’ प्राविधिकले भन्यो ‘स्टुडियोमा सिधै आउन पाइँदैन ।’

‘रे चुप साला ।’ एउटाले ठूलो आवाजमा औंला ठड्याउँदै बोल्यो ।

त्यो मान्छे खिरीलो र अग्लो थियो । लामो कपालहरू पछाडितिर घुम्रिएका थिए । अनुहारभरि दाह्री र ओठभरि जुँगाको साम्राज्य थियो । मुखबाट परागको बास्ना आइरहेको थियो । शरीरमा कालो कुर्ता र नीलो जिन्स पाइन्ट थियो । बायाँ हातमा बाला र दायाँ हातमा डोरो बाँधेको थियो ।

त्यसपछि प्राविधिक बोल्न सकेन । सञ्जीवको अघि नै होस् गुम भइसकेको थियो । ऊ यताउता हेरेझैं गर्न थाल्यो ।

‘यही हो सञ्जीव’ आएको मध्ये एकले देखाउँदै भन्यो ।

‘तँ सालालाई राम्ररी सम्झाउँदा हुँदैन रे’ अघि ठूलो स्वरमा कराउने मान्छेले बोल्यो ।

‘मैले के गरे ?’, सञ्जीव कुर्सीबाट उठ्दै बोल्यो ।

‘अझ ठूलो स्वर गर्छस् ?’ कठालोमा समात्दै निधारमा पेस्तोल राखेर बोल्यो, ‘एक बार ट्रिगर दाबे भने, तेरो गिदी बाहिर आउँछ ।’

स्टुडियोमा त्रासको माहोल सिर्जना भयो । प्राविधिक चुपचाप बसिरहेको थियो । कञ्चटबाट पेस्तोल हटाउँदै सञ्जीवलाई धकेल्यो । धकेलिएर सञ्जीवअघि आफू बसेकै कुर्सीमाथि बस्न पुग्यो । पेस्तोल ताक्ने मान्छेले सञ्जीव बसेको कुर्सीमाथि आफ्नो खुट्टा राख्यो ।

‘पहिलो सम्झाएको सुनिनस् ।’ पेस्तोल बोक्ने मान्छेले भन्यो ‘दोश्रो बार पेस्तोल देखाएको छु । तेश्रो पटक आउनु पर्‍यो भने ट्रिगर दबाइदिन्छु ।’

स्टुडियोको फोन बज्यो तर पेस्तोल बोकेको मान्छेले उठाउन दिएन । प्राविधिकले गीत बजाउने समय भएपनि त्यतिकै छोडिदियो । त्यही बेला पेस्तोल लुकाउँदै त्यही मान्छे बोल्यो ‘रेडियोमा बोल्दैमा जात ठूलो हुँदैन । दास होस्, दास नै भएर बस् । माथि उठ्न खोजिस् भने, पूरै माथि पुर्‍याइदिन्छु ।’

आएकाहरू धम्की दिएर गए । प्राविधिक र सञ्जीव दुवैको होस् उडेको थियो । एकैछिनमा यो कुरा अफिसभरि फैलियो । धेरैजना त्रसित देखिन्थे । स्टेसन म्यानेजर खेमराज रिजाल भने शान्त देखिन्थे । उनले त्यहाँ भएका स्टाफलाई भने ‘केहीपनि हुँदैन । ढुक्क भएर काम गर्नुहोस् । अनि सञ्जीव, तिमी मेरो कोठामा आएर भेट्नु ।

खेमराज जुँगा मुसार्दै आफ्नो च्याम्बरमा गयो । बैठक कोठामा भेला भएका तीनचार जना कर्मचारी पनि आ-आफ्नो ठाउँमा गए । सञ्जीवमात्र ठिङ्ग उभिएको थियो । उसको मस्तिस्कमा कुरा खेलिरहेका थिए । अप्ठ्यारो मान्दै ऊ स्टेसन म्यानेजरको कोठातिर बढ्यो ।

‘सञ्जीव, म भन्दिनँ कि तिमी सानो जातको हौ’ उसले सम्झाउँदै भन्यो ‘सबै मान्छे सराबर हुन् । तर तिमीले प्रेम गर्ने उमेर हैन । आफ्नो करिअर बनाउने हो । रेडियोबाट तिमीलाई सुन्ने हजारौं छन् । तिनीहरूको प्रेममा परेर करिअरमा ब्रेक नलगाऊ । बस्, तिमी काम गर्दै जाऊ । यो मायाप्रेम सब बकबास् हो ।’

सञ्जीव त्यो दिन निकै डराएको थियो । उसलाई प्रियंकाले भनेका मीठामीठा कुराको सम्झना आयो । प्रियंकाको कोमल स्पर्श र मीठा कुरा सम्झेर प्रेम बकबास हो भन्न मानिरहेको थिएन । तर करिअरमा ध्यान दिनुपर्छ भन्ने खेमराज रिजालको कुरा पनि सही थियो । ऊ सोच्दासोच्दै घर जाने समय भएको थियो । त्रसित मुद्रामा अघि बढ्यो । आज बाइक चलाउनमा कुनै उत्साह थिएन । जंगलको बाटोमा भने डरको कारण बेतोडले बाइक हुइँक्यायो ।

घर पुगेपछि पनि ऊ स्थिर हुन सकेन । सतिसलाई पिपलबोटमा बोलायो । साँझपख पिपलबाट सुनसान थियो । मुहारको रंग हेरेर केही गडबढ छ भन्ने कुरा सतिसले ठम्यायो ।

‘आज झण्डै गोली ठोके मलाई’ सञ्जीवले उदास मुद्रामा भन्यो ।

‘कसले ?’

‘प्रियंकाका आफन्तले’

‘किन ?’

‘भन्छ कि दास भएर यादवको छोरी ताक्ने’ सञ्जीवले भन्यो ।

‘तँ त साथीमात्र हो भन्थिस् त ?’

‘अस्ति तँसँग झूट बोलेको थिएँ ।’ सञ्जीवले भन्यो ‘हामीबीच गहिरो प्रेम छ ।’

‘कति गहिरो ?’

सञ्जीवले कुनै जवाफ दिएन । उसले बायाँ हातको नाडीमा कस्सिएको कमिजको टाँक खोल्यो । कमिजको बाहुला उल्ट्याँदै कुहिनासम्म ल्यायो अनि पाखुरा देखायो । त्यसमो कालो रंगमा लेखिएको थियो – प्रियंका ।

‘योचाहिँ किन लेखेको नि ?’ सतिसले सोध्यो ।

‘उसैले लेख्न लगाएको हो ।’

सतिस केही बोलेन । ऊ बसेको ठाउँबाट उठ्यो अनि यताउता गर्न थाल्यो । सञ्जीव खुट्टा लतारेर डिलमा बसेको थियो । उसका दुवै हातले दायाँबायाँ प्लास्टर गरिएको चिल्ला भुइँ टेकेका थिए । ऊसको शिर ठीक सामुन्नेतिर निहुरिएको थियो । सञ्जीव फेरि सामुन्नेमा आएर उभियो ।

‘तँ साँच्चै माया गर्छस् ?’ सतिसले सोध्यो ।

‘यो पनि सोध्ने कुरा हो ?’

‘उसले पनि माया गर्छे ?’

‘यत्रो प्रमाण छ त’ सञ्जीवले प्रियंका लेखेको हात देखाउँदै भन्यो ‘माया नभए, उसले यसरी आफ्नो नाम लेख्न लगाउँछ ?’

‘त्यसो भने अब झुक्ने हैन ।’ सञ्जीवको कुममा ढाप मार्दै बोल्यो ‘प्रियंका अब हाम्रो भाबी हो ।’

सञ्जीव सामान्य अवस्थामा शिवगञ्ज आउने जाने गर्न थाल्यो । ऊ क्याम्पस भने जाँदैन थियो । उताबाट पनि प्रियंकालाई आउन दिएको थिएन । प्रियंकाको विवाहको कुरा तय भएको कुरा भने थाहा भयो । यद्धपि सञ्जीव सामान्य देखिन्थ्यो । समुद्र शान्त भयो भने आँधी आउँछ । सञ्जीवको शान्तपन यस्तै थियो । यो बीचमा सतिसको शिवगञ्ज आउने जाने मात्रा बढेको थियो, जो सञ्जीवको इशारा मुताबिक भइरहेको थियो ।

‘सब कुरा मिली सक्यो ।’ सतिसले भन्यो ‘आज साँझमा प्रियंका साथीकोमा जान्छु भनेर घरबाट निस्कन्छे । ऊ सेन्ट्रल प्लाजा होटलमा गएर बस्छे । म बिहान त्यही लगेर छोडदिन्छु । यहाँबाट उज्यालो नभई निस्कनुपर्छ ।’

सञ्जीवले साँझ कसैले थाहा नपाउने गरी झोलामा सामान मिलायो । खाना खाँदै गर्दा आफ्नो आमाबाको मुहार गहिरिएर नियाल्यो अनि सोच्यो कि भोलि यो घरमा ऊ हुने छैन । फेरि फर्केर आउने निश्चित थिएन । ऊसले मबिना यो घर कस्तो होला भनेर सोच्यो । प्रियंका होटल पुगेर बसेको कुरा सञ्जीवले सतिसमार्फत थाहा पाइसकेको थियो ।

बिहान सतिस अँध्यारोमै बाटोमा पुगेर उभियो, अक्सर आफूले चलाउने घरको साइकल लिएर । तर निकैबेरसम्म सञ्जीव आएन । सञ्जीव नआएपछि फोन गर्‍यो । फोन सम्पर्क हुन सकेन । ऊ साइकलमा सञ्जीवकै घरतिर आयो । घर सुनसान थियो । त्यहाँबाट फोन गर्दापनि सञ्जीवको फोन लागेन । सतिस आफ्नै घरतिर लाग्यो अनि कोठामा पसेर फेरि निदायो ।

सतिस ब्युझँदा गाउँमा खैलाबैला मच्चिरहेको थियो । उसले जे सुन्यो, त्यसको विश्वासै गर्न सकेन । ऊ मुख पनि नधोई साइकल लिएर बाहिरियो । कच्ची सडकमाथि उसको साइकलको बेग तीब्र थियो । मान्छेको भीड थियो । भीडको बीच भागलाई प्रहरीले घेरा हालेर राखेको थियो ।

प्रहरीले हालेको घेराभित्र सञ्जीवको लास पल्टिरहेको थियो । एक प्रहरीले सावधानीपूर्वक गोलीको खोका उठायो । सञ्जीवको छातीबाट निस्केको रगत सडक किनारतिर बगेको थियो । उसको उत्तानो फर्किएको हातमा प्रेमिकाका नाम देखिरहेको थियो– प्रियंका ।

(बोखिमको कथासंग्रह ‘रुमानी साँझ’ प्रकाशित छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?