+
+

हुवासिन सिमेन्ट उद्योगलाई विद्युत दिने स्वीचिङ स्टेसन सञ्चालनमा

तिहार लगत्तै परिक्षण उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १६:४८

३१ असोज, काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका-६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

तनहुँस्थिति तल्लो मस्र्याङदी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।

‘अन्य समयमा मस्र्याङदी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्ने छ ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२-१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन्। ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिने छ’, उने भने । ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्तिसमेत विश्वसनीय हुने छ ।’

निजी क्षेत्रले कोभिडकै बेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर ट्रान्समिसन बनाउनु नेपालको लागि नमूना काम भएको हुवासिन सिमेन्टका उप महाप्रबन्धक डिल्लीराज पोख्रेलले बताए । स्थानीयको सहयोगका कारण परियोजना छिट्टो सम्पन्न गर्न सकिएको पोख्रेलको भनाई छ ।

विद्युत आपूर्ति बाटो खुलेसँगै उद्योगलाई तिहार लगत्तै परीक्षण उत्पादनको बाटो खुलेको उनले बताए । हामी तिहार लगत्तै उद्योगबाट परिक्षण उत्पादन गर्न चाहान्थ्यौं, अब सहज भएको छ,’ उपमहाप्रबन्धक पोख्रेलले भने ।

नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तरािष्ट्रय बजारमा सबै भन्दा प्रभावशाली उपस्थिति रहेको हुवासिन सिमेन्ट नेपालले भने दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?