+
+

राजनीतिसँगै च्याउ खेतीमा रमाएकी दिलकुमारी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ कात्तिक १ गते १४:०४

१ कात्तिक, बुटवल । रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि ।

रोल्पाकै तुलाराम घर्तीसँग विवाह गरेकी उनलाई पार्टीले भूमिगतकालमा पाल्पाको तिनाउ गाउपालिका–३ दोभानमा खटाएको थियो । खुला राजनीतिमा आएको करिव ५ वर्षपछि उनले फेरि दोभान रोजिन्, च्याउ खेतीका लागि ।

‘पति पत्नी दुबैले राजनीति गरेर मात्रै परिवार चलाउन, छोरा छोरी पढाउन मुस्किल थियो,’ उनी भन्छिन्, ‘केही काम त गर्नुपर्छ भनेर दुई सय बल (पोका) बाट च्याउ खेतीमा हात हालें ।’ अहिले त्यही च्याउ खेती एक रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ उनले स्थायी टनेलमा एक पटकमा १७०० बल च्याउ लगाउँछिन् । एउटा बलबाट बढीमा ३-४ किलो च्याउ उत्पादन हुन्छ ।

‘वर्षमा ७-८ लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘हामी चारजनाले एकै थलोमा गरेका छौं, गाउँभरिका ३५ जनालाई पनि च्याउ खेतीमा लगाएकी छु ।’

गाउँका महिलालाई च्याउ खेतीमा आवद्ध गराएर उनीहरुको आयआर्जन बृद्धि गराएकाले गाउंपालिका र कृषि ज्ञान केन्द्रले हरेक वर्ष अनुदान दिने गरेको दिलकुमारीले बताइन् । उनकै अगुवाइले अहिले भूतखोलादेखि लामेदमारसम्मको क्षेत्र अर्गानिक च्याउ पकेट क्षेत्र बनेको छ । च्याउ खेतीलाई अझै विस्तार गर्ने उद्देश्यले उनले आफ्नै नेतृत्वमा साना किसान कृषि सहकारी संस्था स्थापना गरेर ३०० बढी महिलालाई आवद्ध समेत गराएकी छन् ।

उत्पादित च्याउका लागि बजारको खासै समस्या छैन । २१० देखि २२० रुपैयाँ प्रतिकेजी थोक मूल्यमा गाउँबाटै च्याउ विक्री हुने गरेको उनले बताइन् ।

राजनीतिसँगै च्याउ खेतीमा जमेकी दिलकुमारीले ‘ग्रामीण जीवनमा महिलाको सिर्जनशीलता’ शीर्षकको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । गाउँका महिलाहरुलाई सामूहिक च्याउ खेतीमा उत्प्रेरित गरेर नमूना काम गरेवापत वुमन वल्र्ड समिट फाउन्डेसन, जेनेभाले दिलकुमारीलाई एक हजार डलरको पुरस्कार प्रदान गरेको हो । ग्रामीण क्षेत्रमा नमूना काम गर्ने विश्वका १० जना महिलालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

आफूले पाएको एक हजार डलर पुरस्कार रकम गाउँका गरीब महिलाको उत्थानमा खर्च गर्ने दिलकुमारीको योजना छ । त्यसका लागि आफ्नै नाममा प्रतिष्ठान स्थापना गर्ने सोच बनाएको भन्दै उनले भनिन्, ‘पुरस्कारको रकम वाहेक च्याउ खेतीबाट हुने आम्दानीको १० प्रतिशत रकम पनि प्रतिष्ठानमा जम्मा गर्दै जान्छु । र, गाउँमा पैसाको अभावमा सानोतिनो कृषि कर्म गर्न नसक्ने महिलाका लागि सहयोग गर्ने मेरो लक्ष्य छ ।’

गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउपालिका उपाध्यक्ष उम्मेदवार बनेकी उनी भन्छन्, ‘राजनीतिसँगै महिलालाई उद्यमशील बनाउने लक्ष्य छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?