+
+

तुलनात्मक रूपमा सस्तो खर्चमा टेस्ट ट्युब बेबी सेवा दिनेछौं – डा. संगीता मिश्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:११

यही मंसिर १५ गतेदेखि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा टेस्ट्युब बेबी सम्बन्धी नयाँ प्रविधिको सेवा सुरु हुँदैछ । निःसन्तान सम्बन्धी समस्यामा यसअघि नै गर्दै विभिन्न उपचार विधि अपनाउँदै आएको अस्पतालले टेस्ट्युब बेबी सम्बन्धी सेवा मंसिर १५ गतेदेखि सुरु गर्न लागेको अस्पतालकी निर्देशक डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । प्रसूति गृहको इतिहासमा पहिलो पटक जोडिन लागेको यो प्रविधिले सेवाग्राहीमा के कस्तो सुविधा प्रदान गर्छ त ? निर्देशक मिश्रासँग यस विषयमा हामीले केही प्रश्न गरेका थियौं ।

प्रसूति गृहले निकै पछि टेस्ट्युब बेबी सम्बन्धी सेवा दिन थाल्यो, यसको आवश्यकता किन देखियो ?

प्रसूति गृहमा महिला र गर्भावस्था सम्बन्धी समस्या लिएर आउनेहरुमध्ये कतिपयमा निःसन्तान सम्बन्धी समस्या देखियो । त्यस्ता समस्याहरु कतिपय त औषधि उपचार गरेर निको हुने खालका थिए, कतिपयलाई भने औषधिले पनि निको गराउन सकेन । त्यसपछि टेस्ट्युब बेबीसम्बन्धी सेवा प्रसूति गृहमा पनि दिनुपर्छ भनेर हामीले यो सेवा सुरु गर्न लागेका हौं ।

कस्तो अवस्थामा टेस्ट ट्युब बेबी जरुरी हुन्छ ?

टेस्ट्युब बेबी सबैखाले निःसन्तान दम्पतीको लागि आवश्यक पर्दैन । पहिले त हामी के कारणले उहाँहरुको बच्चा भइरहेको छैन ? त्यो हेर्छाैं । बच्चा नजन्मिनुमा पनि विभिन्न कारणहरू हुन्छन्, जस्तो कहिलेकाहीँ श्रीमतीको अण्डाशयमा अण्डा नबन्ने, नली बन्द हुने, श्रीमानकै वीर्य नपुग्नु आदि हुन्छ ।  त्यसैले हामी पहिले निःसन्तान दम्पतीको समस्याको कारण हेरेर त्यसको उपचार खोज्छौं । टेस्ट्युब बेबीको सेवा अन्तिम अवस्थामा लिने हो । श्रीमानको वीर्य कम भएर सन्तानोत्पादन नभएको हो भने औषधि दिएर श्रीमानको वीर्य बढाइन्छ । यसरी, अनेक विधि अपनाउँदा पनि महिलाको पेटमा गर्भ बस्न सकेन भने मात्रै हामी टेस्ट्युब बेबी प्रविधिमा जान्छौं । सकेसम्म हामी उपचार गरेर नर्मल हिसाबले नै बच्चा जन्माउन सकून् भन्ने चाहन्छौं ।

टेस्ट ट्युब बेबीको लागि दम्पतीले के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ ?

यो प्रविधिमा सबैभन्दा पहिले हामीहरू हर्माेनल टेस्ट गर्छाैं । त्यसपछि श्रीमान् र श्रीमतीमा कसको कारणले गर्भ रहन सकेन भन्ने परीक्षण गर्छाैं । त्यसपछि अण्डा बनाउने सबै अंगहरुको अवस्था हेर्छाैं । ती सबै प्रक्रिया पूरा गरेपछि सकेसम्म हामी औषधि उपचारको उपाय अपनाउँछौं । पहिले हामी अण्डा उत्पादन गर्ने औषधि दिएर उत्पादनमा जोड दिन्छौं । त्यतिले पनि भएन भने बल्ल श्रीमतीको अण्डा र श्रीमानको वीर्य निकालेर निशेचनको प्रक्रिया बाहिर गरिन्छ । जब भ्रूण २/३ दिनको हुन्छ, त्यसपछि  भ्रूणलाई महिलाको शरीर भित्र प्रवेश गराइन्छ । यो आमाको गर्भमा नै बस्ने भए पनि यसको निशेचन भने बाहिर गरिन्छ । यही नै यसको प्रक्रिया हो । कतिपय आमाको अण्डा बन्दैन वा श्रीमानको वीर्य राम्रो छैन भने उनीहरुकै परिवारको वा बाहिर कसैको अण्डा वा वीर्य लिएर यो प्रक्रिया पूरा गरिन्छ । बच्चा पेटमा राखिसकेपछि विभिन्न किसिमका हार्माेन तथा औषधि दिएर गर्भाधानलाई सहयोग गर्ने गरिन्छ ।

टेस्ट ट्युब बेबीका लागि कुल खर्च कति लाग्छ ?

यसमा लाग्ने औषधिहरु एकदमै महँगो हुने गर्छ । त्यति हुँदाहुँदै पनि टेस्ट्युब बेबीको लागि सबै औषधिसहित गरेर कुल खर्च २ लाख रुपैयाँ तोकिएको छ । बजारमा अन्यत्र ३ देखि ५ लाख रुपैयाँसम्म लाग्छ । तर यहाँ अन्यत्रभन्दा धेरै सस्तो छ ।

टेस्ट ट्युब बेबीका लागि औषधि वा उपचार कति सहज छ ?

टेस्ट्युब बेबीको औषधि उपचारको लागि त्यस्तो असहज छैन । यसमा गोपनीयता चाहिने र धेरै समय लाग्ने भएकोले त्यसको लागि हामीले छुट्टै ओपीडीको व्यवस्था गरेका छौं । यसले गर्दा यसको औषधि उपचारको लागि असहज हुँदैन ।

टेस्टट्युब बेबीका लागि पहल गरिरहेका दम्पतीहरु यसबाट कति आशावादी हुन सक्छन् ? अर्थात् यसको सक्सेस दर कति छ ?

विश्वकै अवस्थालाई हेर्ने हो भने ४० देखि ५० प्रतिशतभन्दा धेरै प्रगति दर यसमा छैन । हामी पनि त्यही हिसाबमा प्रगति हासिल गर्ने सोचमा छौं ।

अहिले यस किसिमको सेवा लिन आउने दम्पती कति छन् ? बढ्दो छ वा सामान्य छ ?

दैनिक १५ देखि ४० जना महिलाहरु कुनै न कुनै किसिमको निःसन्तान सम्बन्धी समस्या लिएर आउने गर्छन् । यसमध्ये टेस्ट्युबेबीकै प्रविधि अपनाउनु पर्ने भने धेरै छैनन् । अहिले २५–३० जना महिलाहरु टेस्ट्युब बेबीको सेवाका लागि नाम टिपाएर बस्नु भएको छ । पहिले प्रविधि विकास हुँदै थियो, प्रविधिको जडान भइसकेपछि यसको प्रयोग गर्नको लागि भनेर उहाँहरु कुरेर बस्नु भएको छ ।

प्रसूति गृहमा दैनिक औसत् कति प्रसूति गराइन्छ ?

अहिले प्रसूति गृहमा दैनिक औषतमा ६०–८० जना जति सुत्केरी हुने गरेका छन् । कुल ८० जना दैनिक प्रसूति हुँदा ५५ जनाको हाराहारीमा नर्मल डेलिभरी हुन्छ । बाँकी सिजेरियन विधिबाट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?