+
+

दोहोरी च्याम्पियन : उपाधिका लागि प्रकाश -मीनासँग बालचन्द्र-शोभाको प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:३८

 

नेपाल टेलिभिजनको प्रस्तुती रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आउँदो शनिबार पोखरामा हुँदैछ । आयोजकले पोखराको बाराही घाटमा ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले गर्न लागेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीम प्रतिस्पर्धामा छ । प्रकाश पराजुली र मीनाको टीम यसअगाडि नै उपाधि प्रतिस्पर्धामा पुगिसकेको थियो भने बालचन्द्र र शोभाको टीम राजेन्द्र पाठक र मीना नेपालको टीमलाई हराउँदै उपाधिका लागि प्रतिस्पर्धामा पुगेको हो ।

उपाधिका लागि प्रतिस्पर्धामा रहेका यी दुई टीममा एउटाले उपाधि हात पार्नेछ भने अर्को टीम द्धितिय हुनेछ । त्यस्तै, तृतिय स्थानका लागि सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमको प्रतिस्पर्धा हुनेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा टीम तृतिय हुनेछ भने अर्को टीमले सान्त्वना स्थान प्राप्त गर्नेछ । भोटिङका आधारमा विजेता छनोट गरिने र शनिबार साँझदेखि भोटिङ राउण्ड खुला गरिएको ‘दोहोरी च्याम्पियन’का निणर्ायक रहेका रमेश बिजीले जानकारी दिए । नेपाल टेलिभिजनको एप डाउनलोट गरि भोटिङ गर्न सकिने उनले बताए । ‘दोहोरी च्याम्पियन’मा डिजिटल अडिसनबाट छनोट भएका ३५ टीमको फिजिकल अडिसन गर्दै उत्कृष्ट २४ टीम छनोट गरिएको थियो । २४ टीमबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म प्रवेश गरेको हो ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुने टीमले उपाधिसँगै २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोश्रो हुने टीमले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुने टीमले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘दोहोरी च्याम्पियन’मा निर्णायकमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’मा संचालकको भूमिकामा छन् । नेपाल टेलिभिजनमा शनिबार राती ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?