+
+

आतंकवादी भनेर पक्राउ गरिएका ट्याक्सी चालक १७ वर्षपछि निर्दोष ठहर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:५१

८ कात्तिक, काठमाडौं । १७ वर्षदेखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा रहेका एक पाकिस्तानी ट्याक्सी चालक घर फर्किँदै छन् ।

रिप्रिभ नामक मानव अधिकारवादी गैर-सरकारी संस्थाले शुक्रबार अहमद रब्बानीलाई रिहा गरिएको जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्रालयका अधिकारी समेत सामेल बन्दी गृहको पुनरावलोकन बोर्डले सर्वसम्मत रुपमा उनी निर्दोष रहेको भन्दै रिहा गर्ने निर्णय गरेको थियो ।

सन् २००२ मा रब्बानीलाई पाकिस्तानी अधिकारीले पक्राउ गरेका थिए । खोजी सूचीमा रहेका  आतंककारी हसन घुल ठानेर उनलाई पक्राउ गरी अमेरिकी अधिकारीलाई बुझाइएको थियो । त्यसपछि उनीमाथि आतंकवादी गतिविधि गरेको भनेर कुनै अभियोग नलगाई थुनामा राखेर चरम यातना दिइएको थियो ।

पक्राउपछि रब्बानीलाई अफगानिस्तानस्थित सीआईएको गोप्य गृहमा ५४५ दिनसम्म राखेर यातना दिइएको थियो । उनलाई हातखुट्टा बाँधेर चरम यातना दिइने, दिसापिसाब तथा मुसाले भरिएको अँध्यारो कोठामा राखिने, सुत्न नदिने, नक्कली चिहानमा लगेर पुरिने, नाङ्गै बनाएर शरीरमा चिसो पानी खन्याउने र कैयौं महिनासम्म नुहाउन नदिने गरिएको २०१४ मा प्रकाशित अमेरिकी सिनेटको एक प्रतिवेदनमा उल्लेख छ ।

सीआईएको गोप्य बन्दीगृहमा एक वर्षभन्दा बढी राखेपछि रब्बानीलाई ग्वान्टानामो बन्दी गृहमा लगिएको थियो । उनले सो बन्दी गृहमा बिना अभियोग वा कानूनी प्रक्रिया नअपनाइकनै १७ वर्षसम्म बिताए । त्यहाँ पनि उनीमाथि यातना दिइएको थियो ।

रब्बानीसँग सोधपुछ गरेका सीआईएका अधिकारीलाई आफूले गलत मानिस पक्राउ गरेको थाहा भएपछि यातना दिन नछोडेको रिप्रिभले जनाएको छ ।

सन् २०१८ मा रब्बानीले लस एन्जेलेस टाइङ्गसमा एक लेख प्रकाशित गरेपछि उनीमाथि भएको अन्यायप्रति अन्तर्राष्ट्रिय जगतको ध्यान गएको थियो । उनले लेखमा सुरक्षागार्डद्वारा आफूमाथि शारीरिक तथा यौन दुर्व्यवहार भएको, जबर्जस्ती खाना खुवाइने गरिएको र बन्दी गृहमा आफ्नो अवस्थाको विरोध गर्दै बारम्बार आमरण अनसन बस्ने गरेको उल्लेख गरेका थिए ।

रब्बानीले आफ्नो लेखमा ग्वान्टानामो बन्दी गृहको अवस्थाका कारण मानसिक अवस्था कमजोर भएको समेत उल्लेख गरेका थिए । ‘यहाँ न कुनै दिन छ, न रात’, उनले लेखेका थिए, ‘यहाँ निराशा मात्रै छ ।’

स्मरणीय छ- सन् २००२ देखि सञ्चालनमा आएको ग्वान्टानामो बे बन्दीगृहमा राखिएका ७८० बन्दीमध्ये ७३२ जनालाई स्थानान्तरण तथा रिहा गरिएको छ । त्यस्तै, ३८ जना अझै पनि बन्दी गृहमा छन् भने ९ जनाको बन्दीगृहभित्रै मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?