+
+

जापानी राजकुमारीले गरिन् सर्वसाधारण प्रेमीसँग बिहे  

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १५:०७

९ कात्तिक, काठमाडौं । जापानी राजकुमारी माकोले आफ्ना सर्वसाधारण प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन् । कोमुरोसँग विवाह गरेसँगै राजकुमारीले शाही पदवी गुमाएकी छन् ।

यसै हप्ता ३० वर्ष पुग्न लागेकी माकोले चार वर्षअघि कोमुरोसँग ‘इन्गेजमेन्ट’  गरेकी थिइन् । तर जनस्तरबाट विरोध र कोमुरोकी आमाको आर्थिक काण्डको समाचार बाहिरिएपछि उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन ढिलाइ भएको थियो ।

माको र कोमुरोले सन् २०१८ मा बिहे गर्ने योजना बनाएका थिए । तर उनीहरुको बिहेमा ढिलाइ भएको थियो । राजपरिवारले तयारी नपुगेको भन्दै ढिलाइ भएको बताएको थियो । कोमुरोकी आमाले आफ्ना हुनेवाला श्रीमानसँग लिएको ३६ हजार डलर तिर्न नसकेकाले बिहेमा ढिलाइ भएको कतिपयले आशंका गरेका थिए ।

सर्वसाधारण व्यक्ति राजकुमारीको श्रीमान हुन अयोग्य रहेको भन्दै कतिपय जापानीले विरोध गर्दै आएका छन् । त्यस्तै, केही मिडिया रिपोर्टमा कोमुरोले पैसाका लागि माकोसँग प्रेम सम्बन्ध गाँसेको भन्दै उनलाई ‘गोल्ड डिगर’को रुपमा चित्रण गरेका थिए ।

दुवै जना अन्तत: बिहे बन्धनमा बाँधिएका छन् । कोमुरोसँग बिहे गर्दा माकोले परम्परागत शाही विधि अपनाएकी थिइनन् । त्यस्तै, राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद समेत माकोले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

माकोका पति न्युयोर्कमा ल फर्म सञ्चालन गर्दै आएका वकिल हुन् । नवविवाहित जोडी न्युयोर्कमा बस्ने अपेक्षा गरिएको छ । कतिपयले माको र कोमुरोको विवाहलाई बेलायती राजकुमार ह्यारी र मेगन मर्केलबीचको विवाहसँग तुलना गरेका छन् ।

सन् २०१७ मा राजकुमार ह्यारीसँग मर्केलको ‘इन्गेजमेन्ट’ भएपछि विवाद निम्तिएको थियो । मर्केल अन्तरजातीय बाबु-आमाबाट जन्मिएकी र सम्बन्ध विच्छेद गरेकी महिला भएकाले बेलायती राजपरिवारमा उनको कुनै हैसियत नहुने केहीको बुझाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?