+
+
स्वास्थ्य :

डिमेन्सिया रोगको अन्तरकुन्तर

डा. प्रबीण श्रेष्ठ डा. प्रबीण श्रेष्ठ
२०७८ कात्तिक १० गते १६:५१

मानव शरीर ईश्वरको एक सुन्दर सृष्टि हो र यो आफैंमा एक सिंगो ब्रह्माण्ड पनि । मानव शरीरका प्रत्येक अंगको आ-आफ्नै महत्व र कार्य हुन्छ । यसले सिंगो शरीरलाई जीवित राख्दछ । र यही शरीरले प्रकृतिको सञ्‍चालन गर्दछ ।

मानव शरीरमा रहेका विभिन्न अंगमध्ये मस्तिष्क पनि एक हो जसको सम्बन्ध मानव शरीरको जीवन-मरणसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

मानव मस्तिष्कमा विभिन्न किसिमका रोग लाग्न सक्दछन् जुन मूलतः निम्न किसिमका हुन सक्दछन् :-

  •  इन्फेक्सन या संक्रमणबाट हुने रोग जस्तै इन्सेफ्लाइटिस, मेनिन्जाइटिस, टिबी (क्षयरोग)
  •  सूक्ष्म जीवाणुद्वारा हुने अन्य संक्रामक रोगहरू
  •  ट्युमरजन्य रोगहरू जस्तै ब्रेन ट्युमर, ब्रेन क्यान्सर
  •  जन्मजात रोगहरू जस्तै- जन्मजात मस्तिष्क सानो हुने, मस्तिष्क चाउरी पर्ने, जन्मजात पक्षघात, बाल क्षारेरोग
  •  उमेर अनुसार हुने रोगहरू जस्तै- मस्तिष्कघात, पक्षघात, मस्तिष्क रक्तस्राव, डिमेन्सिया, अल्जाइमर, क्षारेरोग
  •  मस्तिष्कको चोट आदि ।

यी विभिन्न रोगहरूका आ-आफ्नै लक्षण तथा उपचार हुन्छन् र यी रोगहरूले अन्त्यमा कस्तो रूप देखाउँछ त्यो पनि फरक फरक हुन्छ । यस सानो लेखको उद्देश्य मस्तिष्कका माथि उल्लिखितमध्ये डिमेन्सिया रोगको बारेमा पाठकवर्गलाई जानकारी गराउनु हो ।

डिमेन्सिया माथि उल्लेख गरिएका मध्ये उमेर अनुसार मस्तिष्क कमजोर हुँदै गई उत्पन्न हुने वर्गको रोग हो । डिमेन्सियालाई स्मरण शक्तिको ह्रास भनेर भन्न सकिन्छ ।डिमेन्सिया आफैंमा एक रोग पनि हो र मस्तिष्क सम्बन्धी एक लक्षण पनि । विभिन्न मस्तिष्क सम्बन्धी रोगहरूले डिमेन्सियाको लक्षण देखाउँछन् ।

डिमेन्सिया भन्नाले उमेर पुगेका या अधबैंसे मानिसहरूमा देखा पर्ने स्मरण शक्ति क्रमशः कम हुँदै जाने समस्या भन्ने बुझिन्छ । यसका थुप्रै कारण हुन्छन्, जसमध्ये अल्जाइमर्स पनि एक हो ।

अल्जाइमर्स रोग मस्तिष्क सुक्दै गएर हुने एक रोग हो जसलाई सामान्यतया बिर्सने रोगको रूपमा पनि चिनिने गरिन्छ । तर सबै बिर्सिने रोग अल्जाइमर्स हुँदैनन् । तर नेपालमा डिमेन्सिया र अल्जाइमर्स रोग सम्बन्धी सर्वसाधारणमा मात्रै होइन धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा पनि भ्रम भएको पाइन्छ । यसले गर्दा धेरै मानिस डिमेन्सियालाई उपचार नगरी चुपचाप सहेर बस्न बाध्य छन् ।

नेपालमा अलि उमेर पुगेका मानिसहरूमा स्मरण शक्ति केही कम भएको पाइएमा त्यो मानिसलाई अल्जाइमर्स भएछ भनी सीधै भन्ने चलन छ । यस्तो अवस्थामा अल्जाइमर्सको कुनै उपचार छैन भनी बिरामीलाई थन्काएर राख्ने गरिन्छ । यसले गर्दा बिरामी आवश्यक र उपयुक्त उपचारबाट बन्चित भई सानो रोगले पनि ठूलो समस्याको रूप लिएको घटना प्रशस्त देख्न र सुन्न पाइन्छ ।

अल्जाइमर्सको निदान या डायग्नोसिस गर्न गाह्रो हुन्छ । एकचोटि बिरामी हेरेर लक्षणको भरमा मात्रै यसको निदान गर्न सकिंदैन । त्यसको लागि मस्तिष्कको एमआरआई तथा अन्य जाँचहरू गर्नु जरुरी हुन्छ । त्यति मात्रै नभई आवश्यक परेमा मस्तिष्कको सानो शल्यक्रिया मार्फत मस्तिष्कको एउटा सानो टुक्रा निकाली त्यसको जाँच (बायोप्सी) पनि गर्नुपर्ने हुन सक्दछ ।

तर हाम्रो समाजमा आवश्यक जाँच नगरी, सम्बन्धित विशेषज्ञ, न्यूरोसर्जन या न्यूरोलोजिस्टसँग कुनै परामर्श नगरी अल्जाइमर्स रोग लागेको छ र यसको कुनै उपचार छैन भनी बिरामीलाई उपचारबाट बञ्चित गराएर राखेको प्रशस्त सुन्न पाइन्छ । अहिलेको एक्काइसौं शताब्दी र वैज्ञानिक युगमा यसरी बिरामीलाई सही उपचारबाट बन्चित गराउनु सही होइन ।

डिमेन्सियाका अन्य धेरै मात्रामा देखिने कारणहरूमा उमेर एक हो जुन माथि पनि उल्लेख गरिइसकेको छ । मानव मस्तिष्कमा जति पनि कोष या स्नायुहरू हुन्छन् ती सबै जन्मिने बेला नै विकास भइसकेका हुन्छन् । तिनीहरू क्रमैसँग उमेरसँगै मर्दै जान्छन् र ती स्नायुहरू पुनर्स्थापित हुँदैनन् । यसले गर्दा पाको उमेरका मानिसहरूमा स्नायुको संख्या कम हुँदै गई डिमेन्सिया देखा पर्दछ ।

उमेर अनुसार स्मरण कम हुनु स्वाभाविकै हुने भएकोले सामान्य स्मरण शक्ति कम हुँदैमा चिन्ता गर्नुपर्ने हुँदैन । उमेरको कारणले हुने डिमेन्सियालाई सेनाइल डिमेन्सिया भनिन्छ र यसलाई उपचार गर्न सकिंदैन किनभने उमेरलाई घटाउन सक्ने उपचार विधि हालसम्म पत्ता लागिसकेको छैन र भविष्यमा पनि नहोला ।
तर सेनाइल डिमेन्सियाको रोकथाम गर्ने या ढिलो गराउने केही उपायहरू निश्चय पनि छन् ।

अत्यधिक मद्यपान, धूम्रपान, अन्य नशालु पदार्थको सेवन, अत्यधिक तनाव तथा शारीरिक र मानसिक धपेडी, अत्यधिक चिया र कफी आदिले डिमेन्सिया चाँडै गराउन सक्दछ । माथि उल्लेख गरिएका पेय पदार्थहरू सामान्य हिसाबले प्रयोग गर्न सकिन्छ र माथिका अन्य कुराहरूलाई नियन्त्रण गरेमा पनि डिमेन्सियाको केही हदसम्म रोकथाम गर्न सकिन्छ ।

पाको उमेरका मानिसमा स्मरण शक्तिको ह्रास छिटोछिटो हुँदै गएमा अन्य कारणको डिमेन्सिया पनि हुन सक्ला भनी जाँचपड्ताल र उपचार गर्नुपर्दछ । डिमेन्सिया भएको मानिसमा स्मरण शक्ति कम हुनुका साथै अन्य लक्षणहरू पनि देखिन सक्दछ । जस्तै- सुरबेसुर हुने, सधैं देखिराखेको मानिस, ठाउँ या समान पनि नचिन्ने, समय तथा दिनरातको ख्याल नहुने, कुरा गर्दा उल्टो कुरा या बेप्रसङ्गको कुरा गर्ने, हिंड्डुल गर्दा ढलमलाउने, दिसापिसाबको हेक्का नहुने आदि ।

डिमेन्सियाको अर्को प्रमुख कारण हो मस्तिष्कघात । मस्तिष्कघात भन्नाले मस्तिष्कमा रक्तसञ्चार कम भई स्नायु सुक्दै र मर्दै जाने समस्या भन्ने बुझिन्छ । यस अवस्थामा पक्षघात (पारालाइसिस) का साथसाथै डिमेन्सिया पनि देखिन्छ । त्यस्तै मस्तिष्क रक्तस्राव पनि एकप्रकारको मस्तिष्कघात हो र यसले पनि डिमेन्सिया गराउन सक्दछ ।

नेपालमा डिमेन्सिया र अल्जाइमर्स रोग सम्बन्धी सर्वसाधारणमा मात्रै होइन धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि भ्रम रहेको पाइन्छ । यसले गर्दा धेरै मानिस डिमेन्सियालाई उपचार नगरी चुपचाप सहेर बस्न बाध्य छन् ।

उच्च रक्तचाप भएका मानिसमा मस्तिष्कघात हुने सम्भावना ज्यादा हुन्छ, तसर्थ रक्तचापलाई नियन्त्रित राख्नु अति आवश्यक हुन्छ । पाको उमेरका मानिसमा मस्तिष्कभित्र पानी जम्दै जाने अर्को समस्या हुन्छ । यसलाई नर्मल प्रेसर हाइड्रोसिफलास (एनपीएच) भनिन्छ ।

एनपीएच पनि डिमेन्सियाको एक प्रमुख कारण हो जुन विश्वका अन्य देशहरू लगायत नेपालमा पनि प्रशस्त पाइन्छ । यस्तो किसिमको डिमेन्सियामा स्मरण शक्तिको कमी हुनुको साथै सुरबेसुरपन, हिंड्डुलमा कठिनाइ र दिसापिसाबको हेक्का नहुने समस्या हुन्छ । एनपीएचलाई समयमै पत्ता लगाउन सकेमा यसको उपचार राम्रो हुन्छ र बिरामीलाई पूर्णतः पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

पार्किन्सोनिज्म मस्तिष्कको एक अर्को समस्या हो जसमा हातखुट्टा काम्ने लक्षणका साथै डिमेन्सिया पनि देखिन्छ । यस रोगमा शरीरको स्फूर्ति हराएर शरीर शिथिल तथा लोसे हुने, हिंड्दा खुट्टा लडबडाउने र स्मरण शक्तिको ह्रास हुँदै जाने हुन्छ । यस रोगमा क्रमशः स्नायुहरू सुक्दै गई समस्या आउन थाल्दछ । यस रोगलाई राम्ररी उपचार गरेमा डिमेन्सिया पनि केही सुधार हुने सम्भावना हुन्छ ।

माथि उल्लेख गरिएका बाहेक डिमेन्सिया गराउने अन्य थुप्रै कारण पनि हुन्छन् जुन हाम्रो समाजमा केही कम मात्रामा देखिन्छन् र अलि जटिल पनि हुन्छन् । ती कारणहरूको चर्चा यस सानो लेखमा गरिएको छैन ।

माथि उल्लेख गरिएका डिमेन्सिया गराउने विभिन्न रोगका निदान र उपचार गर्ने आ-आफ्नै विधि र तरिका हुन्छन् । लक्षण मिल्दोजुल्दो भएतापनि तिनीहरू एकअर्काभन्दा निकै भिन्न हुन्छन् । त्यसैले ती सबै समस्यालाई एकै ठाउँमा राखी उपचार गर्न सकिंदैन या भनौं मिल्दैन ।

डिमेन्सियाका लक्षण केही मात्रामा मानसिक समस्यासँग पनि सम्बन्धित या मिल्दाजुल्दा हुन्छन् । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने डिमेन्सिया मानसिक समस्या होइन । यो माथि उल्लेख गरिए जस्तै मस्तिष्कको एउटा समस्या हो । यो एउटा मानसिक समस्या हो भनेर मानसिक औषधि मात्रै खाएर अवस्था झन् नाजुक हुँदै गएका र अन्त्यमा उपचार असम्भव भएका घटना पनि धेरै छन् ।

माथि उल्लेख गरिए जस्तै डिमेन्सियाको उपचार हुन्छ । कारण अनुसार कुनै निको हुँदैन, कुनै केही राम्रो या निको हुन्छ र कुनै पूर्ण निको हुन्छ । निको हुने नहुने कुरा कति चाँडो उपचार गरियो त्यसमा पनि भर पर्दछ ।

कारण जेसुकै भए पनि औषधि उपचार नै डिमेन्सियाको एक प्रमुख उपचार हो र सबै डिमेन्सियामा उपयोगी हुने औषधिको प्रयोग, जसले मस्तिष्क र स्नायुलाई बलियो बनाउने काम गर्दछ र स्नायुलाई छिटोछिटो सुक्नबाट बचाउँछ, गरेमा फाइदा पुग्दछ ।

त्यस्तै डिमेन्सियाको कारणकै उपचार पनि गर्नुपर्ने हुन्छ । यदि उमेरको कारण हो भने दिमागी काम गर्ने, पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, कम्प्युटर मोबाइल चलाउने आदिले दिमागी र स्मरण शक्तिलाई कायम राख्न मद्दत गर्दछ ।

नियमित शारीरिक व्यायाम गर्ने, तनाव र धपेडीबाट मुक्त रहने, मस्तिष्कलाई हानि पुर्‍याउने पदार्थको सेवन नगर्ने र सम्बन्धित विशेषज्ञको सल्लाह अनुसार स्नायुलाई बलियो बनाउने औषधिको सेवन गर्ने आदि गरेमा डिमेन्सियाको उपचार केही हदसम्म राम्ररी गर्न सकिन्छ । माथि उल्लिखित कुराहरू गरेमा उमेरको कारणले मात्रै नभई कुनै पनि कारणको डिमेन्सियाको लागि उपयोगी हुन्छ ।

यदि पक्षघातको कारणले डिमेन्सिया भएको हो भने त्यसको सही उपचार गरेमा डिमेन्सियालाई धेरै फाइदा पुग्दछ । यदि मस्तिष्कमा पानी जमेर डिमेन्सिया भएको हो भने त्यसको उपचार गरेमा बिरामीलाई निकै फाइदा पुग्दछ । पानी जमेको उपचार गर्न त्यति गाह्रो पनि हुँदैन । सुरुवाती अवस्थामा घरै बसेर औषधि उपचार गर्न सकिन्छ जसले केही फाइदा गर्दछ ।

यदि त्यतिले मात्रै पुगेन भने अस्पतालमा केही दिनको लागि भर्ना भएर सुईको माध्यमबाट औषधिको प्रयोग गरिन्छ जसले खाने औषधिभन्दा धेरै फाइदा गर्दछ । यदि त्यसले पनि त्यति फाइदा भएन भने ढाडमा सानो सुई लगाएर मस्तिष्कमा जमेको पानी निकालिन्छ जसले अझै धेरै फाइदा पुग्दछ ।

यदि यी कुनै पनि तरिकाले त्यति फाइदा भएन या शुरुमा केही फाइदा पुगी फेरि समस्या बल्झियो भने अन्त्यमा गर्ने उपचार भनेको सानो शल्यक्रिया हो जसले मस्तिष्कमा जमेको पानीलाई निरन्तर सधैंको लागि पेटमा बगाइदिन्छ जहाँबाट पानी शोषिएर जान्छ । यस प्रक्रियाले डिमेन्सियालाई मात्रै होइन जमेको पानीले गर्दा हिंड्डुलमा हुने कठिनाइ र दिसापिसाबको हेक्का नहुने समस्यालाई पनि धेरै फाइदा पुग्दछ ।

संक्षेपमा, डिमेन्सिया भनेको मस्तिष्कको समस्या हो जुन न्यूरोसर्जन या न्युरोलोजिस्टको सहयोगले उपचार गर्न सकिन्छ । रोग छिप्पिएपछि उपचार गरेमा निको नहुन सक्दछ तर समयमै या सुरुवाती अवस्थामै उपचार गरेमा बिरामीलाई मात्रै होइन परिवारलाई पनि धेरै फाइदा र सजिलो हुन्छ ।

(लेखक बी एण्ड बी अस्पताल, ग्वार्कोका कन्सल्टेन्ट न्यूरोसर्जन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?