+
+

मिठाइमा अखाद्य वस्तुको मिसावट गर्ने तीन पसललाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:३०

१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित केही मिठाइ पसलले म्याद गुज्रेको रङ, मसला र अखाद्य तेलको प्रयोग गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार र बुधबार गरेको बजार अनुगमनमा बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइ पसलसहित तीन वटा पसलले मिठाइमा अखाद्य वस्तुको मिसावट गरेको पाइएपछि कारबाही गरिएको महानगरले जनाएको छ ।

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराइको तेल मिठाइ बनाउन अयोग्य पाइएको निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले बताए । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गर्दा तेल खान अयोग्य रहेको पाइएको उनको भनाइ छ । यस्तै सोही भण्डारमा मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको पाइएको थियो भने फ्रिजमा राखिएका करीब १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो । अनुगमन टोलीले उक्त पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको र म्याद सकिएको बेसनका बोराहरु पाइएको थियो । मिठाइ भण्डारमा मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड ड्रिंक्सको म्याद पनि सकिएको पाइएको थियो । उसलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै महानगरले मंगलबार गरेको बजार अनुगमनमा महाराजगञ्जको प्रिया स्वीट एण्ड चाट हाउसको पनि उस्तै समस्या देखिएको थियो ।

भान्छा अँध्यारो र फोहोर थियो भने याद सकिएका रङ्ग र मसलाको प्रयोग भइरहेको पाएपछि म्याद गुज्रिएका खाद्य वस्तु जफत गरेर चाट हाउसलाई २० हजार रुपैयाँ जरीवाना गरिएको थियो । यस्तै व्यवसाय सञ्चालन अनुमति नलिएको ताज वेकरीलाई पनि अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना गरेको भण्डारीले जानकारी दिए । बेकरीमा म्याद सकिएका कुल्फी र आइसक्रिम पनि पाइएको थियो ।

मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना र सरसफाइमा सुधार गर्नु पर्नेलाई समय दिएको निरीक्षण अधिकृत भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?