+
+

साताका १० गीत : ‘मेरो प्यारो भाइ’देखि ‘दोहोरीको राजा’सम्म

देउसी भैलो गीतको बर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १५:४१

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार नजिकिँदो छ । तिहार नजिकिएसँगै सांगीतिक क्षेत्रमा पनि तिहार लक्षित देउसी भैलो गीतहरु बढी देखिएका छन् । पछिल्लो साता थुप्रै तिहारलक्षित गीतहरु सार्वजनिक भएका छन् । त्यो बाहेक अन्य केही गीतहरु समेत युट्युबमा आएका छन् । यससाता सार्वजनिक गीतहरुको चर्चा भने खासै पाईदैन् । केही समय पहिले नै सार्वजनिक गीतहरुको नै सांगीतिक बजारमा दबदबा देखिन्छ । हामी यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गर्दैछौं ।

एलिनाको ‘मेरो प्यारो भाई’

गायिका एलिना चौहानले गत आईतबार ‘मेरो प्यारो भाई’ बोलको तिहार गीत सार्वजनिक गरेकी हुन् । लेखु सहयात्रीको शब्द एवं संगीत, विशान आचार्यको संगीत संयोजन रहेको गीतमा एलिनाले स्वर दिएकी हुन् । विक्रम चौहानको कथा एवं निर्देशनमा बनेको गीतको भिडियोमा स्मारिका–समारिका ढकाल, एलिना चौहान, प्रतिक सुनुवार, सुगम श्रेष्ठको अभिनय छ ।

प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । एलिना चौहान युट्युबमा सार्वजनिक भिडियोले ४ लाख बढी भ्यूज बटुलेको छ ।

बिष्णु खत्रीको देउसी भैलो गीत

सर्जक एवं गायक विष्णु खत्रीले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको देउसी भैलो गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका अन्य ७ जना गायक–गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ । लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय उनीहरुले पहिलोपटक एकसाथ एउटै गीतमा सहकार्य गरेका हुन् ।

विष्णुकै शब्द–रचना रहेको गीतलाई कृष्ण बि.के.ले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायक–गायिकाहरु स्वयंम देखिएका छन् । उनीहरुका साथमा रामजी खाँण, करिष्मा ढकाल र लोमश शर्माको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् । युट्युबमा भिडियोलाई अहिलेसम्म ९६ हजार बढी पटक हेरिएको छ ।

रामजी, शान्तीश्री लगायतको स्वरमा ‘भिरको बाटो’

‘भिरको बाटो’ देउसी भैलो गीत सोमबार सार्वजनिक भएको हो । जय देवकोटाको शब्द एवं संगीत, कृष्ण केसीको एरेन्ज रहेको गीतमा ६ जना गायक–गायिकाले स्वर दिएका छन् । ईन्द्र जिसी, रामजी खाँण, जय देवकोटा, पूर्णकला बिसी, शान्तीश्री परियार, सुनिता बुढा क्षेत्रीको स्वर गीतमा सुन्न सकिन्छ ।

मदन खड्काको निर्देशन रहेको भिडियोमा गायक–गायिकाहरु स्वयंम देखिएका छन् । त्यस्तै, बबिता श्रेष्ठ, तिलक शाही, हिमा थापा, बेबो आचार्य, अपेक्षा पौडेल लगायतको अभिनय छ । करन चैसिरको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । गीतले युट्युबमा ३ लाख १० हजार बढी भ्यूज पाएको छ ।

पशुपति र लक्ष्मी मल्लको स्वरमा ‘दोहोरीको राजा’

पशुपति शर्मा र लक्ष्मी मल्लको स्वरमा बिहीबार मात्रै ‘दोहोरीको राजा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा दरबार भित्र हुने सांगीतिक माहोलको विषयलाई रोचक ढंगले समेटिएको छ । गीतमा नकुल ढकालको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा अञ्जली अधिकारी, लोमश शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, नकुल ढकाल, लगायतको अभिनय रहेको छ ।

निशान कश्यपको निर्देशन एवं सम्पादन रहेको भिडियोमा सन्तोष राज वाहकको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन छ । भिडियोले शुक्रबार दिउँसोसम्म ७५ हजार बढी भ्यूज पाएको छ ।

सरोज र आश्माको ‘जीवन साथी’

‘कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको मोडलिङमा ‘जीवन साथी’ बोलको गीत सार्वजनिक भएको हो । गत शनिबार सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत, सुरेखा क्षेत्रीको स्वर सुन्न सकिन्छ । सरोजकै निर्देशन, आश्माको कोरियोग्राफीमा बनेको भिडियो रमाईलो छ । गीतमा आफ्नो हुनेवाला जीवनसाथीमा हुनुपर्ने गुणबारे चर्चा गरिएको छ ।

पवन सुस्लिङको छायाँकन रहेको भिडियोलाई सरोज स्वयंमले नै सम्पादन गरेका हुन् । शुक्रबार दिउँसोसम्म यसको भिडियोले युट्युबमा ४ लाख बढी भ्यूज पाएको छ ।

पल र गरिमाको अभिनयमा ‘मन्द मन्द’

पल शाह र गरिमा शर्माको अभिनयमा गत मंगलबार ‘मन्द मन्द’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । प्रताप दास र बेनिशा पौडेलको स्वर समावेश गीतले प्रेम भाव व्यक्त गर्छ । पुरन धमलाको शब्द, दीपक शर्मा र उर्गेन दोङको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

प्रकाश धितालको निर्देशन, उत्सव दाहालको छायाँकन रहेको यस गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोलाई तीन दिनमा युट्युबमा २ लाख १५ हजार बढी पटक हेरिएको छ ।

आर्यन सिग्देलको अभिनयमा ‘फूल फुल्यो’

बुधबार सार्वजनिक ‘फूल फुल्यो’ बोलको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देलले अभिनय गरेका छन् । भिडियोमा उनीसंगै सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ । गायक केशव भावुक र गायिका अस्मिता अधिकारीले यस गीतमा स्वर दिएका छन् ।

सुधा मरहट्ठाको शब्द रहेको गीतमा गायक केशव स्वयमले संगीत भरेका हुन् । सशान कंडेलको निर्देशनमा बनेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन छ । भिडियोले भ्यूज भने अपेक्षित पाउन सकेको छैन् ।

राजु लामाको ‘मायालु’

‘मायालु’ शीर्षकको गीतमा राजु लामा र अलिशा घिमिरेको स्वर रहेको छ । गत मंगलबार यो गीत भिडियोसहित सार्वजनिक भएको हो । राजुकै शब्द, संगीत रहेको गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा राजु लामा स्वयंम र रजनी गुरुङले अभिनय गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ । राजु लामाकै युट्युबमा सार्वजनिक भिडियोलाई शुक्रबारसम्म २ लाख ५० हजार बढी पटक हेरिएको छ ।

समीक्षाको स्वरमा ‘चोखो लाम्ला माया’

गत शुक्रबार समीक्षा अधिकारी र उमेश मुस्कानको स्वरमा ‘चोखो लाम्ला माया’बोलको गीत सार्वजनिक भएको हो । उमेशकै शब्द, संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । जिबी चिरन र बीना राउतको अभिनय रहेको भिडियोलाई गौरव गिरीले निर्देशन गरेका हुन् । भिडियोमा दीपक गिरीको छायाँकन, दिन्सन शाहको सम्पादन छ । एक सातामा भिडियोले युट्युबमा २ लाख ६० हजार बढी भ्यूज पाएको छ ।

विपिनको अभिनयमा ‘परदेशी आयो’

विपिन कार्कीको अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ गत आईतबार सार्वजनिक भएको हो । प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत, उदयराज पौडेलको संगीत संयोजन, केतन क्षेत्रीको स्वर रहेको यस गीतको भिडियोमा विपिनको मन छुने अभिनय छ । भिडियोमा पैसा कमाउन विदेश गएको युवाको कथा देखाईएको छ ।

देवेन्द्र नेपालको निर्देशन रहेको भिडियोमा विपिनका अलावा कविता न्यौपाने, सुरवीर पण्डित, शर्मीला शर्मा, देवेन्द्र नेपाल लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यस भिडियोको भ्यूज भने निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?