+
+

सोलुखुम्बुमा टेलिकमको अप्टिकल फाइबर जडान, सेवाको गुणस्तरमा थप वृद्धि हुने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १८:५७

काठमाडौं । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक अप्टिकल फाइबर लिंक विस्तार गरेको छ । अप्टिकल फाइबर जडानसँगै यसक्षेत्रको सेवाको गुणस्तरमा थप वृद्धि हुने विश्वास टेलिकमले लिएको छ । अप्टिकल फाइबर लिंक स्थापना पश्चात यस क्षेत्रका स्थानीयले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने टेलिकमको विश्वास छ ।

समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको टेलिकमको भनाइ छ ।

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा कुनै कारणवश समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुने टेलिकमको भनाइ छ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुने विश्वास टेलिकमले लिएको छ ।

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा टेलिकमले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?