+
+

सीआईएको चरम यातना भोगेका खानको बयान- बाँच्छु जस्तो लागेको थिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १८:५८
मजिद खान

१२ कात्तिक, काठमाडौं । ग्वान्टानामो बेस्थित बन्दीगृहका एक कैदीले अमेरिकी अदालतसमक्ष दिएको आफ्नो बयानमा सीआईएद्वारा सञ्चालित गोप्य केन्द्रमा भोगेको यातना उल्लेख गरेका छन् ।

बाल्टिमोरका पूर्व निवासी मजिद खानले सीआईएले गोप्य रुपमा सञ्चालन गरेको एक केन्द्रमा आफूलाई चरम यातना दिएको बताएका हुन् । ग्वान्टानामो बेस्थित बन्दीगृहमा भएको युद्ध अपराधसम्बन्धी सुनुवाईका क्रममा खानले आफ्नो बयान पेश गरेका हुन् ।

खानले बिहीबार दिएको बयानमा ‘ब्ल्याक साइट’को नामले चर्चित सीआईएको गोप्य केन्द्रमा भोगेको चरम अमानवीय यातना उल्लेख गरेका छन् । नाकमुख बन्द गरी अनुहारमा पानी खन्याइने गरिएको, शारीरिक तथा यौन दुर्व्यवहार हुने गरेको,  तल टाउको माथि खुट्टा गरेर कोठामा झुण्ड्याइने गरिएको, झण्डै-झण्डै मर्ने अवस्थासम्म पानीमा टाउको डुबाउने गरिएको लगायतका अमानवीय यातना भोगेको खानले बताएका छन् ।

चरम यातनाका कारण आफू बाँच्छु जस्तो नलागेको पनि खानले आफ्नो बयानमा भनेका छन् । ‘बाँच्छु जस्तो लागेको थिएन,’ उनले भने । सोधपुछका क्रममा सीआईएलाई जति सघायो, उति यातना पाउने गरेको पनि खानले सुनाए ।

‘मैले उनीहरुलाई जति धेरै सघाउँथें र कुरा गर्थें, त्यतिधेरै यातना पाउथें,’ खानले अदालतसमक्ष ३९ पृष्ठ लामो बयान पढ्दै सुनाए । त्यस्तै, आफूसँग कुनै जानकारी नभएको र यातना नदिन भन्दा समेत नियमित यातना दिने गरिएको बयानमा उल्लेख छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि खानलाई पक्राउ गरिएको थियो । झण्डै ३ वर्षसम्म सीआईएको यातना शिविरमा बसेका उनलाई २००६ सेप्टेम्बरमा ग्वान्टानामो बेस्थित बन्दीगृहमा सारिएको थियो ।

साउदी अरबमा जन्मिएका खानले अलकायदाका सामग्री ओसारपसार र योजनामा संलग्नसम्बन्धी आरोप स्वीकारिसकेका छन् । उनी ९० को दशकमा परिवारसँगै अमेरिका आएका थिए । आतंकवादी हमला हुँदा वाशिङ्टनमा प्राविधिक काम गरेका उनीसँग पाकिस्तानी नागरिकता छ ।

यसअघि उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण मान्छे आमा भएको र आमाको निधनपछि अलकायदाप्रति झुकाव राखेको बताएका थिए ।

खानले सन् २००३ मा इन्डोनेसियाको जाकार्तास्थित म्यारिअट होटेलमा भएको बम हमलामा प्रयोग गरिएको ५० हजार अमेरिकी डलर डेलिभरी गरेको समेत स्वीकारेका छन् । तर उक्त रकम केमा खर्च हुने भनेर आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

त्यस्तै, सेप्टेम्बर ११ का मास्टरमाइन्ड खालिद शेख मोहम्मदसँग मिलेर प्रयास गरिएका अन्य आतंकवादी हमलाको योजना बनाएको समेत खानले स्वीकारिसकेका छन् ।

पेन्टागनद्वारा छनोट र सैनिक अधिकारी संलग्न एक प्यानलले खानलाई २५ देखि ४० वर्षसम्म कैद सजाय दिने तयारी गरेको छ । तर अमेरिकी अधिकारीसँग व्यापक सहकार्य गरेका कारण उनले तोकिने कैद सजायभन्दा कम अवधि जेलमा बिताउने अलजजिराले उल्लेख गरेको छ ।

बिहीबार बयान दिने क्रममा ४१ वर्षीय खानले यातना दिने व्यक्तिलाई माफ गरेको भन्दै आफूले गरेका कार्यका लागि माफी समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?