+
+

२४ वर्षका युवक बने एमालेको गाउँपालिका अध्यक्ष

विकास मरहट्टा विकास मरहट्टा
२०७८ कात्तिक १४ गते १५:४८

१४ कात्तिक, गोरखा । गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्ष बनेका सुजन सिंखडा भर्खरै २४ बर्ष पुगेका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट उनी सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भए । भीमसेनथापा गाउँपालिका–४ धावाका सिम्खडाले २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए ।

‘स्कुले जीवनमा राजनीतितर्फ खासै रुची गएन,’ उनले भने, ‘एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनिति थालेको हुँ ।’ चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको साधारण सदस्य लिएको उनले बताए ।

२०७१ सालमा उनी अनेरास्ववियू एनपीआई (सीटीईभीटी) को इकाइ कमिटी सदस्य बने । २०७३ साल साउन महिनामा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उनी त्यसै वर्ष भदौमा भएको इकाइ सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन भए ।

२०७४ सालमा गोरखा फर्किएका सिम्खडा स्थानीय तहको निर्वाचनमा सक्रिय भए । त्यतिबेला २१ वर्ष नपुगेका कारण जनप्रतिनिधिको उम्मेदवार बन्न नपाएको उनी बताउँछन् । ‘२१ बर्ष पुग्नुपर्ने रहेछ तर म त्यतिबेला २० पनि अलि पुगेको थिइनँ, त्यसैले टिकट पाइएन,’ सिम्खडाले भने ।

२०७४ सालमा अनेरास्ववियुको सीटीईभीटी राष्ट्रिय कमिटी सदस्य बनेका उनी एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७६ सालमा अनेरास्ववियू गोरखाको सहसंयोजक भए । उनी २०७७ साल पुस २५ गते अनेरास्ववियुको जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भए । २०७७ सालदेखि नै उनले एमालेको भीमसेन थापा गाउँपालिकाको पार्टी सचिवको जिम्मेवारी पनि पाए ।

युवा उमेरमै पार्टीको गाउँपालिका अध्यक्ष बनेका सिम्खडा संगठन विस्तारमा दिनरात खट्ने बताउँछन् । ‘गत स्थानीय निर्वाचनमा भीमसेन थापा गाउँपालिकामा एमालेबाट कोही पनि जनप्रतिनिधि निर्वाचित भएनन्, अब पार्टीको संगठनलाई सुदृढ गर्दै आगामी निर्वाचनमा एमालेको प्रतिनिधि स्थापित गराउने लक्ष्य छ,’ उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?