+
+

फेरि नयाँ बिमा कम्पनीको लाइसेन्स बाँड्ने सरकारको तयारी

आधा दर्जनले निवेदन दर्ता गराए, आधा दर्जन कागजात तयार गर्दै

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १७ गते १८:५७

१७ कात्तिक, काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले भागवबण्डाका आधारमा नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी शुरु गरेको छ । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ ।

सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् । बिमा समितिले चार वर्ष नयाँ बिमा कम्पनीहरुका लागि लाइसेन्स बन्द गर्ने निर्णय गरेको थियो ।

समितिका अध्यक्ष सूर्य सिलवाल भने अहिले लाइसेन्स बन्द नै रहेको र खुलाउने विषयमा कुनै तयारी नगरिएको बताउँछन् । तर ६/७ कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएको भने अध्यक्ष सिलवालले स्वीकार गरे । लाइसेन्सका लागि प्राप्त निवेदन दर्ता भने गरिएको स्वीकार गरेका अध्यक्ष सिलवालले अनलाइनखबरसँग भने, ‘निवेदन दर्ता गराए भन्दैमा लाइसेन्स पाइहाल्ने भन्ने कुरा हुँदैन, अहिले कुनै कुरै भएको छैन ।’

बिमा समितिले नयाँ लाइसेन्स खुलाउने निर्णय नै नगरी एउटा पुनर्बिमा कम्पनी सञ्चालनका लागि भने अनुमति दिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा बिमा समितिको अध्यक्ष नियुक्त भएका पूर्वसचिव सिलवालले पुनर्बिमा कम्पनी देशमा एउटामात्रै रहेको र अर्को एउटा आवश्यक पर्ने भन्दै हिमालयन रि-इन्स्योरेन्सलाई सञ्चालन अनुमति दिएका थिए ।

अहिले देशमा कुल बिमा कम्पनीहरुको संख्या ४० पुगिसकेको छ । बिमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै बिमा समितिले दुई वर्ष अघि मर्जरको नीति ल्याएको थियो । क्रस होल्डिङ शेयर -एकै कम्पनी वा व्यक्तिको एक भन्दा बढी कम्पनीमा शेयर) भए त्यस्ता कम्पनीहरुलाई मर्जरमा लैजाने नीति बिमा समितिको थियो ।

पूर्वअध्यक्षको नीति उल्टाएर अध्यक्ष सिलवालले फेरि नयाँ बिमा कम्पनी थप्ने तयारी गरेको स्रोतको दाबी छ । सरकारले सिफारिस गरे अनुसार नै लाइसेन्स दिन प्रतिवद्धता जनाएका सिलवालले नयाँ कम्पनीका लागि निवेदन लिन शुरु गरिसकेको स्रोत बताउँछ ।

केहीले निवेदन दिए, केही कागज बनाउँदै

सरकारले दलीय भागबण्डाका आधारमा नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिने तयारी गरेपछि बिमा समितिमा आधा दर्जन बढी प्रस्तावित कम्पनीहरुले निवेदन दिइसकेका छन् । अरु आधा दर्जन कम्पनीहरुले निवेदनका लागि संस्थापकहरुको कागजात तथा कबुल शेयरको लागतबारे कागजातहरु तयार पार्दैछन् ।

बिमा समिति स्रोतका अनुसार अहिले निर्जीवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराईका साथै केही व्यापारिक घरानाका व्यक्तिहरुले समेत नयाँ बिमा कम्पनीका लागि तयारी गरेका छन् ।

कार्की र भट्टराई दुबै जनाले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएर पनि लाइसेन्स पाउन सकेका थिएनन् । अहिले कार्कीले अभियान जनरल इन्स्योरेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्योरेन्सको नाममा कागजात तयार पारिरहेका छन् ।

यसैगरी केही व्यापारिक समूहले मनकामना जनरल इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा लाइसेन्सका लागि तयारी गरिएको बुझिएको छ । प्रस्तावित युनी लाइफमा भने पूर्वमन्त्री नारदमुनि रानाले समेत संस्थापक सेयरका लागि फारम भरेका छन् ।

तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंको पालामा १९ वटा बिमा कम्पनीहरुले लाइसेन्स पाएका थिए । त्यसपछि भने अब संख्या धेरै भएको भन्दै लाइसेन्स बन्द गरिएको थियो । क्षेत्रीय स्तरको विकास बैंकबाट शुरु गरेर राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउन सफल भरतराज ढकालले पनि २ वटा नयाँ कम्पनी खोल्नका लागि तयारी शुरु गरेका छन् ।

ढकालले मुक्तिनाथ इन्स्योरेन्स कम्पनी लिमिटेड नामक निर्जीवन बिमा कम्पनी र मुक्तिनाथ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नामक जीवन बिमा कम्पनी सञ्चालनका लागि कागजात बनाइरहेको छ । यी दुई कम्पनीको लाइसेन्सका लागि कागजातहरु तयार पार्न फर्स्ट माइक्रोफाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत धनराज पन्त कम्मर कसेर लागेका छन् ।

प्रतिव्यक्ति १० लाख रुपैयाँदेखि अधिकतम् ५० लाख रुपैयाँसम्मका दरले प्रस्तावित कम्पनीको शेयर बिक्री गर्न ढकाल पन्त दुबैले आफू नजिकका बैंकर तथा व्यवसायीहरुसँग अनुरोध गर्दै गरेका छन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?