+
+

काठमाडौँको गोकर्णेश्वरमा मुन्धुम घर निर्माण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १४:३३
फाइल तस्वीर

१८ कात्तिक, खोटाङ। किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) काठमाडौँमा निर्माण गरिने भएको छ । काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सासमेत सार्वजनिक गरिएको छ ।

रु दुई करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साढे तीनतले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास गरेर निर्माणको काम थाल्ने तयारी गरिएको किराँत रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले जानकारी दिए ।

‘रिदुम खिम निर्माणका लागि हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङबाट रु २० लाख ३७ हजार र गोकर्णेश्वर नगरपालिकाबाट रु १५ लाख प्राप्त भएको छ’, उनले भने, ‘किराँत नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवद्र्धनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो।’

नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचनको अवसर पारेर रिदुम खिमको थ्रिडि नक्सा सार्वजनिक गरिएको किराँत रदु नाछिरिङ साखामले जनाएको छ । सोही भवन निर्माणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट रु २० लाख सहयोगको प्रतिबद्धता जुटेको केन्द्रका उनले बताए ।

देश–विदेशमा छरिएर रहेका नाछिरिङ समुदाय तथा व्यक्तिबाट चन्दा एवं सहयोग रकम जुटाएर दुई वर्षभित्र निर्माणको सम्पूर्ण काम पूरा गरेर रिदुम खिम सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ। रिदुम खिम निर्माणका लागि रु ७५ लाख ७५ हजारमा छ आना जग्गा खरिद गरिसकिएको छ ।

मूल घरको चुल्हामा मान्दै आइएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वातावरण बनाउन रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखाम केन्द्रका उपाध्यक्ष कमलकुमारी नाछिरिङले जानकारी दिए । नुभयो । “रिदुम खिममा जन्म, मृत्यु, विवाह, छेवरलगायतका संस्कार गर्दै नाछिरिङ राईको भाषिक, संस्कार, संस्कृतिको एकीकरण गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “रिदुम खिमले संसारभर छरिएर रहेका नाछिरिङ राईलाई सङ्गठित गर्नेसमेत अपेक्षा गरिएको छ ।”

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका तथा खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राई समुदायको सघन बस्ती रहेको छ । यसबाहेक सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडालगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको खोटाङमा क्रियाशील पत्रकार दमन नाछिरिङ राईले जानकारी दिनुभयो ।

विसं २०६८ को जनगणनाअनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्ने १० हजार ४१ जना मात्र जनसङ्ख्या रहे पनि २०७६ देखि सोलुखुम्बु र खोटाङका पाँच÷पाँचवटा विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन शुरु गरिएको थियो । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एवं संवद्र्धनको लक्ष्यका साथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको साखामले जनाएको छ ।

उदयपुर जिल्लामा पनि नाछिरिङ भाषामा पठनपठनको तयारी भइरहेको साखामका महासचिव गान्दीभ किराँतीले जानकारीदिनुभयो । स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठन सुरुआत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?