+
+

सिएरा लियोनमा इन्धन ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु, दर्जनौं घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते १५:५८

२० कात्तिक, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्यांकर विष्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए)का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । घटनास्थलमा उद्धारकार्य सकिएको छ । दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ ।

इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज शहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो ।  आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए ।

फ्रिटाउनका मेयर यवोन अकी-सयरले दुर्घटनाबारे फेसबुकमा जानकारी दिएका छन् । उनका अनुसार इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

विस्फोटको आवाज सुनेर घटनास्थलमा पुगेका स्थानीयले शुरुवाती उद्धार गरेका थिए ।  सामाजिक सञ्जालमा दुर्घटनास्थल र घाइतेहरुको तस्वीर र भिडियो भाइरल भइरहेको छ । मेयर अकी-सेयरले फेसबुकमा लेखेका छन्, ‘मेरो समवेदना विस्फोटमा पर्ने पीडित परिवार र आफन्तजनसँगै छ । मृत्यु हुनेहरुको आत्मालाई शान्ति मिलोस् ।’

फ्रिटाउन शहरमा १० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । गत मर्चमा पनि त्यहाँको एक सुकुम्बासी क्षेत्रमा आगलागी हुँदा ८० जनाको मृत्यु भएको थियो । यस्तै २०१७ मा भारी वर्षाका कारण एक हजार जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?