+
+

लोप भएको भनिएको सिरी गाई नेपालमै भेटियो

सुवास पण्डित सुवास पण्डित
२०७८ कात्तिक २२ गते १९:००

२२ कात्तिक, चितवन । नेपालबाट लोप भयो भनिएको सिरी जातको गाई लोप नभएको पुष्टि भएको छ । हालै गरिएको अनुसन्धानबाट नेपालमा सिरी गाई जीवितै रहेको तथ्य फेला परेको छ ।

पूर्वी नेपालको ताप्लेजुङ साब्लाखुलाई पकेट क्षेत्र मानेर ल्याइएका गाई सिरी जातकै भएको प्रमाणित भएको राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार ललितपुरकी प्रमुख डा. निना अमात्य गोर्खालीले जानकारी दिइन् ।

२०७१ सालको एक सरकारी दस्तावेजमा नेपालमा पाइने रैथाने प्रजातिका ६ गाईमध्ये पूर्वी नेपालमा पाइने सिरी गाई लोप भएको उल्लेख छ । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान पशु प्रजनन् महाशाखा खुमलटारले २०६९ सालमा प्रकाशन गरेको नेपालका रैथाने गाई भन्ने पुस्तकमा समेत सिरी गाई हाल मुलुकबाट नै लोप भइसकेको उल्लेख छ ।

तर साब्लाखुबाट ल्याइएका ८ वटा गाई र २ वटा साढे केन्द्रमा ल्याएर अनुसन्धान गरिएको थियो । बाह्य शारीरिक चारित्रीकरण, उत्पादन क्षमता, उत्पादन प्रणालीको अनुसन्धान लगायत ३२ वटा गाईको रगतको नमूना तथा २२ वटा गाईको डीएनए (आनुवांशिक) परीक्षण गर्दा सिरी गाई लोप नभएको तथ्य प्रमाणित भएको केन्द्रका वैज्ञानिक सरोज सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

यो अनुसन्धानमा करीव दुई बर्ष लागेको वैज्ञानिक सापकोटाको भनाइ छ । सिरी गाई भुटान र भारतको सिक्किममा पनि पाइन्छ । केन्द्रमा ल्याइएका गाईको डीएनए भुटानका सिरी गाईको डीएनएसँग निकै नजिक रहेको सापकोटाले बताए ।

‘नेपालमा सिरी गाई रहेछ, तर पर्याप्त अनुसन्धान विना नै लोप भएको भनियो, लेखियो, पढाइयो’ वैज्ञानिक सापकोटाले भने, ‘तर यो हाम्रो रैथाने सम्पत्ति हामीसँग रहेछ, यसको संरक्षण र प्रवद्र्धनमा लागिरहेका छौं ।’

केन्द्रमा अहिले सिरी गाईका दुईवटा साढेसहित २१ वटा गाई छन् । ११ वटा खुमुलटारमा नै जन्मिएका हुन् । केही विदेशी जातको जर्सी गाईको बहरको सिमेन (बीर्य) प्रयोग गरेर जन्मिएका सिरी जर्सी वर्णशंकर बाच्छी पनि जन्मिएका छन् ।

रैथाने गाईमा सबैभन्दा बढी दूध

नेपालमा पहिचान भएका ६ वटा रैथाने गाईमध्ये सिरी गाईले धेरै दूध दिने राष्ट्रिय पुश प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार ललितपुरकी प्रमुख नीता अमात्य गोर्खालीले बताइन् ।

यो गाईलाई राम्रो खानपानको व्यवस्थापन गर्दा केन्द्रमा दैनिक ५ देखि ९ लिटरसम्म दूध दिने गरेको छ । किसानले पालेका गाईले डेढ लिटरदेखि ५ लिटरसम्म मात्रै दिन्छ । ल्याइएका ८ मध्ये ४ वटा गाईमा उत्पादन क्षमता अझै बढी रहेको केन्द्र प्रमुख अमात्यले बताइन् ।

नौ महिनासम्म दूध दिने सरदर १८ बर्ष बाँच्ने यो गाईको ६ बेतसम्म उत्पादन क्षमता राम्रो देखिएको छ । रातो र कालो मुख्य दुई रंगमा पाइने यी गाईको शारीरिक तौल वयस्क गाईको २६८ किलोग्रामसम्म हुने केन्द्रका प्राविधिक अधिकृत भोजराज पोखरेलले बताए ।

चौडा र चेप्टो निधार हुने यो गाईको दुई सिङको बीचमा फुर्का निस्केको हुन्छ । यो ३.५ बर्षको उमेरमा बयस्क भई ४.५ बर्षको उमेरमा पहिलो बेत ब्याउँछ । गर्भधारण अवधि २८०–२८५ दिनको हुन्छ । यसको दुई बेतको अन्तर औसत १७ महिना हुन्छ ।

थोरै खान दिए पुग्ने, पहाडदेखि तराईसम्म सजिलै पाल्न सकिने यो गाई पूर्वी नेपालको २ हजारदेखि ३ हजार ५ सय मिटरसम्मको उचाइमा पाइन्छ । यसको दूधमा उच्च प्रोटिन पाइने वैज्ञानिक सापकोटाले बताए ।

यसका बाच्छाहरु जोत्न बलियो हुने, युरोपियन गाईहरुलाई विस्थापित गर्न सक्ने र शहरमा माग हुन सक्ने गाईका रुपमा यसलाई लिन सकिने केन्द्रका प्राविधिक अधिकृत पोखरेलले बताए ।

शुद्ध जातका सिरी गाई लोपोन्मुख अवस्थामा रहेकोले यसको संख्या कति छ भन्ने यकिन भएको छैन ।

किसानका बीचमा जान बाँकी

अनुसन्धानबाट लोपोन्मुख सिरी गाई नेपालमा भेटिएको भनिए पनि किसानहरुका बीचमा भने अझै यो कुरा पुग्न सकेको छैन । केन्द्रले सरकारका विभिन्न निकायमार्फत सिरी गाईको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम लैजान प्रस्ताव अगाडि बढाउने तयारी गरेको प्रमुख डा. नीना अमात्य गोर्खालीले बताइन् ।

प्रदेश १ सरकार मार्फत सिरी गाई पाइने प्रमुख जिल्लाहरुमा सिरी गाईको संरक्षण, नश्ल सुधार एवम् उत्पादकत्व बढाउने कार्यक्रम अघि बढाउने उनको भनाइ छ ।

उच्च पहाडी भेगदेखि तराईसम्म पाइने यो गाईमा रोग प्रतिरोधात्मक क्षमता उच्च भएकोले यसको आनुवांशिक गुण प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय रुपमा नै फैलाउन सके यसबाट राम्रो फाइदा किसान र देशले लिन सक्ने प्रा. डा. मनराज कोलाक्षपतिले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?