+
+

फिरन्ते चराहरू

रामचन्द्र वाग्ले रामचन्द्र वाग्ले
२०७८ कात्तिक २३ गते १०:००
सिन्दूरे हाँस । तस्वीर : mybirdsofnepal.com

आफू बसिरहेको स्थान बस्न र सन्तान हुर्काउन लायक नभएको अवस्था तथा मौसममा अन्यत्र जाने र पछि उपयुक्त वातावरण भएपछि फिर्ता आउने चरालाई फिरन्ते चरा भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा वर्षभरि एकै स्थानमा नबस्ने, कहिले कता कहिले कता डुलिरहने चरालाई फिरन्ते चरा भनिन्छ । यसलाई प्रवासी, आगन्तुक र विदेशी चरा पनि भन्ने गरिन्छ । यसमा कमकुट, सिन्दूरे हाँस, मझौला सेतो बकुल्ला, सर्पहारी चिल, डुबुल्की चरा, कर्‍याङकुरुङ, राजहंस, युरोपियन रोल्लर, सारस, ग्रेट स्पोटेड उडपिकर, विशाल खैरो लाटोकोसेरो, साइबेरियन बकुल्ला, अमुर बाज, ह्वाइट वागटेल, एशियाली कोइली, किंगफिसर, ब्लु टेल्ड बि इटर, स्पुन-बिल्ड स्यान्डपाइपर आदि चरा पर्दछन् ।

यस्ता चराहरू प्रायः चिसो छल्न अथवा गर्मी छल्न एक स्थानबाट अर्को स्थानमा जाने आउने गर्छन् । फिरन्ते चराहरूमध्ये आर्कटिक टेर्न नामक चराले ७० हजार किलोमिटरभन्दा बढी यात्रा पार गर्दछ । यो प्रत्येक वर्ष आइसल्याण्डदेखि अन्टार्कटिकासम्म र अन्टार्कटिकादेखि आइसल्यान्डसम्म ओहोरदोहोर गर्छ ।

ग्रेट स्नाइप चरा सबैभन्दा छिटो ओहोरदोहोर गर्ने फिरन्ते चरा हो । यसले विश्राम नगरी करीब ६ हजार ७६० किलोमिटरसम्म दूरी पार गर्दछ । यो ९७ किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ । त्यस्तै ह्युमिङ बर्ड सबैभन्दा सानो प्रवासी अर्थात् फिरन्ते पक्षी हो । वर्ड लाइफ इन्टरनेशनलका अनुसार सानो रूफस ह्युमिङ बर्ड दक्षिण अमेरिकी महादेशको तल र माथि ओहोरदोहोर गर्छ भने आर्कटिक टेर्न एउटा ध्रुवदेखि अर्को ध्रुवतिर ओहोरदोहोर गर्दछ । उक्त इन्टरनेशनलका अनुसार प्रत्येक पाँच चरामध्ये एक चरा फिरन्ते चरा हुने गर्दछ ।

फिरन्ते चराहरूले मानिसलाई, पारिस्थितिक प्रणालीलाई, राष्ट्रलाई र समग्रमा विश्वलाई नै जोड्दछन् । यिनीहरू शान्तिका प्रतीक पनि हुन् । यिनीहरूको महाकाव्य यात्राले संसारभरिका सबै उमेरका मानिसलाई प्रेरित गर्दछ । यिनीहरूले हामीलाई महत्वपूर्ण सेवा प्रदान गर्छन् । जस्तै- बीउ वितरण गर्ने, परागसेचन गर्ने, कीरा नियन्त्रण गर्ने आदि । यिनीहरू पृथ्वीमा केवल दिगो जीवन धान्नका लागि मात्र महत्वपूर्ण नभएर पर्यटन, अनुसन्धान र शिक्षा, पक्षी निरीक्षण र फोटोग्राफी जस्ता मनोरञ्जनात्मक गतिविधिहरूको माध्यमबाट आर्थिक लाभ र रोजगारीहरू प्रदान गर्न पनि महत्वपूर्ण छन् । यति मात्र नभएर यिनीहरू हाम्रो संस्कृतिमा केन्द्रित पनि छन् ।

यसका साथै हाम्रो कला, संगीत, थिएटर र विश्वास प्रणालीमा प्राचीनकालदेखि नै प्रतिबिम्बित छन् । फिरन्ते चराहरूले हामीलाई प्रेरणा दिन्छन् र एकअर्कासँग सम्पर्कमा रहन र प्रकृतिसँग जोड्न मद्दत गर्छन् । चराहरूबाट नै मानिसलाई हवाईजहाज, हेलिकप्टर बनाउने प्रेरणा मिलेको हो । प्राचीनकालदेखि नै फिरन्ते चराहरूले मानिसलाई मद्दत गर्दै आएका हुन् ।

पहिले पहिले यिनैको सहायताले सूचना आदानप्रदान गर्ने गरिन्थ्यो । चराहरू निकै रंगीविरङ्गी र मनमोहक हुने भएकाले थुप्रै पर्यटक यिनीहरूलाई हेर्न लालायित हुन्छन् । त्यसमा पनि फिरन्ते चराहरू केही समयका लागि मात्रै आउने भएकाले मानिसहरू यिनीहरूलाई हेर्न र आफ्नो क्यामेरामा कैद गर्न झनै इच्छुक हुन्छन् । यसले पर्यटन व्यवसायलाई निकै टेवा पुर्‍याउँछ ।

नेशनल जियोग्राफिकका अनुसार फिरन्ते चराहरूले सूर्य, चन्द्रमा, तारा, जमीनको चिन्ह (ल्यान्डमार्क) र पृथ्वीको चुम्बकीय क्षेत्र आदिको सहायताले घुमफिर गर्ने र पुराना उपयुक्त स्थानहरू पहिचान गर्ने गर्दछन् । ल्यान्डमार्क भन्नाले पहाड, नदी, समुद्र तट आदिलाई बुझिन्छ । कनेक्टिभिटी र कोरिडोर प्रवासी प्रजातिहरूका लागि निकै आवश्यक छ । यसले यिनीहरूलाई सजिलै बसाइसराइ गर्ने अवसर प्रदान गर्दछ ।

प्रायः गरेर प्रवासी चराहरू चिसोबाट बच्न, प्रजनन गर्न र सन्तान हुर्काउनका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने गर्दछन् । यिनीहरूले बसाइसराइ गर्दा लामो दूरी पार गर्नुपर्ने हुनाले थुप्रै चुनौतीको सामना गर्नुपर्दछ । अहिलेको यस्तो बढ्दो शहरीकरण, विकास कार्य आदिले गर्दा यिनीहरूको परम्परागत पथमा अवरोध पैदा भइरहेको छ ।

हामीले आफ्नो व्यक्तिगत तर्फबाट चरा संरक्षणका लागि पिउने र नुहाउने पानीको व्यवस्था गर्न सक्छौं । सुरक्षित वासस्थान, चराचुरुङ्गीलाई हानि नगर्ने खानेकुराहरू प्रदान गर्न सक्छौं । यसका साथै अन्य व्यक्तिलाई फिरन्ते चराको महत्व र आवश्यकता बुझाउन सक्छौं

यसले गर्दा यिनीहरूलाई बाटो पहिचान गर्न, आहारा खोज्न, आराम गर्ने स्थान पत्ता लगाउन, प्रजनन गर्न, सन्तान हुर्काउन समस्या सिर्जना भइरहेको छ ।

युएनइपी २०१८ का अनुसार चालीस प्रतिशत फिरन्ते चराहरूको संख्या घटिरहेको छ र प्रत्येक आठमध्ये एक फिरन्ते चरा विश्वबाटै लोप हुँदै गइरहेको छ । उक्त वातावरण कार्यक्रम अनुसार प्रवासी पक्षीहरू लोप हुँदै जानुको प्रमुख कारणहरू आवासको क्षति र गिरावट, वायु टर्वाइन्स र बिजुली लाइनहरूसँगको टकराव, अवैध रूपमा मार्ने र समात्ने क्रियाकलाप आदि रहेका छन् । यसका साथै प्रवासी चराहरू विषाक्तता (निलेको लिड, माछा मार्न र माछा मार्ने तौलमा प्रयोग गरिने अत्यधिक विषाक्त भारी धातु) बाट धेरै प्रभावित छन् । त्यस्तै शटगन चलाउँदा निस्किने सयौं लिड (सिसा) का टुक्राहरू वातावरणमा फराकिलो मात्रामा फैलिनाले वन्यजन्तु (प्रवासी चरा) लाई ठूलो जोखिममा पारेको छ ।

मानिसले कृत्रिम रूपमा बनाएका विभिन्न संरचनाले ३५० भन्दा बढी प्रजातिका प्रवासी (फिरन्ते) चराहरूलाई खतरामा पारेको छ । त्यसमा पनि रातिमा सक्रिय हुने चराहरूलाई निकै ठूलो खतरा हुने देखिएको छ । त्यस्तै सिसा र अन्य परावर्तक वस्तुबाट बनेका संरचनाले गर्दा धेरै चरा मर्ने गरेको एक अध्ययनले देखाएको छ । उक्त कुरा विश्व प्रवासी पक्षी दिवसको वेबसाइटमा उल्लेख गरिएको छ ।

सन् २०२० सेप्टेम्बर १६ तारिखका दिन ‘बीबीसी’ ले प्रसारण र प्रकाशन गरेको समाचार अनुसार नयाँ मेक्सिकोमा करीब दश लाख फिरन्ते चराहरू वनडढेलोबाट निस्केको विषाक्त धुवाँको कारणले मरे । त्यस्तै वितेको ५० वर्षमा अमेरिका र क्यानडाले तीन अरब चराहरू गुमाएको समाचार सन् २०१९ सेप्टेम्बर १९ तारिखका दिन ‘बीबीसी’ ले सार्वजनिक गरेको थियो ।

नेपालमा पनि विशेषगरी जाडोबाट बच्न विभिन्न देशबाट नेपाल आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । यसैगरी विनाश हुँदै जाने हो भने केही वर्षमा फिरन्ते चराहरू हेर्नेे सौभाग्य गुम्नेछ ।

यिनीहरू एक देशबाट अर्को देश, एउटा भौगोलिक परिवेशदेखि अर्को भौगोलिक परिवेशमा जाने भएकाले कुनै एक स्थान वा देशमा मात्र यिनीहरूको संरक्षण गर्दैमा संख्या वृद्धि गर्न र संरक्षण गर्न सकिंदैन । यिनीहरूलाई जोगाउन तथा संरक्षण गर्न यिनीहरूले यात्रा गर्ने र बस्ने सम्पूर्ण पथ, देश तथा स्थानमा पनि यसको संरक्षण गर्नुपर्छ । यसका लागि स्थानीय र राष्ट्रिय तवरबाट संरक्षणका कार्यहरू गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय स्तरबाट पनि संरक्षणको प्रयास गर्नुपर्छ । यसका लागि सबै जनसमुदायमा यिनको महत्व र आवश्यकताबारे जनचेतना जगाउन अत्यन्त आवश्यक छ ।

हामीले आफ्नो व्यक्तिगत तर्फबाट चरा संरक्षणका लागि पिउने र नुहाउने पानीको व्यवस्था गर्न सक्छौं । सुरक्षित वासस्थान, चराचुरुङ्गीलाई हानि नगर्ने खानेकुराहरू प्रदान गर्न सक्छौं । यसका साथै अन्य व्यक्तिलाई फिरन्ते चराको महत्व र आवश्यकता बुझाउन सक्छौं ।

कन्भेन्सन अन द कन्जरभेसन अफ माइग्रेटरी स्पेसिस अफ वाइल्ड एनिमल्स (सीएमएस) र एगि्रमेन्ट अन द कन्जरभेसन अफ अफ्रिकन – युरेसयिन माइग्रेटरी वाटरबर्ड (एइडब्लुए) ले संयुक्त रूपमा प्रवासी चराहरूको संरक्षणका लागि वैदेशिक र क्षेत्रीय दुवै रूपमा पहल चाल्दै आएका छन् । सीएमएसले जलीय, स्थलीय र पक्षी प्रवासी प्रजातिलाई संरक्षण गर्ने उद्देश्य लिएको छ ।

(लेखक प्राणीशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण शोधकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?