+
+
स्वास्थ्य मन्त्रालयलाई पत्र :

एउटा पनि बच्चा नभइकन किन डिपो प्रयोग गर्नुभएको ?

अरुणा उप्रेती अरुणा उप्रेती
२०७८ कात्तिक २४ गते ८:२९

केही दिनअघि अछाममा पुग्दा एक स्वास्थ्यकर्मीसँग भेट भयो । ‘मेरो विवाह भएको पाँच वर्ष भयो । बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा (परिवार नियोजनको सुइ) लगाएँ । तर छोडेकोे पनि तीन वर्ष भइसक्यो, बच्चा नै भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन,’ ६० किलोकी झण्डै पाँच फुटकी एक स्वास्थ्य कार्यकर्ताले भनिन् ।

‘एउटा पनि बच्चा नभइकन किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो ?’ मैले प्रश्न गरें । जवाफमा ती स्वास्थ्यकर्मीले भनिन्, ‘हामीलाई त यसैगरी सिकाइएको छ । तालिम दिंदा पनि बच्चा नभएका विवाहित दम्पतीले पनि परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गरे हुन्छ ।’

मैले भनें, ‘हामीले पनि परिवार नियोजनको साधन प्रयोग गर्न सिकाउँछौं तर एक बच्चा पाएपछि मात्र । जसले तपाईंलाई यो सिकायो उसले आफ्नो छोरी, बुहारी, भान्जी कसैलाई पनि एउटा बच्चा नजन्माइकन परिवार नियोजनको साधन प्रयोग गर्न लगाउँदैन । यो तपाईंप्रति गरिएको अन्याय हो ।’

अछाममा जाँदा मैले यसरी युवतीहरूले एउटा पनि बच्चा नहुँदा परिवार नियोजनको सुई प्रयोग गरेको देखेपछि इनप्लाट लगाएको थाहा पाएँ । यस्तो गलत कामका विरुद्ध बोल्नै र लेख्नैपर्ने भन्ने लागेको छ ।

परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले महिलाको स्वस्थ जीवनमा नराम्रा असर पर्न सक्छ भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले विचार गरेको छ ? एउटा पनि बच्चा नभइकन यसरी परिवार नियोजन हर्मोनहरूको प्रयोगले गर्दा कहिलेकाहीं महिलाको लामो समयसम्म बच्चा नै नहुने सम्भावना बढ्न सक्छ ।

सुदूरपश्चिमका महिलाहरूले गर्भ नरहोस् भनेर एउटा पनि बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा यही बच्चा जन्मन ढिलो भयो भनेर घरकाले अपमानित गर्छन् । श्रीमानले ‘बाँझी भई भनेर’ अर्को विवाह गर्छन् । अनि ती महिलाको जीवनमा अनेक दुःख हुने गर्छ ।

अछाममा बस्दा मैले सरकारको गलत नीतिले महिलाहरूलाई छोरा जन्माउने यन्त्र मात्र ठान्ने भन्ने विचार र स्कूल जाने छात्रा सानैमा विवाह गरेर दुःखमय भएको जिन्दगी देखें

सुदूरपश्चिममा मात्र होइन, नेपालको विभिन्न ठाउँमा यसरी एउटा पनि बच्चा नपाइकन हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरे हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले सिकाउने रहेछ ।

महिलाको शरीरलाई केवल एउटा यन्त्र ठानेर हेर्ने मानसिकताले गर्दा तराई र सुदूरपश्चिमका महिलाहरूले कस्तो गाह्रो जीवन बिताउनुपर्छ भन्ने कुरा त्यहीं गएर गाउँमा केही दिन बसेपछि थाहा भइहाल्छ, स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई ।

अछाममा बस्दा मैले सरकारको गलत नीतिले महिलाहरूलाई छोरा जन्माउने यन्त्र मात्र ठान्ने भन्ने विचार झन् देखें । स्कूल जाने छात्राको सानैमा विवाह गरेर दुःखमय भएको जिन्दगी देखें । अनि लाग्यो, हामीले काठमाडौंमा बसेर नेपाली महिलाको लागि केके न काम गरेको भन्ने विचार त फजुल रहेछ ।

सुदूरपश्चिमकी एक २० वर्षीया महिलाको गर्भपतनको कारणले केही हप्ताअघि मृत्यु भएको खबरले मेरो मन झसंग भएको थियो ।

सरकारी जागिर खान नाम निकालेकी साउद थरकी युवती तालिम लिन जानुपर्ने भयो । उनको तीन महीनाको गर्भ रहेछ । गर्भवतीलाई त तालिम दिंदैनन् भन्ने उनले थाहा पाएपछि १२ हप्तामा गर्भ तुहाउने औषधि खाइछिन् । पछि उनको अत्यधिक रगत बग्यो ।

‘घरपरिवारका मानिसहरूले अस्पताल लग्यो भने स्वास्थ्यकर्मीले गाली गर्छन् कि भन्ने डरले अस्पताल नै लगेनन्’ एक सामुदायिक स्वास्थ्यकर्मीले भनिन्, ‘उनको दुई दिनपछि रगत धेरै बगेरै मृत्यु भयो ।’

२० वर्षीय साउदको मृत्यु शायद मातृ मृत्युमा दर्ता गरिएन होला । किनकि उनी गर्भ रहेपछि जाँच गराउन पनि गएकी थिइनन् । यदि गएको भए उनलाई स्वास्थ्यकर्मीले सल्लाह दिन्थे होलान्- ‘पहिलो गर्भ’ सकेसम्म तुहाउनु हुँदैन भनेर । तर यस्तो किसिमका जानकारी गाउँघरमा कसले दिने ?

गर्भपतनको औषधिहरू जथाभावी प्रयोग गर्दा मृत्यु भएकी साउदका साथै गर्भनिरोधक साधन श्रीमानले प्रयोग गर्न नदिएर ६ बच्चाकी आमाको ७औं बच्चा पाउँदा मृत्यु भएको घटना पनि समुदायका स्वास्थ्यकर्मीले सुनाए ।

‘परिवार नियोजनको साधन प्रयोग गरे म नहुँदा यो अरूसँग पल्किन्छे भनेर यहाँका लोग्ने मानिसहरूले विचार गर्छन् । मैले केही दिनअघि बुढा थरकी ती महिलालाई भेटेकी थिएँ, एकदम पातली, कुपोषित गर्भवती महिलाले मलाई, जतकाल  (यो गर्भ) त मेरो काल नै हुन्छ कि क्या हो भनेर भनेकी पनि थिइन् । कतै जाँच गर्न पनि उनी गइनन् । उनको ६ वटा बच्चा भइसकेका थिए । घरमा बच्चा पाएपछि उनको रगत धेरै बग्यो । मलाई खबर आएपछि एम्बुलेन्समा अस्पताल लिएर आउँदा त बीच बाटोमा नै उनको ज्यान गयो । मैले कति प्रयास गर्दा पनि उनलाई गर्भवती हुनबाट रोक्न सकिनँ उनको ज्यान बचाउन सकिनँ ।’

आँखामा आँसु लिएर एक स्वास्थ्यकर्मीले भनेकी थिइन् । लोग्नेको कुरा काट्न साहस नभएकाले उनको मृत्यु भयो । शायद ती महिलाको पनि मातृ मृत्युमा नाम दर्ता भएन होला । मैले स्वास्थ्यकर्मीलाई भनें, ‘एकातिर नचाहिने ठाउँमा परिवार नियोजनको साधन प्रयोग गरेर महिलाहरूको प्रजनन स्वास्थ्यमा नै नराम्रो असर परेको छ । अर्कोतिर महिलाले ‘बच्चा नहोस् भनेर’ चाहेर पनि परिवार नियोजनको साधन प्रयोग गर्न नपाउँदा दुवै अवस्थामा महिलाको जिन्दगी नै खतरामा हुन्छ र कति चोटि त मृत्यु नै हुन्छ । यो स्वास्थ्य मन्त्रालयले देख्ला ?’

महिलाको प्रजनन स्वास्थ्यलाई केवल औषधिले मात्र उपचार गर्छ भन्नेले किन नबुझेका होलान् ? सामाजिक समस्या महिलाप्रति गरिने व्यवहारले पनि महिला स्वास्थ्यमा असर पार्छ । महिला स्वास्थ्यको समस्या सामाजिक कुरीतिसँग पनि गाँसिएका छन् ।

समस्या चाहिं तब पर्छ जब ‘सुन्दर सुदूरपश्चिम भनेर पोष्टर बनाउने र लेख लेख्नेहरूले’ सुदूरपश्चिम गाउँको यो कुरुपता देख्दैनन् । त्यहीं बसेका महिलाहरूलाई दिनदिनै यो समस्या पर्छ तर कहीं गएर भनेर के होला र भनेर उनीहरू चुप लागेर बस्छन् । जनस्वास्थ्य कार्यालयको अनुगमनमा शायद यस्ता समस्याहरू छलफलै हुँदैनन् । अनि महिला, बालिका, किशोरी भएर जन्मनु त श्राप नै हो जस्तो हुन्छ सुदूरपश्चिममा जस्तो लाग्छ ।

सुदूरपश्चिमका महिलाहरू मात्र होइन अन्य स्थानमा बस्ने किशोरी नवविवाहित दम्पतीहरूले पनि ख्याल गर्नुपर्छ कि एउटा बच्चा नभइकन जथाभावी हर्मोनयुक्त डिपो, इनप्लाट जस्ता परिवार नियोजनका साधनहरू प्रयोग नै नगर्नोस्, यसले बेफाइदा गर्छ ।

यो लेख पढ्नेहरूले कृपया आफ्नो दिदी, श्रीमती, फुपू, काकीहरूलाई एउटा पनि बच्चा नभइकन महिलाले हर्मोनयुक्त साधन प्रयोग नगरुन् भनेर चेतना दिनुस् । काठमाडौं बसेका ठूलाबडा, पढे-लेखेकाले यसरी प्रयोग गर्दैनन् तर गाउँमा प्रयोग गर्न लगाइन्छ । हामी आफैंले विचार गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?