+
+

ऋण गरेर बनाएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अलमल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १०:१८

२५ कात्तिक, काठमाडौं । विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा सरकारी अलमल देखिएको छ ।

गत साउनमै पूर्वाधार निर्माण सकिएको बन्दरगाह सञ्चालन गर्न भन्सार, वाणिज्य मन्त्रालय र अन्य निकाय बीच ठोस तालमेल नहुँदा योजना सम्पन्न भएर पनि पूर्वाधार प्रयोगविहीन भएको छन् ।

बन्दरगाह सञ्चालनमा ठोस प्रगति नभएको निर्माण कम्पनी इन्टरमोडल यातायता विकास समितिले जनाएको छ । पूर्वाधार पूर्णरुपमा सम्पन्न गरेर आयोजनको स्वमित्व गत साउनमै समितिले लिएको समिमितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

‘भौतिक रुपमा हामीले काम सबै सम्पन्न गरेका छौं बन्दरगाह सञ्चालनमा भन्सार, क्वरिन्टिन र अन्य निकायको बाटो कुरेर बसेका छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने । अन्य निकायले तयारी सकेर आएको बेला पूर्वाधारको जिम्मा लगाउने गरी समिति तयार अवस्था रहेको पनि उनले बताए ।

समितिले आफ्नो कार्यभार पूरा गरेको भन्दै कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह सञ्चालनका लागि अन्य निकायको पहल कदमी आवश्यक भएको बताए । निर्माण सम्पन्न भएको बन्दरगाहको भौतिक पूर्वाधार झण्डै चार महिनादेखि प्रयोगविहीन छ ।

चोभार बन्दरगाह सञ्चालनको प्रमुख कार्यभार बोकेको भन्सार विभागले भने तत्काल बन्दरगाह सञ्चालनको अवस्था नरहेको जनाएको छ । भन्सार सञ्चालनका लागि प्राविधिक रुपमा काम गरिरहेको कर्मचारी संयन्त्र सरकार परिवर्तनसँगै फेरिएको र कामको पुनः स्वमित्व बाँडफाँट नभइसकेको सन्सार स्रोतले बतायो ।

‘भन्सार सञ्चालको कार्यविधि बनाउने काममा खटिएको कर्मचारीको सरुवा भयो, थप काम भएको छैन । तत्काल बन्दगाह सञ्चालनको अवस्था देखिन्न,’ भन्सार स्रोतले अनलाइनखबरसँग भन्यो । चोभार बन्दरगाहका लागि २९ जना कर्मचारीको मागसहित लोकसेवामा माग पठाएको र त्यसमा पनि कुनै प्रगति नभएको अधिकारीहरूले बताएका छन् ।

नाकाभन्दा भित्री सहरमा रहेको बन्दरगाह सञ्चानलको लागि ढुवानी व्यवस्थापन गर्नेलगायतका जटिल विषय भन्सारको प्रमुख कार्यक्षेत्रमा परे पनि उसले ठोस कदम अघि बढाएको छैन । यस विषयमा जान्न सम्पर्क प्रयास गर्दा विभागका महानिर्देशक भने सम्पर्कमा आएनन् ।

यता, बन्दरगाह सञ्चालन गर्ने निकायले माग गरेको खण्डमा जुनसुकै बेला आफनो सेवा दिन तयार रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बन्दरगाहमा खाद्य क्वरिन्टिनका लागि तत्काल केन्द्रीय प्रयोगशालाबाटै मदत लिने गरी कर्मचारी व्यवस्थापन गर्न कुनै समस्या नरहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

‘चोभार बन्दरगाह सञ्चालनमा हाम्रो भूमिका निभाउन हामी तयार छौं, अन्य निकाय तात्नु पर्‍यो,’ महानिर्देशक वैद्यले भनिन् । केही अघि यसबारे सामान्य छलफल भए पनि अहिले थप प्रगति नभएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?