+
+

तंग्रिदै चलचित्र उद्योग, धमाधम प्रदर्शन मिति तोकिँदै

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक २५ गते १५:५६

२५ कात्तिक, काठमाडौं । लगभग दुई वर्ष नेपालका चानचुन दुई सय सिनेमा घरमा सन्नाटा छायो । अब सिनेमा हल खुल्छ ? फिल्म प्रदर्शन हुन्छन् ? दर्शकहरु हलसम्म आउँछन् ? यावत् प्रश्नको कुनै ठोस जवाफ थिएन ।

यसबीचमा केही सिनेमा हल त बन्द नै भए । तर, समय सधैं एकनास रहँदैन । कोरोनाको भय घट्दै गयो । जनजीवन सामान्य बन्दै गयो । सिनेमा हलहरु खुल्न थाले । एकाध नेपाली सिनेमा प्रदर्शनमा आए । तर, ती सिनेमाहरुले दर्शकलाई टिकट काउण्टरको लाममा उभ्याउन सकेनन् । यसरी बल्लतल्ल प्रदर्शनमा आएका सिनेमा पनि रित्तै भएपछि फिल्मकर्मीको मुटुमा अझै ढ्याङ्ग्रो बज्न थाल्यो । उनीहरु नराम्ररी हच्किए । र, प्रदर्शनको मुखैमा अड्किएका सिनेमा पनि थन्को लगाइयो ।

यही धर्मर अवस्थामा दक्षिण भारतीय सिनेमामा हिरोको ‘इन्ट्री’ भए जसरी धमाकेदार रुपमा बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आयो । अक्षयकुमार स्टारर यस चलचित्रले सिनेमा हलमा दर्शक फर्काइदियो । हल खचाखच हुन थाले ।

अन्ततः नेपाली सिनेकर्मीमा समेत एउटा बेग्लै आशा तरंगित भयो । उनीहरुले सोचे, ‘सिनेमा घरको तलतल मेट्न दर्शक ओइरो लाग्ने रहेछन् ।’ यही सोचेर उनीहरुले आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न थालेका छन् । कतिले उपयुक्त साइत जुराएर आफ्ना चलचित्रको प्रदर्शन मिति घोषणा गरिसकेका छन् भने कति पर्ख र हेरको अवस्थामा छन् ।

प्रदर्शन मिति घोषणा भएका चलचित्र

अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट-३’ले गत सोमबार पुस २ का लागि आफ्नो प्रदर्शन मिति तोकेको छ । ‘सूर्यवंशी’ले हलमा माहोल ल्याएसँगै आफूहरुले चलचित्र प्रदर्शन मिति तय गरेको निर्देशक निकेश खड्काले अनलाइनखबरलाई बताए ।

‘चपली हाइट ३’ले २०७६ को चैत २८ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र सो मितिमा प्रदर्शन हुन सकेको थिएन । ‘चपली हाइट ३’ क्राइम थ्रिलर जनरामा बनेको चलचित्र हो । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय छ । ‘चपली हाइट’का यसअगाडिका सिरिज सफल मानिन्छन् ।‘सूर्यवंशी प्रदर्शनमा आएपछि हलमा माहोल राम्रो देखियो । त्यसले हामीलाई आँट आयो,’ उनले भने, ‘अब एक खालको माहोल बन्छ भन्ने अपेक्षा हो ।’

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले माघ १९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । निर्देशक सुदर्शन थापाले बिहीबार मात्रै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

‘कुनै एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु २’ यही वर्षको माघ १९ मा प्रदर्शन गरिने निर्णय गरेका छौं,’ निर्माता समेत रहेका थापाले फेसबुकमा लेखेका छन् ।

‘म यस्तो गीत गाउँछु २’ कोरोना महामारी अगाडि नै प्रदर्शनका लागि तयार भएको चलचित्र हो । निर्माण टिमले २०७६ फागुन ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा लाखौं खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण चलचित्र प्रदर्शन हुन सकेन ।

सुदर्शन र नायिका पूजा शर्माको निर्माणमा बनेको चलचित्रमा पूजा र पल शाह मुख्य भूमिकामा छन् । यो प्रेमकथामा निर्माण भएको चलचित्र हो । यसको पहिलो सिरिज सफल मानिएको थियो ।

यसअघि नै केही चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । सुमन पौडेलको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ओभरडोज’ले मंसिर १७ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

चलचित्रमा लागूऔषध र अपराधको कथा देखाउन खोजिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा प्रनिशराज पन्त, सविनजंग थापा र वीना श्रेष्ठ लगायतको अभिनय छ ।

यस्तै ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र ‘चुरीफुरी’ले पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । सिनेमा हल खुलेसँगै यस चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । कमेडी विधाको यो चलचित्रमा आचार्यकै लेखन र निर्माण छ ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी लगायतका थुप्रै कलाकारहरुको अभिनय छ । दुई साताअगाडि चलचित्रको शीर्षगीत सार्वजनिक गरिएको थियो ।

चलचित्र ‘लप्पन छप्पन २’ ले दुई महिना अगाडि नै फागुन १३ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । मुकुन्द भट्टले निदेशन गरेको यो चलचित्र शिवरात्रीको अवसर पारेर रिलिज हुनेछ ।

एक्सन जनरामा निर्माण भएको यो चलचित्र गत वर्षको शिवरात्रीमा प्रदर्शन गर्ने तयारी थियो । तर, कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको यो चलचित्रले यस वर्षको शिवरात्रीका लागि प्रदर्शन मिति तोकेको हो । चलचित्रमा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले चैत २५ मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रले भदौ १८ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो । कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन नगरी चलचित्र चैतमा प्रदर्शन गर्ने निर्णय निर्माण टिमले लिएको हो । अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र प्रेमकथामा आधारित छ ।

यसैगरी दीपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ आगामी वर्षको वैशाख ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । छायांकन प्रारम्भ नहुँदै २०७८ को भदौलाई प्रदर्शन मिति तोेकेको चलचित्र निर्धारित मितिमा प्रदर्शनमा आउन सकेन । निर्माण टिमले गत महिना आगामी वैशाखका लागि प्रदर्शन मिति तय गरेको हो । यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सामाजिक कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको शीर्ष भूमिका छ ।

प्रदर्शनको मुखमा रोकिएका अन्य चलचित्र कहिले ?

२०७६ सालमा ‘म यस्तो गीत गाउँछु २’, ‘चपली हाइट ३’, ‘नीरफूल’, ‘प्रेम गीत ३’ र २०७७ को वैशाखका लागि ‘हिजो आजका कुरा’, ‘लक्का जवान’ लगायतका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, त्यसबेला कोरोना संक्रमण बढेपछि यी चलचित्र प्रदर्शनमा आउन सकेनन् । यीमध्ये ‘चपली हाइट ३’ र  ‘म यस्तो गीत गाउँछु २’ ले नयाँ प्रदर्शन मिति तोकेपनि अन्य चलचित्रले तोकेका छैनन् ।

‘प्रेम गीत ३’ आगामी चैत-वैशाखमा प्रदर्शनमा आउने सम्भावना रहेको यसका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । उनले चलचित्र भारत र नेपालमा एकसाथ प्रदर्शन हुने समेत जानकारी दिए । आफू एक सातापछि भारत गएर सम्पूर्ण काम सकेपछि दुवैतर्फका वितरकसँगको सल्लाहमा एउटै प्रदर्शन मिति घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ ।

‘चैत-वैशाख महिनामा रिलिज गर्ने योजना हो,’ सेनले भने । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा आजभन्दा दुई सय वर्ष अगाडिको प्रेमकथालाई पर्दामा उतारिएको जनाइएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ सफल चलचित्र हुन् ।

यता चलचित्र ‘हिजो आजका कुरा’ भने कहिलेदेखि प्रदर्शनमा आउने टुंगो नरहेको यसका निर्माता एवं कलाकार सन्तोष पन्तले बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले चलचित्र बनाएर यत्तिकै बसिरहेका छौं । प्रदर्शन आजको भोलि गर्ने कुरा भएन । केही समय माहोल हेर्नुपर्‍यो । अनि वितरकहरुसँग बसेर सल्लाह गरेर प्रदर्शन मिति घोषणा गर्छौं ।’

हिन्दी चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक आउलान् कि भन्ने आशा भने जगाएको पन्त बताउँछन् । ‘एक महिना हेरौं, कोरोना फेरि बढ्न पनि सक्छ । त्यसपछि बल्ल प्रदर्शन मिति घोषणा गर्ने हो,’ उनले भने ।

साकार पन्तको निर्देशनमा बनेको ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा लगायतको अभिनय छ । पारिवारिक कथामा यो चलचित्र निर्माण भएको हो ।

कोरोनाका कारण प्रदर्शनको मुखैमा आएर रोकिएको चलचित्र ‘नीरफूल’ले प्रदर्शनको नयाँ मिति तोकिसकेको छैन । चलचित्र कहिले प्रदर्शनमा आउने तय भइनसकेको लेखक एवं निर्देशक फूलमान बलले बताए ।

‘लामो समयपछि हलहरु बिस्तारै तंग्रिन थालेका छन् । हामीले पहिले प्रचारप्रसारमा लाखौं खर्च गर्‍यौं, अन्तिममा आएर कोरोनाको चपेटामा पर्‍यो । प्रदर्शन मिति तोकिहालेर फेरि राम्रो माहोल नभएर सार्नुपर्‍यो भने समस्या हुन्छ,’ उनले भने, ‘दुई तीन महिना रिलिज गर्ने सोच छैन । माहोल राम्रो बन्यो भने वैशाखमा रिलिज गर्ने सोच हो । भुइँचालोको कथा भएका कारण वैशाखमा रिलिज गर्ने सोचेका हौं ।’ प्रदर्शन मितिका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको उनले बताए ।

‘नीरफूल’मा दयाहाङ राई शीर्ष भूमिकामा छन् । साथमा शान्ति वाइबा, बुद्धि तामाङ लगायतको पनि मुख्य भूमिका छ । प्रदर्शनको मुखमा आएर रोकिएको हास्य कलाकार शिवहरि पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘लक्का जवान’ले पनि प्रदर्शन मिति तोकिसकेको छैन । चलचित्रका कार्यकारी निर्माता एवं कलाकार समेत रहेका किरण केसीले भने, ‘शिवहरि पनि अमेरिकातिर छन् । उनी फर्किएपछि छलफल गरेर प्रदर्शन मिति तय गर्छौैं ।’ उनले लामो समयपछि चलचित्र क्षेत्र केही चलायमान भएको हुनाले अब चलचित्र प्रदर्शनका लागि सोच्नुपर्ने बेला आएको बताए । यो चलचित्रमा किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।

आई एम ट्वान्टी वान’को प्रदर्शन मिति केही समयपछि तय गरिने

धिरज मगर र जसिता गुरुङको शीर्ष भूमिका रहेको चलचित्र ‘आई एम ट्वान्टी वान’को प्रदर्शन मिति दुई महिनापछि मात्र तय गर्ने निर्देशक रेनशा वान्तवा राईले जानकारी दिइन् ।

चलचित्रको यतिबेला पोष्ट प्रोडक्सनको काम भइरहेको र हिन्दी चलचित्र ‘आरआरआर’ रिलिजको दिन यो चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने रेनशाको भनाइ छ । प्रज्ज्वलशमशेर जबराको निर्माण रहेको चलचित्र नृत्यको कथामा बनेको हो ।

परदेशी २’ अर्को दशैंमा

नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी-२’ अर्को वर्षको दशैं अगाडि रिलिज हुने सम्भावना छैन । चलचित्रमा दशैंको कथा जोडिएकाले त्यो भन्दा अगाडि प्रदर्शन हुने सम्भावना कम रहेको निर्माता राजेश वंशलले बताए । ‘दशैंको परिवेशसँग जोडिएको कथा भएकाले शुरुदेखि नै दशैंका लागि तयारी गरेका थियौं । यस वर्ष रिलिज हुन पाएन । अब अर्को वर्ष दशैंमा नै होला,’ उनले भने ।

राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेको ‘परदेशी २’मार्फत गायक प्रकाश सपूत पहिलोपटक चलचित्रको पर्दामा देखिँदैछन् । चलचित्रमा प्रकाशसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतका कलाकारहरुको अभिनय छ । यसअघि प्रदर्शन भएको ‘परदेशी’ सफल भएको थियो ।

कबड्डी ४’ छायांकनमै

छायांकन चलिरहेको रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी ४’को छायांकन सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माण टिमले जनाएको छ । चलचित्रका निर्माता मणिराम पोखरेलले भने, ‘६० प्रतिशत छायांकन सकेका छौं । अझैं १४-१४ दिन छायांकनमा हुन्छौं । त्यसपछि फर्किएपछि टिमसँगै वितरकसँग छलफल गरेपनि प्रदर्शन मिति तय गर्नेछौं ।’

कबड्डीका अगाडिका सिरिज सफल मानिन्छन् । जसका कारण यो चलचित्रलाई प्रतीक्षित मानिएको छ । ‘कबड्डी ४’मा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल, गौमाया यात्री लगायतको अभिनय छ ।

प्रकाश’ यो वर्ष नआउने

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’ यो वर्ष प्रदर्शनमा आउनेछैन । निर्देशक राउतले अनलाइनखबरसँग भने, ‘यो वर्ष रिलिज नगर्ने निर्णय हो । अर्को वर्ष रिलिज गर्छौं । त्यसमा जुनसुकै महिना पनि हुनसक्छ ।’

उनले प्रदर्शन मिति पनि केही समय घोषणा नगरिने बताए । ‘पोष्टको काम गर्न बाँकी नै छ । अलिकति समय लिएर मात्रै रिलिज गर्ने सोंच हो,’ उनले भने । यो चलचित्रमा प्रदीप खड्का शीर्ष भूमिकामा छन् । रेनु योगी, दिया मास्के लगायतको पनि चलचित्रमा मुख्य भूमिका छ । विकट गाउँको एक युवाले सरकारी शिक्षक बन्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको हो ।

पानी फोटो’को केही दिनमै रिलिज डेट

कोरोना महामारी शुरु हुनुअघि नै निर्माण सकिएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति केही दिनमा तोकिने निर्माणपक्षले बताएको छ । चलचित्रका निर्देशक एवं कलाकार खगेन्द्र लामिछानेले केही दिनमा टिममा छलफल गरेर प्रदर्शन मिति तोक्ने बताए । ‘अहिले सबैलाई आशा जागेको छ । म काठमाडौं बाहिर छु । ४-५ दिनमा काठमाडौं फर्किएपछि टिममा छलफल गरेर प्रदर्शन मिति तय गर्छौं,’ उनले भने ।

यो चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का, मल्लिका महत लगायतको अभिनय छ । १५ वर्षअघि बेपत्ता भएको सन्तानको पर्खाइमा रहेका बुबाआमाको कथा चलचित्रमा समेटिएको बताइएको छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?