+
+

आफूखुशी गर्ने बालविवाह बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:२६

२५ कात्तिक, काठमाडौं। नेपालमा आफूखुशी गर्ने बालविवाहको दर बढेको सरोकारवाला निकायहरुले बताएका छन्।

विहीबार भएको बालविवाह अन्त्यको लागि बालिका शिक्षा सुदृढिकरणका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंस्थाहरुले भागेर गर्ने बालविवाह बढेको बताएका हुन् ।

गल्र्स नट ब्राइड संस्थाकी राष्ट्रिय संयोजक बैजयन्ती कार्कीले नेपालमा पछिल्लो समय आमाबुवाले गर्दिने बालविवाह भन्दा आफूखुशी गर्ने विवाह बढेको बताइन् । उनले भनिन्, ‘हामीले गरेको पछिल्लो अध्ययन अनुसार अहिले आमाबुवाले गर्ने विवाह भन्दा आफूखुशी गर्ने विवाह अर्थात भागेर गर्ने बालविवाह बढेको छ ।’ भागेर गर्ने विवाह बढ्नुको कारण परिवारबाट माया नपाउनु, घरेलु हिंसा, पारिवारिक कलह जस्ता कारक पाईएको उनको भनाइ छ ।

नेपालमा भागेर हुने बालविवाहको कारणबारे विस्तृतमा अध्ययन हुन नसकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल अधिकार संरक्षण शाखाका शान्तिराज प्रसाईले बताए । उनले भने, ‘अहिले विभिन्न अध्ययनहरुले भागेर गर्ने बालबविवाह बढेको देखाईरहेको छ । तर किन त्यस्तो भईरहेको भनेर विस्तृत अध्ययन हुन सकिरहेको छैन ।’

गुणस्तरीय शिक्षामा पहुँच नहुनु, घर, समाजमा हुने लैंगिक विभेद, विद्यालय भित्रै हुने लैंगिक विभेद जस्ता कुराहरु कारक तत्व भएको उनले बताए । तर राष्ट्रिय बाल अधिकार परिषदले भने बालविवाह घटेको जनाएको छ ।

परिषदले ६०४ स्थानीय तहमा अध्ययन गर्दा केही प्रतिशत बालविवाह घटेको पाइएको नीति, योजना तथा अनुगमन शाखाकी संगीता कुवँरले बताइन् । उनले भनिन्, ‘हामीले ६०४ स्थानीय तहको अध्ययन गर्दा बालविवाह घटेको पाईएको छ । तर बालविवाह अन्त्यको लागि अझै धेरै काम गर्नुपर्ने जरुरी भने देखिएको छ ।’

बालविवाह कम गर्नको लागि शिक्षामा निरन्तरता हुनुपर्ने तर त्यसका लागि बुझाउन नसकिएको कुँवरले बताइन्। पढिसकेपछि के हुन्छ, उमेर पुगेपछि विवाह गर्दा के हुन्छ भन्ने जस्ता सकारात्मक पाटो देखाउन÷बुझाउन नसक्दा प्रभावकारी नभएको उनको भनाइ छ ।

बालविवाह अन्त्यको लागि सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। तर अझै प्रभावकारी हुन नसकेको भन्दै प्रभावकारी नहुनुको कारण पहिचान गरी त्यसतर्फ काम गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले बालविवाह अन्त्यका लागि सरकारी तथा गैर सरकारी संस्थाहरुले गरिरहेको काम प्रभावकारी नहुनुको कारणहरु विश्लेषण गर्नुपर्ने बताए । उनले भने, ‘सबै संघसंस्थाहरुले समन्वयात्मक काम गर्नुपर्छ । काम गरिसकेपछि विश्लेषण हुन जरुरी छ।’

यस्तै राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधानले बालविवाह कम गर्न शिक्षाको उपलब्धि र लक्ष्य निर्क्योल गर्नुपर्ने बताइन् । ‘हजुरआमाको पालाको शिक्षा र आजको शिक्षाले ल्याएको रुपान्तरण के छ भनेर अध्ययन हुनुपर्छ ।’ उनले भनिन्, ‘बालविवाह सम्बन्धी सचेतना प्रभावकारी बनाउनको लागि पाठ्यक्रम, संरचना मात्रै नभएर शिक्षा प्रदान गर्ने संस्कार नै बदल्नुपर्छ ।’

कार्यक्रममा संसदको तथा शिक्षा तथा स्वास्थ्य समिति सदस्य विद्या भट्टराईले बालविवाहलाई र शिक्षालाई जोड्न नसक्दासम्म बालविवाह अन्त्य गर्न नसकिने बताइन्। उनले भनिन्,’ बालविवाह र शिक्षालाई फरक फरक आयामबाट हेरेका छौं। यी दुईलाई जोड्न सकेनौं भने बाल विवाह रोक्न सक्दैनौं।’

राज्यको पुर्नसंरचना भएपनि शिक्षाको पुर्नसंरचनाबारको छलफल भने निक्‍कै ढिला शुरु भएको उनको भनाइ छ । उनले भनिन्, ‘राज्य पुनसंरचना भएको यत्तिका वर्षपछि बल्ल शिक्षाको पुर्नसंरचनाबारे छलफल भइरहेको छ । तर यसलाई पनि सकारात्मक माने पनि निक्‍कै ढिलो भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?